लेख- याक्थुङ सा
प्रचलित शब्द किरात संस्कृत तत्सम् शब्द हो । यो शब्द अहिले राई समुदाय र केही याक्थुङ लिम्बू समुदायमा लोकप्रिय शब्दको रूपमा प्रयोग भएको देखिन्छ । भारतीय उपमहाद्धिपमा हिन्दु आर्यहरू ई. पू. १५०० तिर प्रवेश गरेको इतिहास अध्ययनबाट प्रष्ट हुन्छ । यसै समयलाई ऋृग्वैदि्क काल वा पूर्व वैदि्ककाल भनिन्छ । यसै समयमा आर्यहरूले ऋृग्वेदको रचना गरेका हुन् भन्ने छ । यो ऋृग्वेदमा किरात शब्द उल्लेख गरिएको छैन । १००० ई. पू. देखि यता उत्तर वैदि्ककालमा रचित अन्य ग्रन्थहरूमा मात्र किरात शब्दको चर्चा भएको पाइन्छ । त्यसैले हिन्दु आर्यहरूले किरात शब्दको उपयोग गरेको करिव ३०२१ बर्ष मात्र पुगेको देखिन्छ । नेपालको हकमा हिन्दु आर्यहरू प्रवेश गरेको ११औं १२ औं शताब्दीतिर मात्र हो । त्यसैले आर्य हिन्दुहरू नेपालमा प्रवेश गरेको ८/९ सय बर्ष मात्र पुग्दै गरेको देखिन्छ । अझ याक्थुङ लाजे लिम्बूवानमा प्रवेश गरेको त बि. स. १८३१ पछाडि मात्र हो । अहिलेसम्ममा आर्य हिन्दुहरू याक्थुङ लाजे लिम्बूवानमा घुसेको करिव २४७ बर्ष मात्र पुग्दै छ । उनीहरूले हामी यहाँका मुलवासी/ आदिवासी समुदायलाई उनीहरूको संस्कृत भाषामा किरात भनेर असभ्य जंगली भनेर घृणित शब्द किरातले संबोधन गरेका हुन् ।
अर्को तर्फ नेपाल खाल्डोमा किरात शासनको कुरा गर्दा नेपालको प्राचिन इतिहासका अनुसार यलम्बर ई. पू. १००० तिर भारतबाट नेपाल खाल्डोमा त्यहाँका महिषपाल बंशी राजाहरूलाई युद्ध गरी जिती राज्य गर्न सुरू गरेको भन्ने उल्लेख छ । त्यस्तै इतिहासकार इमानसिं चेम्जोङका अनुसार ई. पू. ८०० तिर सिमाङगढबाट यलम्बर नेपाल खाल्डोमा प्रवेश गरेको आफ्नो किरात इतिहासमा उल्लेख गरेका छन् । त्यसरी अर्का किरात इतिहासका प्रेमबहादुर माबोहाङले यलम्बर कलियुग लागेर ४० बर्ष बित्दा भारतको पाटकपताञ्जलीबाट नेपाल खाल्डोमा प्रवेश गरेको उल्लेख गरेका छन् । गोपालराज बंशावलीका अनुसार १७७९ ई. पू. मा यलम्बरले नेपाल खाल्डोमा शासन गर्न सुरू गरेको उल्लेख छ । माथी उल्लेखित ऐतिहासिक तथ्यहरूलाई अध्ययन गर्दन किराती राजा यलम्बर नेपाल खाल्डोमा प्रवेश गरेको समय इतिहासकारहरूको मिल्दैन । फरक फरक समय भएको उल्लेख छ । इतिहास अध्ययनमा समय वा मितिको सारै महत्व रहन्छ । मितिमा धेरै फरक भयो भने त्यो इतिहास सहि नहुन पनि सक्छ । उल्लेखित तथ्यहरूबाट के प्रष्ट हुन्छ भने किरातीहरू यहाँका मुलवासी नभएर आप्रवासी नै भएको ठहर हुन्छ । मतलव अन्यत्र कतैबाट नेपाल खाल्डोमा प्रवेश गरेको देखिन्छ । तथापि नेपाल खाल्डोमा किरातीहरू प्रवेश गर्नु भन्दा पहिला नै गोपालबंशी तथा महिषपालबंशी राजाहरूले ५०० बर्ष जति राज्य गरिसकेको इतिहास छ । साथै नेपाल खाल्डो वरिपरि त्यहाँका रैथाने जाति नाग जाति पनि भएको नेपालको प्राचीन इतिहासमा उल्लेख छ । त्यसैले नेपाल खाल्डोमा किरातहरू प्रवेश गर्नु भन्दा पहिला नै त्यहाँ रैथाने मुलवासी /आदिवासी समुदायहरू हुनुले के प्रष्ट हुन्छ भने यता याक्थुङ लाजे लिम्बूवानमा पनि यस्तै किसिमका रैथाने जातिहरू भएको हुनुपर्छ । जुन समुदायलाई हामी याक्थुङ, याक्थुङबा भन्दा कुनै फरक नहोला ।
अब भनौ किरात याक्थुङ भन्दा प्राचिन होइन । कसरी होइन भने याक्थुङ लिम्बू समुदायको दर्शन भनेको मुन्धुम हो । उक्त मुन्धुममा किरात शब्द उच्चारण हुँदैन । यो मुन्धुम भनेको इतिहास भन्दा पनि प्राग् ऐतिहासिक बृतान्त हो । समाज बिकासको सुरूआत हामीले मुन्धुममा पाउछौं । याक्थुङ लिम्बू समुदायको अध्ययनको लागि मुन्धुम भन्दा अर्को भरपर्दो कुनै स्रोत नै छैन भन्दा कुनै फरक नहोला । मुन्धुममा बर्णित घटना, पात्र र स्थलले उक्त तथ्यलाई पुष्टि गरेको हुन्छ भने केवल तिथि मिति मात्र बर्णन गरिएको हुँदैन । किन तिथि मितिको बर्णन नभएको हो भन्दा प्राग् ऐतिहासिक बिषयलाई कुनै पनि तिथि मितिले जनाउन वा प्रमाणित गर्न सम्भव हुँदैन । मुन्धुम ढुङ्गेयुग कै बिषय हो । किरात भन्दा याक्थुङ सर्वप्राचिन हो । किरात शब्द ऐतिहासिक कालमा मात्र आर्य हिन्दुहरूले उच्चारण गरे भने याक्थुङ प्राग् ऐतिहासिक काल वा मुन्धुमी कालमा याक्थुङ लिम्बूहरूले उच्चारण गरेको कुरा हाम्रो मौलिक मुन्धुम पाइन्छ । अझ सावा येत्हाङ याक्थुङ भन्दा पहिला नै याक्थुङ शब्द उच्चारण भएको हुनुपर्छ किन भने मुन्धुममा सुसुवा लिलिम याक्थुङ, माङ्जिरी माङ् याक्थुङ् सा, सावा येत्हाङ् याक्थुङ जस्ता शब्दहरू उच्चारण हुनुले प्रष्ट हुन्छ । हाम्रा याक्थुङ् बिद्धवानहरू याक्थुङ शब्दको हर तरहले परिभाषित गर्न खोजेको पाइन्छ तर पनि प्रथम मानव मुजिङ्ना खेयङना हावाबाट संर्सग भई गर्वधारण भएर जन्मेको सुसुवेङ लालावेङका सन्तानहरू नै सुसुवा लिलिम याक्थुङ हुन भनेर मुन्धुमले परिभाषित गर्न खोजेको प्रष्ट देखिन्छ । त्यसकारण मुन्धुममा समाज बिकास सुरू हुनु पूर्व नै हामी सुसुवा लिलिम याक्थुङ भईसकेको प्रष्ट छ । यसलाई अर्को तरिकाले बिश्लेषण गर्दा याक्थुङ मौलिक मुन्धुममा याक्थुङबाहरूलाई खाम्बोङबा लुङबोङबा पनि भन्ने गरिन्छ । यसको अर्थ हुन्छ । यहाँको ढुङ्गा माटोसँगै उत्पत्ति भएको समुदाय भनेर । यदी हामीले किराती भन्छौं भने हामी यहाँको खाम्बोङबा लुङ्बोङबा होइनौं । मतलव यहाँको मुलवासी/ आदिवासी होइनौं अन्यत्र कतैबाट बसाइँ सर्दै सर्दै आएको आप्रवासी ठहर्छौं । अर्को कुरा प्रथम पुर्खा सुसुवेङ्ग लालावेङ्ग तथा सुसुलालाहाङको शाखा सन्तान भएको हुँदा हामीलाई सुसुलिलिम याक्थुङ भनेको हो । जसलाई सावा युक्पुङ्गेम्बा पनि भन्ने गरिन्छ । अत: उल्लेखित तथ्यहरूको आधारमा किरात भन्दा याक्थुङ प्राचिन हो….।।।