मानव जातिको उत्पत्ति र याक्थुङ् लिम्बू समुदाय

1307

-याक्थुङ सा

मानव जातिको उत्पत्ति सम्बन्धि दुई किसिमका चिन्तनहरू रहेको पाइन्छ । तिनीहरू सृष्टिवादी चिन्तन र भौतिकवादी तथा बैज्ञानिक चिन्तन हो । जसको सामान्य रूपले निम्न अनुसार सुक्ष्म बिश्लेषण गर्ने प्रयास गरिएको छ:

१. सृष्टिवादी चिन्तन:

मानव उत्पत्तिबारेको यो चिन्तन प्राय जस्तो संसारमा भएका सबै प्रकारका धर्मको कथाहरूमा रहेको पाइन्छ । यस्तो कथा पहिले एउटा मुलुक (आज इराक भनिने मेसोपोटामिया वा हिमालय प्रदेशको कुनै मुलुक) मा उत्पत्ति भई संसारको अनेक ठाउँमा स्थानान्तरण भएका जनजातिहरू सितै फैलिई विभिन्न रूपमा देखिएको भनि मानिन्छ । इसाई धर्म ग्रन्थ ‘बाइबल’ मा मानव जातिको उत्पत्ति माटोको मुर्तिमा ईश्वरले फुकेर प्राण भरे र त्यसको करङको एउटा हाडलिई स्वास्नी मानिस बनाए भन्ने उल्लेख छ । इस्लामी धर्म ग्रन्थ ‘कुरान’ मा माटोद्धारा सृष्टि गरिएको मुर्तिमा एक थोपा तुच्छ तरल पदार्थ मिलाई आत्मा फुकेर ब्युताए भन्ने उल्लेख छ । लिम्बू जातिको मुन्धुममा पनि ईश्वर तागेरा निङवाफुमाको प्रतिनिधि यम्भामि र पोरोक्मि देवले माटो, खरानी, सुलीलाई पानीले मलेर मानवको मुर्ति बनाई प्राण भरे भन्ने मौखिक कथन रहेको पाइन्छ । चीनको नुवाको कथामा माटोद्धारा मानिस बनाएको भनि वर्णन गरिएको छ । यी उल्लेखित कथाहरूमा रूपमा केही भिन्नता भए तापनि सार भने एउटै रहेको छ । हिन्दु पुराणहरूमा कतै ब्रम्हा र तिनकी छोरी, कतै इन्द्र, कतै त्वस्ता विश्वकर्मा, कतै अग्नि र कतै -कतै नृवंशको पिता कश्यप ऋृषिबाट मानव जातिको उत्पत्ति भएको उल्लेख गरिएको छ । आष्ट्रेलियाको कथाहरूमा सर्व प्रथम उत्पत्ति भएको ‘माकू’ र ‘महोरानई रङ्गी’ नामक दुई स्त्री र पुरूषबाट जन्मेको ‘रङ्गी पोतकी’ नामक आकाशको पृथ्वीसित बिबाह भएको र यसैबाट संसारको सृष्टि भएको उल्लेख पाइन्छ । फारसी धर्म ग्रन्थ ‘ जेन्दावस्ता’ अनुसार ‘ अहुर्मज्द’ ले आफ्नै इच्छाले मानव जातिको सृष्टि गरे र श्रीमद्भागवतको एउटा कथा अनुसार ब्रम्हाले सबै जात जातिको सृष्टि गरे भनि मानेको पाइन्छ । यो मानव जातिको उत्पत्तिबारेमा सृष्टिवादी चिन्तन हो (प्रधान, प्राचीन नेपाल, जर्नल पृ. १२) । यो चिन्तनले संसारका बौद्धिक जगतलाई समेत निक्क‌ै प्रभावित गरेको छ । नेपालको हकमा पनि यो चिन्तन अछुतो छैन । यो चिन्तनले नेपालको बौद्धिक जगतका साथै नेपाली समाजमा समेत गहिरो छाप र ब्यापक प्रभाव पारेको वास्तविकतालाई नकार्न सकिँदैन ।

२. भौतिकवादी तथा बैज्ञानिक चिन्तन:

पृथ्वीमा जीवको उत्पत्तिको सिन्दान्तको बैज्ञानिक बिश्लेषण के छ भने: आज भन्दा करीव १.५ अरव बर्षअघि आल्गीय (Algae) जस्ता जीव र वनस्पति भनि छुट्याउन नसकेका प्राककोशीय वा अकोशीय जीवाणुको श्रृङ्खलाबाट आजभन्दा करीव ५७ कडोर बर्षअघि जीवको प्रार्दुभाव हुन् गएको हो । जीव र अजीवको दोसाध मानिने र पानीमा पाइने मोनेरा (Monera), प्रोटिष्टा (Protista),बैक्टेरिया (Bacteria) आदिलाई जीवाणु भनिन्छ । जीवाणुबाट एककोशीय र बहुकोशीय जीवको बिकास हुँदै आज भन्दा करीव ५७ कडोर बर्षअघि स्पष्ट जीवको प्रार्दुभाव भएको मानिएको छ । जलचर प्राणीबाट नै परिवर्तनका दुई चरणहरू परिमाणात्मक (Quantitative), र गुणात्मक (Qualitative) – हुँदै आज भन्दा करीव ४० कडोर बर्ष अघि माछा जन्य जलचर (jelly fish) र यसैबाट बिकसित हुँदै पछि ३२ कडोर बर्षअघि माछाको प्रार्दुभाव भएको मानिन्छ । अत: मानव र अन्य पशुजगत एउटै पूर्खा जीवका सन्तति हुन् । त्यसरी नै जलचर प्राणीबाट २५ कडोर बर्षअघि जल एवं स्थलचर वा उभयचर जीव- झाँते किरो, गँगटो, शंखेकिरा, कछुवा आदि र १९ कडोर बर्षअघि बिशाल शरीर गरेका गोही, डाइनोसर, आदि एवं बिशालकाय पंक्षी आदि विकसित भए । यो उद्विकास वा क्रमिक बिकासको क्रम निरन्तर नै रहेको छ । त्यसैले यही नै पशु- पंक्षीको शाखाबाट स्तनधारी जीवको बिकास हुन् गयो । यिनै स्तनधारी जीव मध्येबाट बिकसित एउटा शाखाले रूख चढ्न समेत सिके, जसलाई बैज्ञानिकहरू किरा-फटेङ्ग्रजीवी (Insectivora)भन्छन् । सामान्यतया यसलाई छुचुन्द्रे पनि भन्न सकिन्छ । यसैको सन्ततिको रूपमा सबै वानरका पूर्खा – अर्ध- वानर (अपुच्छ) pro-simian, आज भन्दा करीव ७ कडोर बर्ष अघि यो पृथ्वीमा देखा परे । अत: यसरी अर्ध- वानर (अपुच्छ), वानर (निसा अपि), नरवानर र मानव जातिको क्रमिक बिकास भएको हो (प्रधान, प्राचीन नेपाल, जर्नल पृ. १४) । रामापिथेकस् (नरवानर), आष्ट्रियालोपिथेकस्, होमो इरेक्टस्, नियन्दरथल र होमोसेम्पियन्स् हुँदै आधुनिक मानवको बिकास भएको हो भन्ने बैज्ञानिक तथ्य रहेको छ । भट्टराई, (२०५६) का अनुसार:-क. रामापिथेकस् भनेको मानव जातिको रूप लिन प्रयत्नशील एउटा प्राणी हो । यसको समय भनेको १.४ कडोर बर्ष अघि हो । यो प्राणी वानर गुणबाट मानवगुणमा रूपान्तर हुन् प्रयत्शील जीव हो ।ख. आष्ट्रियालोपिथेकस् भनेको पूर्ण मानवगुण भएको रामापिथेकसको बिकसित रूप हो । यसलाई दक्षिणी नरवानर पनि भन्ने गरिन्छ । यो आज भन्दा ६० लाख बर्ष अघि उद्गम भएको हुन् सक्ने अनुमान गरिएको छ ।ग. होमो इरेक्टस् ठाँडो भएर हिड्न सक्ने, हतियार प्रयोग गरेर शिकार मार्न सक्ने प्राणी हो । जसलाई पेकिङ्ग मानवपनि भन्ने गरिन्छ । यसैको समयमा आगोको प्रयोग भएको साथै यसको समय ९ लाख बर्ष अघिदेखि ५ लाख बर्ष पुरानो मानिन्छ ।घ. नियन्दरथल मानवको समय भनेको १ लाख बर्ष अघिदेखि ४०/५० हजार बर्षसम्म मानिन्छ । यिनै प्राक् मानवको समयदेखि मानव संस्कार संस्कृतिहरूको सुरूआत भएको मानवशास्त्रीहरूको अनुमान रहेको छ । नियन्दरथल मानव आफन्तको मृत्यूमा शोक मनाउने तथा मृतकको अत्येष्टि क्रियामा गाड्ने तथा जलाउने र मृतकले चलाएको उपकरण तथा औजारहरू सँगै गाड्ने चलन भएको भनेर बिभिन्न मानवशास्त्रीहरूले उल्लेख गरेको पाइन्छ ।ङ. होमो सेम्पियन्स् आधुनिक मानव हो । यसैको कारण नियन्दरथल मानव लुप्त भएको हो भन्ने रहेको छ । होमो सेम्पियन्स् समय भनेको २५/३० हजार बर्ष अघिदेखि १० / १२ हजार बर्ष सम्मलाई मान्ने गरिन्छ । आजको मानवको निकटतम् पूर्वज होमो सेम्पियन्सलाई मानिन्छ । यसमा पनि ओरनेक मानव, क्रोमेओ मानव, ग्रिमाल्दी मानव, सोलुत्रे मानव र अजिल मानव हुन् । कुकुरसँगै सिकार गर्ने संस्कृतिको सुरूआत होमो सेम्पियन्सको समयदेखि भएको मानिन्छ साथै यसै मानवको समयावधीदेखि नै मानव जातिले एक अदृष्य शक्तिलाई ईश्वरको रूपमा मान्दै र पूज्दै आएको मानिन्छ ।यसरी २५/२६ लाख बर्षदेखि १०/१२ हजार बर्षसम्मको समयलाई ढुङ्गे युग भनिन्छ (दहाल, २०५८)। बैज्ञानिक तथा मानवशास्त्रीहरूले प्राग इतिहासलाई अध्ययनको सरलताको लागि भनेर पूर्व ढुङ्गेयुग, मध्य ढुङ्गेयुग र नविनढुङ्गे युग (नवपाषण काल) भनेर बिभाजन गरेको पाइन्छ । प्रागैतिहासिककालीन संस्कृति भनेको ढुङ्गेयुगीन संस्कृति नै हो । यसको बैज्ञानिक अध्ययनको लागि प्राक् मानवहरूले उपयोग गरेका ढुङ्गे औजारहरू, बिभिन्न ठाउँ गाउँमा भएका गुफा कन्दराका बिभिन्न क्रियाकलाप तथा प्राक् मानवका अवशेषहरू नै प्रमुख हुन् । बैज्ञानिक तथा मानवशास्त्रीहरूले यिनै बस्तुहरूको खोजी, अध्ययन, अवलोकन, अन्वेषण र बैज्ञानिक परीक्षण गरेर मात्र मानव जातिको उत्पत्ति र विकासबारेमा निस्कर्ष निकाल्ने कार्य गर्दछन् । मानव उत्पत्ति र विकासमा सृष्टिवादी चिन्तनभन्दा यो बिधि धेरै भरपर्दो र बैज्ञानिक हो र यसको लागि निरन्तर शोध, खोज र अनुसन्धान कार्यहरू भइरहेको छ ।

३. नेपालमा मानव उत्पत्ति प्रसंग:

सन १९५० भन्दा अगाडि नेपालमा मानवशास्त्र र नृःतत्वशास्त्रको दृष्टिले भने अध्ययन हुन सकेको थिएन् । १९६०- ६१ तिर काठमण्डौंको चोभार, पोखराको अरमुडी र थाक खोलाका गुफाहरूको सर्वेक्षण – अध्ययन भइसकेपछि नेपालमा प्राक् मानवको अस्तित्व सम्बन्धी प्रश्नहरू प्रकाशमा आउन थाल्यो । १९६५ सम्ममा काठमण्डौं उपत्यका, नवलपरासी र लुम्बिनीमा प्रागैतिहासिक सर्वेक्षण-अध्ययन भए तापनि त्यसबाट कुनै खास उपलब्धि हुन् सकेको थिएन् । त्यसपछि पुरातत्व बिभागले आफ्नो कार्य बिषयमा नेपालको भु-भागमा मानव जातिको सभ्यता र विकास सम्बन्धी बिज्ञानको खोजी गर्ने र मूलभूत उत्खननको माध्यमद्धारा राष्ट्रको प्राचीन लुप्त संस्कृति, प्राग इतिहास र इतिहासको निर्माण गर्न र त्यस कार्यमा सक्दो योगदान दिने र नेपालको भु-भागमा हुर्केका मानव सभ्यताको इतिहासको राम्ररी खोजी गर्ने जस्ता कुराहरू समावेश भएपछि प्रागऐतिहासिक खोज र अनुसन्धानमा पुरातत्व बिभागको ध्यान पुग्न थालेको अनुमान हुन्छ । त्यस पछि १९६५-६६ मा दाङ र बर्दिया, १९६८-६९ मा नवलपरासी, १९७८ मा नवलपरासी र बुढानिलकण्ठमा , १९८० मा बुटवलमा र त्यसपछि देशको बिभिन्न भागमा पूर्वमा ताप्लेजुङ पश्चिममा सुर्खेतसम्म, उत्तरमा हिमालयको फेदीदेखि तराईको झापा र लुम्बिनीसम्म अध्ययन तथा अनुसन्धान कार्यहरू भएका छन् । जसबाट आजभन्दा कम्तीमा ५ लाख बर्ष अघिदेखि ४ हजार बर्षअघि सम्मका ढुङ्गाका हतियारहरू फेला परेका छन् । आजभन्दा ५ लाख बर्ष भनेको होमो इरेक्टस् प्राक् मानवको समयावधी हो । अर्को तर्फ नेपालमा २०३७ सालमा डा. जे. एच. हटिचन्नले १.१ कडोर बर्षअघिको रामापिथेकस् (नेपिथेकस्) को बंगरा बुटवलको तिनाउ नदीको किनारमा फेला पारे । यो रामापिथेकस् (नेपिथेकस्) भनेको वानर गुणबाट मानवगुणमा वा रूपमा परिवर्तन हुन् प्रयत्नशील प्राणी हो भनेर माथी नै पटक पटक उल्लेख गरिसकेको बिषय हो । यो नेपिथेकस् भनेको बिश्वको तेस्रो र एसियाको सबै भन्दा जेठो अवशेस हो । यो नेपिथेकस् पूर्व ढुङ्गेयुगीन प्राणी वा जीव हो ।अतः यही नै माथी उल्लेखित पुरातात्विक अवशेषहरूको आधारमा के प्रमाणित हुन्छ, भने नेपाल पनि मानव जातिको उद्भव र विकास भएको स्थल हो भन्नेमा कुनै दुई मत छैन । अझ खोज अध्ययन र अनुसन्धान कार्य निरन्तर भएमा अझै पनि यस्ता प्राक् मानवका अवशेषहरू फेला पर्ने बढी सम्भावना छ । तर अझै पनि हाम्रो नेपाली समाजमा सृष्टिवादी चिन्तनले गर्दा नेपालको इतिहास, सभ्यता र संस्कृति उत्तरबाट मंगोल र दक्षिणबाट आर्यहरूबाट आयातीत मान्ने गलत अवधारणका प्रभावहरू मरिसकेका छैनन् ।अत: नेपालमा मानव उद्भव भएको सम्भावनाको आधारमा मानवको विकास भएको हुन् सक्ने अनुमानबारे पनि ब्यापक रूपले एवं गहन ढङ्गले बिश्लेषण र बिबेचना हुन सकेको छैन (प्रधान, प्राचीन नेपाल, जर्नल पृ. २१) ।४. याक्थुङ लिम्बू समुदायको उद्भव र बिकास:

याक्थुङ लिम्बू समुदायको उद्भव र बिकासको बारेमा बिश्लेषण गर्दा याक्थुङ लिम्बूको बौद्धिक जगत पनि उही नै मानव उत्पत्तिको सृष्टिवादी चिन्तनबाट अछुतो छैन । त्यसैले त याक्थुङ लिम्बूका इतिहासकार, लेखक तथा बौद्धिक जगत याक्थुङ लिम्बू समुदाय मेसोपोटामिया, काशी र लाशाबाट क्रमिकरूपले बसाँई सर्दै यो वर्तमानमा लिम्बूवान (याक्थुङ लाजे) भूमिमा ३/४ हजार बर्ष अघि प्रवेश गरेका हुन् भनेर उल्लेख गरेका छन् । यो कुरा अन्य जातिको धर्म तथा इतिहासको आधार र सृष्टिवादी चिन्तन कै प्रभाव हो भन्दा कुनै फरक पर्दैन । तर नेपाल आफैमा मानव जातिको उद्भव र बिकास भएको प्रवल सम्भावना स्थल हुनुको नाताले याक्थुङ लिम्बू समुदाय नेपाल कै लिम्बूवान (याक्थुङ् लाजे) मा उद्भव भएको हो भनेर सहजै अनुमान गर्न सकिन्छ । याक्थुङ लिम्बू समुदायको इतिहासका इतिहासकारहरूले अन्य जाति तथा समुदायको धर्मग्रन्थ र इतिहासको आधारमा इतिहास लेख्ने काम गरे यो हदै सम्मको गलत प्रकृया थियो । अझ पनि याक्थुङ लिम्बू समुदायको इतिहास लेखन बैज्ञानिक बिधिबाट भएको छैन । अघिका इतिहासकारहरूले याक्थुङ लिम्बू समुदायलाई किरात र मंगोल जातीय समुदायको एउटा जाति मानेर याक्थुङ लिम्बू समुदायलाई मंगोलिया, मेसोपोटामिया, काशी तथा लाशाबाट आएका जाति भनेर उल्लेख गरेका छन् । हाल उक्त स्थानमा बसोबास गर्ने जाति र बर्तमान याक्थुङ लिम्बू समुदायको बंशाणुगत गुण, भाषा लिपि, संस्कार र संस्कृतिहरूमा आकाश पतालको फरक पाइन्छ । अत: याक्थुझ लिम्बू समुदायको उद्भव र बिकासबारेको अध्ययन गर्ने कुनै बैज्ञानिक वा प्रमाणित सामग्री छैन । याक्थुङ लिम्बू समुदायको उद्भव र बिकासको अध्ययनको प्रवल सम्भावना भएको बिधि भनेकै यो लिम्बूवान (याक्थुङ लाजे) को पुरातात्विक अध्ययन हो । त्यसका लागि यो लिम्बूवान (याक्थुङ लाजे) मा छरिएर रहेका गुफा कन्दराका बिभिन्न ढुङ्गे युगिन संस्कृतिक कृयाकलापहरूको खोज अध्ययन अनुसन्धान गर्नु नै हो । याक्थुङ लिम्बू समुदायको प्राचीन लिखित इतिहास नभएको हुँदा मुन्धुम नै याक्थुङ लिम्बू समुदायको अलिखित (मौखिक)इतिहास हो, प्राग इतिहास हो, मानव तथा समाजशास्त्र पनि हो र बिज्ञान पनि हो । मुन्धुम भित्र प्राग इतिहास, इतिहास, राजनीति, धर्म, संस्कार, संस्कृति, जीवविज्ञान आदि सबैका केही बिषय बस्तुहरू मुन्धुम भित्र समेटिएको पाइन्छ । मुन्धुम, मुन्धुमी स्थल र याक्थुङ लिम्बू समुदायको संस्कृतिको अध्ययनले पनि याक्थुङ लिम्बूको इतिहासबारेमा जानकारी मिल्छ । मुन्धुमी स्थलहरूको अध्ययनले मात्र पनि याक्थुङ लिम्बू समुदाय प्राग ऐतिहासिक कालदेखि कै मुलवासी/आदिवासी समुदाय हुन् भन्ने कुरा प्रमाणित हुन्छ । मुन्धुममा घटणा, पात्र र स्थलको स्पष्टरूपले बिश्लेषण गरेको हुँदा याक्थुङ लिम्बू समुदायको मुन्धुम याक्थुङ लिम्बू समुदायकै एउटा अलिखित प्राग ऐतिहासिक मौखिकदस्तावेज हो भन्दा कुनै फरक पर्दैन । याक्थुङ लिम्बूको मुन्धुममा शिकार खेलेको, शिकार खेल्न कुकुरको प्रयोग गरेको गुफा कन्दराहरूमा बास गरेको जस्ता अनेकौं प्राग ऐतिहासिक बृतान्तहरू प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अध्ययन गर्न मिल्छ । अर्को कुरा याक्थुङ लिम्बूको मुन्धुम भनेको याक्थुङ लिम्बूको पूर्वजहरू प्राग ऐतिहासिककालमा भोगेका जीवन भोगाईको गाथा पनि हो भन्दा कुनै फरक पर्दैन । हुन त मुन्धुम एउटा काल्पनिक आख्यान, मिथक वा लोककथा जस्तो भएता पनि त्यो एउटा सत्य घटणा नै हो भन्ने छ । उक्त घटणा पुस्ता दरपुस्ता मौखिक रूपमा बाचन हुँदै पुस्तान्तरण भएर आएको हो । त्यसैले नेपालको ताप्लेजुङमा होमो इरेक्टसको समयदेखि प्राक् मानवहरूको अस्तित्व थियो भन्ने कुरा कसरी प्रमाणित हुन्छ भने नेपालको पुरातत्व बिभागले प्राप्त गरेको बुढानिलकण्ठको ढुङ्गेयुगीन प्राक् मानवको ढुङ्गे औजार र ताप्लेजुङ्गको ढुङ्गेसाँगुमा फेला परेको ढुङ्गेयुगीन प्राक् मानवको औजार समकालिन भएको जानकारी अनुसार लिम्बूवान (याक्थुङ लाजे) को तमोर उपत्यकामा प्राक् मानवको अस्तित्व रहेको सहजै अनुमान गर्न सकिन्छ । मुन्धुमी स्थल पनि ढुङ्गेयुगीन एउटा अवशेष हो । यो धेरै नै प्राचीन स्थल हुन्छ । यो कति पुरानो हुन्छ भनेर त्यस्ता स्थलहरूको कार्वन डेटिङ्ग परीक्षण गर्न नितान्तरूपले आवश्यक छ । ताप्लेजुङ जिल्लाको तमोरखोला क्षेत्रमा यस्ता मुन्धुमी स्थलहरू प्रसस्त रहेका छन् । र प्राक् मानवहरूको ढुङ्गे संस्कृतिहरू तमोर उपत्यकामा थुप्रै नै रहेका छन् जसलाई मिथक वा कथा जोडेर मुन्धुमी स्थल भन्ने गरिन्छ ।

अन्तमा:

मानवशास्त्री तथा पुरातत्वविद्हरूको मतअनुसार र माथीको बिभिन्न प्रमाणहरूको आधारमा याक्थुङ लिम्बू समुदायको उद्भव र बिकासको बारेमा आज भन्दा २५/३० हजार बर्ष अगाडि तमोर उपत्यकामा प्रवेश गर्ने होमो सेम्पियन्स् (क्रोमेओ मानव) बाट बिकसित समुदाय नै आजको याक्थुङ लिम्बू समुदाय हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । खासमा तमोर सभ्यता नै याक्थुङ सभ्यता हो । लिम्बू (याक्थुङ) समुदायको इतिहास, सभ्यता र संस्कृति यहीबाट सुरू भई संसारको बिभिन्न भागमा पुगेको हो, यै लिम्बूवान (याक्थुङ लाजे) भूमिको उपज हो र याक्थुङ लिम्बू समुदाय, याक्थुङ लिम्बू समुदायको इतिहास, सभ्यता, संस्कार र संस्कृतिहरू काशी, लाशा, मंगोलिया तथा मेसोपोटामियाबाट आयातित भएको होइन…।..अस्तु…।।।

  • सन्दर्भ सामग्रीहरू:-१. दहाल, डा. पेशल (बि. स. २०५८), 
  • नेपालको इतिहास; एम. के. पब्लिशर्स एण्ड डिष्टीब्युटर्स, भोटाहिटी, काठमण्डौं ।२. शर्मा, कमलराज (बि. स. २०६९); 
  • मानवशास्त्रीय सैद्धान्तिक दृष्टिकोणहरू, सनराइज पब्लिकेसन्स् प्रा. लि. पुतलीसडक, काठमण्डौ ।३. प्रधान, केदारनाथ (…….) , 
  • प्राचीन नेपाल जर्नल, पुरातत्व बिभाग ।४.भट्टराई, ज्ञानेश्वर (बि. स.२०५६), 
  • बृहत ज्ञान कोश; आशिष् पुस्तक भण्डार बाघबजार, काठमण्डौ ।
  • नेपालको इतिहास; एम. के. पब्लिशर्स एण्ड डिष्टीब्युटर्स, भोटाहिटी, काठमण्डौं ।२. शर्मा, कमलराज (बि. स. २०६९); 
  • मानवशास्त्रीय सैद्धान्तिक दृष्टिकोणहरू, सनराइज पब्लिकेसन्स् प्रा. लि. पुतलीसडक, काठमण्डौ ।३. प्रधान, केदारनाथ (…….) , 
  • प्राचीन नेपाल जर्नल, पुरातत्व बिभाग ।४.भट्टराई, ज्ञानेश्वर (बि. स.२०५६)
  • बृहत ज्ञान कोश; आशिष् पुस्तक भण्डार बाघबजार, काठमण्डौ ।