– याक्थुङ सा
याक्थुङ लिम्बू समुदायलाई लाशा गोत्रे र काशी गोत्रे भनेर उल्लेख गर्ने अंग्रेजी लेखक Herbert Hope Risley (H. H. Risley) हुन् । उक्त अंग्रेजी लेखक H. H. Risley ले आफ्नो पुस्तक “The Gazetter of Sikkhim primary source Edition” शिर्षक भएको आफ्नो पुस्तकमा याक्थुङ लिम्बू समुदायलाई लाशा गोत्रे र काशी गोत्रे भनेर उल्लेख गरेको पाइन्छ । यिनै अंग्रेजी लेखक H. H. Risley को उल्लेखित स्रोत सामग्रीको आधारमा इतिहासकार स्व. इमानसिं चेम्जोङले पनि काशीबाट आउने किरात काशी गोत्रे र लाशाबाट आउने किरात लाशा गोत्रे भनेर “किरात इतिहास” नामक आफ्नो कृतिमा उल्लेख गरेको पाइन्छ । अहिले आएर याक्थुङ लिम्बू समुदायमा यही मान्यताहरूलाई नै आधार मानेर लाशा गोत्रे लिम्बू र काशी गोत्रे लिम्बू भनेर भन्ने प्रचलन कायम रहेको छ । हामी तमाम याक्थुङ लिम्बू समुदायले यहाँ निर बुझ्नु पर्ने कुरा के छ भने गोत्र भनेको के हो ? गोत्र भनेको बंश प्रवर्तक ऋृषिमुनिहरूका नामबाट चलि-आएको पुर्ख्यौली चिनाउने उपनाम (जस्तै: कौडिण्य, कश्यप, बसिष्ठ, भारद्धज) लाई गोत्र भनिन्छ । यो शाब्दिक अर्थको आधारमा भन्ने नै हो भने लाशा र काशी भन्ने स्थानहरू हुन् । भुगोलको नाम हो वा यो नामहरू ठाउँ बिषेश/ स्थान बिशेषको नाम हो । कुनै सन्तान उत्पादन गर्ने प्राणी वा मानव जातिको नाम होइन । लाशा र काशी भन्ने स्थानले बंश पैदा गर्दैन । सन्तान उत्पादन गर्दैन । त्यसैले हामी याक्थुङ लिम्बू समुदायकाहरूले काशी गोत्र र लाशा गोत्र भन्नु गलत हुन्छ ।आर्य हिन्दु समाजमा एउटै गोत्र भएकाहरूमा बैबाहिक सम्बन्ध कायम हुँदैन । यदी बिबाह गर्नु परेमा अन्य गोत्रका कुटुम्ब चाहिन्छ । र अर्को कुरा गोत्र नभएकाहरूकालागि कश्यप गोत्रमा राख्ने प्रचलन छ । राजा पृथ्वीनारयण शाहले पनि अन्तिम चोटी बिबाह गर्दा आफ्नो गोत्र परिवर्तन गरेको इतिहास छ । अर्को तर्फ हामी याक्थुङ लिम्बू समुदायमा मुल पुर्खा वा बंश प्रवर्तकलाई गोत्र भनिँदैन । याक्थुङ लिम्बू भाषामा मिङ्स्रा भनिन्छ । याक्थुङ् लिम्बूको धार्मिक अनुष्ठान मांगेना अनुष्ठान गर्दा यो मिङ्स्राको उच्चारण नगरी उक्त अनुष्ठान नै सम्पन्न हुँदैन । त्यसरी आफ्नो बंशका प्रवर्तकले शिकारी युग/ ढुङ्गे युगतिर नै सर्वप्रथम खोरिया फाडेको स्थान मांगेना यकको उच्चारण हुन्छ । बंश फैलिँदै गएको स्थान फेचुवा यक, कर्म स्थान नाहाङमा यक आदिको उच्चारण माँगेना अनुष्ठान गर्दा हुन्छ । मृतकहरूको आत्मा पुर्खालाई बुझाउने ठाउँ सामसामतेन, सुत्केरी महिलाहरूको सातो लिने स्थान सामलामातेनहरूको उच्चारण माङ्गेना अनुष्ठान गर्दा हुन्छ । मांगेना मुन्धुम भनेको याक्थुङ् लिम्बू समुदायको एउटा इतिहास नै हो । मांगेना अनुष्ठान गर्दा केही पेगी फाङसामहरूले लाशा र काशी गोत्रको उच्चारण गर्ने गर्दछन् । यो गलत प्रचलन हो । म यङयाङ सयङ् (थरी) को याक्थुङ् लिम्बू हो । मेरो मुल पुर्खाको नाम सेच्छेने सेनेहाङ हो त्यसैले मेरो मिङ्स्रा सेच्छेने सेनेहाङ हो । म कुनै लाशा गोत्र र काशी गोत्रको होइन । मुल पुर्खाको नाम सेच्छेने सेनेहाङ भएकोले यङयाङहरूलाई सेनबंशी र काशी गोत्रे भन्ने चलन सर्वथा गलत हो । सेन बंश भनेको नेपालका सेनराजाहरूको इतिहाससँग जोडेर यङयाङहरू मगर हुन् समेत भन्ने निक्कै बौद्धिक लिम्बूहरू रहेका छन् । तर यो तथ्य सहि होइन । सेच्छेनेसेनेहाङ र १७ औं १८ औं शताब्दीका सेन मगर राजाहरूको समय धेरै फरक छ । सेच्छेनेसेने मिङ्स्रा भएको र सेन राजाहरू समय मिल्दैन । मिङ्स्रा र मांगेना यकको स्थापना झण्डै शिकारी युगतिरको समय हो…।।।सेवारो