सेमुक्तु मुक्ति कोक्मा (पाथीभरा) शक्ति र वरदानको पर्वत Semuktu Mukti Kokma

2241

प्रकाशन date 19 Aug 2021

१.पृष्ठभूमिः

नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृतिका लागि एक सम्पन्न राष्ट्रको रूपमा विश्व माझ परिचित छ । नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने विभिन्न आदिमूलवासी जातिहरू मध्ये याक्थुङबा लिम्बू पनि एक हो । याक्थुङबा लिम्बू जातिको मौलिक संस्कार, संस्कृतिको संरक्षण, सम्बद्र्धन एवं विकासका लागि यस जातिले अक्षुण्ण रूपमा अनुसरण र अभ्यास गरिल्याएका परापूर्वकालदेखि मानिल्याएको सनातनी धर्म, संस्कार, संस्कृति, रीतिरिवाजहरू नै समष्टिमा युमा धर्म हो । युमा धर्म मान्ने सम्पूर्ण याक्थुङ लिम्बूहरूको धर्म दर्शन अहिलेसम्म मौखिक परम्परा (यचब ितचबमष्तष्यल) मा आधारित साम्जिक मुन्धुम (आध्यात्मिक मुन्धुम) हो । साम्जिक मुन्धुमको शुरूवातमा नावा चइःत मुन्धुम (सृष्टि मुन्धुम) ताधक्मा (गायन) गरिन्छ ।

नावाचइःत मुन्धुम (सृष्टि मुन्धुम) मा सम्पूर्ण ब्रम्हाण्ड, ग्रह, नक्षत्र, जूनघाम, तारामण्डल, अन्तरिक्ष, ईश्वर, देवीदेवता, भूतप्रेत, सोघा, सेसेन्तरदेखि पृथ्वी, पहाडपर्वत, डाँडाकाँडा, खोलानाला, नदीसमूद्र, वनस्पति, जीवजन्तु, चराचुरुङगी, किटपतंग र मानिस आदिको सृष्टि भएका वर्णनहरू समावेश छन् । उहिल्यैदेखि अविच्छिन्न रूपमा गाउँदै ल्याइएको नावा चइःत मुन्धुममा वर्णन भए अनुसार डाँडाकाँडा, पहाडपर्वतहरुका नामहरू आजसम्म पनि जस्ताको तस्तै पुकार्ने गरिन्छन् । यहाँनेर मुन्धुममा उल्लेख हुने र हिजोआज खस नेपाली भाषाबाट समेत चिनिने केही नामहरू यसप्रकार दिइएका छन् । जस्तैः ंफक्ताङलुङ (कुम्भकर्ण), सेसेलुङ (कन्चनजंघा), सेवालुङ (मानाभरा), सिदिङ कोक्मा (सिदिङबा डाँडा), मेन्छ्यायेम कोक्मा÷थेगु, (मेन्छ्यायेम डाँडा), इम्बिरी याङ्धाङवा (तमोर नदी) आदि । त्यसरी नै फेदाङमा, साम्बा, येबा–येमाहरू (पेगि फाङसाम)द्वारा मौलिक मुन्धुम ताधक्मा (विधिपूर्वक गायन) गर्दा प्रसङ्गवश पाथिभरा स्थापित सिङ्गो पहाडको प्राचिन नाम सेमुक्तु मुक्ति कोक्मा भनी पुकारिने गरिन्छ ।

२.मौलिक याक्थुङ मुन्धुममा सेमुक्तु मुक्ति कोक्मा:

याक्थुङ जातिले अनादिकालदेखि अभ्यास गरेको आध्यात्मिक ज्ञान साम्जिक मुन्म्धुम, त्यसबाट निर्देशित धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, आस्था, विश्वास, मूल्य–मान्यताहरू याक्थुङ जातिसँग सम्बन्धित अमूल्य सम्पदाहरू हुन् । याक्थुङ जातिका धार्मिक पुजारीपुरोहितहरू पेगिफाङसाम (फेदाङमा, साम्बा, येबा÷येमा, सिङसाङगे फेरेङगे, युमासामहरू) आदिले अविच्छिन्न रूपमा गाउँदै सिकाउँदै पुस्ता हस्तान्तरण गरेको साम्जिक मुन्धुममा वर्णन गरिएका डाँडापाखा, खोलानाला, पहाडपर्वतहरूका नामहरू आजपर्यन्त जस्ताको त्यस्तै पुकार्ने गरिन्छन् ।

याग्राङ्सीङ फोङ्सिङ्मा अनुष्ठानका क्रममा सिजोराइङ्मिसाहरू फोङ्सिङ्मा गर्दा सारा खोलानाला, कोक्मा फाङजङ, नाङजङहरूका नाम उच्चारण गर्ने समयमा सेमुक्तु माङसे, मुक्तुगोक माङ्से भनेर सम्बोधन गरेको पाइन्छ । त्यसरी नै तङसिङ तिक्मा अनुष्ठान सम्पन्न गर्ने क्रमसँगै गाइने फुङ्वा चाङ्मा मुन्धुममा फूल छर्ने, उमार्ने, रोप्ने क्रममा पनि फक्ताङलुङ सम्धो, पेम्बेनलुङ सम्धो, सेवालुङ सम्धो, सेसेलुङ सम्धो, सेमुक्तु सम्धो मुक्तुगोक सम्धो÷मुक्तुबुङ सम्धो भनेर उल्लेख भएको पाइन्छ ।

त्यस्तै तङसिङ तिक्मा अनुष्ठानकै इसोपोना सुम्मा÷चाङ्मा गर्ने क्रममा पनि यभत्लुङ फावामा पोनाहा?, इम्बिरी याङधाङ्वा पोनाहा?, केत्तक्कुम मिक्वामा पोनाहा?, सिन्धोलुङ मैवामा पोनाहा?, सेमुक्तु मुक्तुगोक पोनाहा? भनेर सम्पूर्ण हिमाल, पहाड, डाँडाकाँडा, खोलानाला आदि सबैतिरबाट इसापोना भेला पार्ने वा हराएको छ कि ? साथमा भएकोलाई नहराइ–नखसाइकन चोत्लुङसम्म पु¥याउने गरिन्छ ।

तङसिङ तिक्मा अनुष्ठानका क्रममा चो?लुङमा पुगेर फर्किँदा पनि सेमुक्तु सम्धो मुक्तुगोक सम्धो आगेरेरो भनेर याक्थुङ जातिको मौलिक मुन्धुममा प्रष्ट उल्लेख भएको पाइन्छ ।सर्वप्रथम फक्ताङलुङ पेम्बेनलुङ पर्वत (कुम्भकर्ण)मा युमा माङको अवतरण भएपछि वहाँले विभिन्न स्थानहरूको भ्रमण गर्नुभयो । फक्ताङलुङ पेम्बेनलुङ पर्वतमा युमा माङको अवतरण भएपछि त्यहाँदेखि क्रमशः इसाङलुङ (फालेलुङ), केहुक्सो काङवामा, पोरोक्लुङ यभत्लुङ फावामा हुँदै सेमुक्तु मुक्ति कोक्मामा आवागमन भएको वर्णन मौलिक याक्थुङ मुन्धुमहरूमा पाइन्छन् । युमा (इष्टदेवी, आराध्यदेवी) ले भ्रमण गरेका, खेलेका डुलेका स्थानहरू मध्ये तेस्रो महत्वपूर्ण स्थानका रूपमा सेमुक्तु मुक्ति कोक्मालाई मानिन्छ ।

३.सेमुक्तु मुक्ति कोक्माको अर्थः

सेमुक्तु मुक्ति कोक्मा भन्नाले

से = पवित्र मुक् = शक्ति

तु = उक्तु÷सक्तु = सक्मा गरिरहने, गुञ्जिरहने ………

.ति = तिप्मा/केदिप्पा = बलिरहने÷बल्छ

कोक्मा = डाँडा

अर्थात् अदृश्य दैवीशक्ति/प्राकृतिक शक्ति/अनुभुत गर्न सकिने पवित्र शक्तिको तेज वा राप अखण्ड बलिरहने/गुञ्जिरहने/चलायमान/विराजमान रहेको ठाउँ (कोक्मा) भन्ने बुझिन्छ ।

प्राचिन कालदेखि पेगिफाङसामहरू (फेदाङ्मा, साम्बा, येबा–येमा, सिङसाङगे फेरेङ्गे, युमासाम आदि) द्वारा ताधक्मा (गायन) गर्दै ल्याइएका मुन्धुमहरूमा सेमुक्तु मुक्ति कोक्मा÷साङसिङ मुक्तु कोक्मा÷सेङसिङ कोक्मा मुक्तु फोःमा/सेङसिङ कोक्मा साङ्सेरेप्मा आदि केही फरक नामले पनि पुकार्ने गरिन्छ ।

त्यस्तै याक्थुङ लोकविश्वासहरू, जनश्रुतिहरू र तुतु तुम्याहाङ, तुम्भाक्सा–तुम्भाक्माहरूले आजपर्यन्त सेमुक्तु मुक्ति कोक्मा नै भन्ने गरेका प्रशस्तै उदाहरणहरू छन् । निम्न स्रोतहरूमा हेर्दा सेमुक्तु मुक्ति कोक्मा नाम बढी प्रयोग भएको र निरन्तर हुँदै आएको पुष्टि हुन्छ ।

क) निरन्तर गाउँदै ल्याइएका मौलिक मुन्धुमहरू

ख) मौलिक मुन्धुमविज्ञ तुतु तुम्याहाङहरू र याक्लासुहाङ्माहरू

ग) पेगिफाङसाम (फेदाङमा, साम्बा, येबा÷येमा, सिङसाङगे फेरेङगेहरू) को अन्तरवार्ता

घ) लोकविश्वासहरू र जनश्रुतिहरू

ङ) स्थानीय प्रबुद्ध व्यक्तिहरू (तुम्भाक्सा, तुम्भाक्माहरू)

च) ताप्लेजुङ जिल्लाका विभिन्न थुम (ऐतिहासिक इलाका÷भौगोलिक क्षेत्र)हरू

छ) पुराना लिखत (लेखोट)हरू

४.दस्तावेजहरूमा सेमुक्तु मुक्ति कोक्मा:

ताप्लेजुङ जिल्लामा पर्ने विभिन्न ऐतिहासिक महत्वका थुमहरू (भौगोलिक क्षेत्र÷ईलाका÷ठाउँ विशेष) हरूमा अभ्यास भइरहेका मौखिक तथा लिखित मुन्धुमहरू, पुराना लेखोट (लिखत)हरू आदि समेटिएका सन्दर्भ–सामग्रीहरू अध्ययन गर्दा प्राचिनकालदेखि याक्थुङ जातिका पूर्वजहरूले दैवीशक्ति र वरदान प्राप्तिको लागि पुकार्दै ल्याइएको सो पर्वतलाई सेमुक्तु मुक्तिगोक्मा (सेमुक्तु मुक्ति कोक्मा) भनी उल्लेख भएका पाइन्छन् ।

केही स्रोत–सामग्रीहरू निम्नप्रकार रहेका छन्

–१) सन् १८४६ (१५० वर्षअघि)तिर संकलित हड्सन पाण्डुलिपिको खण्ड ८६ को एक पत्रमा सिरिजङ्गाले करिब २५० वर्षअघि लेखेको लेखोटमा मुक्तिफोमाङ,

२) ईजम वंशसँग सम्बन्धित मौजा (साँधसीमानासहितको जग्गाजमीन) उल्लेख हुने वि. सं. १८४८ (२३० वर्षअघि) को एक लिखत (लेखोट)मा मुक्तिबुङ,

३) वि. सं. २०४९ (२९ वर्षअघि) तिर प्रकाशित फेदाङ्मा रणधोज सिरेङको पुस्तक सुमसेम्बा याग्राङसिङ मुन्धुममा मुक्तिगोक्मा सेन्छिङगोक्मा,

४) वि. सं. २०५८ (२० वर्षअघि) तिर प्रकाशित किरात इतिहास पुस्तकको पृष्ठ ९२ मा मुक्तुकोक्मा थेगु,

५) वि. सं. २०६० (१८ वर्षअघि) तिर प्रकाशित तुम्याहाङ लक्ष्मण मेन्याङबोद्वारा संकलित याक्थुङ मुन्धुममा सेमुक्तु मुक्ति कोक्मा,

६) तावु–चा विशेषांक – २०६० को पृ. ३ मा असोक नेम्बाङद्वारा लिखित ख्यालीमा मुक्तुगोक थेगु,

७) वि. सं. २०६४ (१४ वर्षअघि) तिर प्रकाशित एवं मेहरमान लाबुङद्वारा संकलित तङसिङ मुन्धुमको पृ. ५१ मा सेमुक्तुगोरो मुक्तुगो चङ्धो,

८) वि. सं. २०६७ माघ ५ गते (११ वर्षअघि) प्रकाशित थाकथाकु माबोहाङ लाबुङ वंशावलीको पृ. १७८ मा सेमुक्तु मुक्तुगोमा,

९) वि. सं. २०७० मा प्रकाशित सिन्धोलुङ वनेम फागो वंशावलीको पृ. ८२८ मा मुक्तुगोक माङ्ङे,

१०) वि. सं. २०७५ मा प्रकाशित रणधोज सिरेङद्वारा संकलित याक्थुङ मेखिम फुङनावा साम्लो केही इतिहास विकास २०७५ पुस्तकको पृ. ३२ मा मुक्तिगोक्मारो सेन्छिगोक्मारो,

११) त्यस्तै विभिन्न व्यक्तिहरू, तुतु तुम्याहाङहरू र पेगिफाङसामहरूसँग लिइएका अन्तरवार्ताहरू (भिडियो रेकर्डहरू) मा धेरैजसो सेमुक्तु मुक्तिगोक्मा भनिएको पाइन्छ ।

१२) अन्य केही मुन्धुमहरूमा साङसिङ मुक्तु कोक्मा, सेङसिङ कोक्मा मुक्तुफोःमा, सेङसिङ कोक्मा साङ्सेरेप्मा आदि नामहरूले पनि पुकार्ने गरिन्छ ।

५.ताप्लेजुङ जिल्लाका थुमहरूमा सेमुक्तु मुक्ति कोक्माः

१) तम्मरखोला थुम – सेमुक्तुगो÷सेमुक्तु मुक्तुगोमा २) याङवरक थुम – मुक्तिफोमाङ/मुक्तिबुङ/सेमुक्तु मुक्ति कोक्मा ३) मैवाखोला थुम – मुक्तुगोक ४) मिक्वाखोला थुम – सेमुक्तु मुक्तुगोमा

६.स्थान (location):

ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङदेखि १९.४ कि. मी. पूर्वोत्तरतर्फ पर्ने सुकेटार, देउराली, भालुगाउँडे, सानोफेदी, ठूलोफेदी हुँदै जाँदा ३,७९४ मी. (१२,४४८ फिट) उचाईमा सेमुक्तु मुक्ति कोक्मा अवस्थित छ । इम्बिरी याङधाङवा (तम्मरखोला थुम) मा पर्ने फक्ताङलुङ गाउँपालिकाको लिङखिम, फुङलिङ नगरपालिका वडा नं. १० को फुरूम्बो, फुङलिङ नगरपालिका वडा नं. ११ को याङवरक थुममा पर्ने फावाखोलाका साथै याङवरक थुम, यभत्लुङफावामा पर्ने सिरिजङ्गा गाउँपालिका वडा नं. ३ को सिकैचा, त्यस्तै केहुक्सो कावामा पर्ने मामाङ्खे, याम्फुदिन, त्यस्तै पाथीभरा–याङवरक गाउँपालिकाको थेचम्बु र तिरिङ्गे आदि ठाउँहरूले उक्त सेमुक्तु मुक्ति कोक्मालाई भेट्दछ ।

७.सेमुक्तु मुक्ति कोक्मा संघर्ष समिति:

मौलिक प्राचिन नाम पहिचान सेमुक्तु मुक्ति कोक्मा भनेर नै निरन्तरता दिने उद्देश्यले मिति २०७७ असोज २५ (11 October 2020) ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ नगरमा सेमुक्तु मुक्ति कोक्मा संघर्ष समिति गठन भयो । ताप्लेजुङ जिल्ला, फक्ताङलुङ गाउँपालिका, वडा नं. ३, खेजेक्निम निवासी तुम्म्याहाङ एवं युमा साम्यो महासभा नेपालका केन्द्रीय सदस्य श्री राजेन्द्र अन्छङबोको संयोजकत्वमा उक्त संघर्ष समितिमा निम्न व्यक्तिहरू रहेका छन्– सेमुक्तु मुक्ति कोक्मा संघर्ष समितिमा आबद्ध व्यक्तिहरूको नाम र ठेगाना

संयोजकः राजेन्द्र अन्छङ्बो– खेजेक्निमसदस्यहरू

भवानी पालुङ्वा– फुङलिङ

हरिसुन्दर इङ्वासाम– खेजेक्निम

एस बी ताप्मादेन– ताप्पेथोक

आइतबहादुर अन्छङ्बो – खेजेक्निम

सानिता पालुङ्वा– फुङलिङ

पदम चेन्जी माबो – सिरिजंगा

बालकुमार फुरुम्बो – पाथीभरा–याङ्वरक

तारा बेघा– फुङलिङ

रन्जित चेन्जी माबो– सिरिजंगा

देउबहादुर सौदेन– सिरिजंगा

अम्बी सौदेन– सिरिजंगा

टेकबहादुर लिम्बु– फुङलिङ

बलमुखी काम्बाङ– खेजेक्निम

हेमबहादुर सबेनहाङ – खेजेक्निम

सहकुमार अन्छङ्बो – खेजेक्निम

पेली माबोहाङ– इखाबु

सुरेश इजम– पाथीभरा याङ्वरक

जापन इजम– पाथीभरा याङ्वरक

मनप्रसाद तुम्बाहाङ्फे – ताप्पेथोक

सन्देश ताप्मादेन– ताप्पेथोक

सन्दर्भ सामग्रीहरूः१) हड्सन पाण्डुलिपिको खण्ड ८६ को एक पत्र । सन् १८४६ ।

२) ईजम वंशसँग सम्बन्धित मौजा उल्लेख हुने एक लिखत (लेखोट) । वि. सं. १८४८ ।

३) सिरेङ फेदाङ्मा रणधोज । सुमसेम्बा याग्राङसिङ मुन्धुम । वि. सं. २०४९ ।

४) ताप्मादेन टिकमध्वज र पताङ्वा भुवनचन्द्र । किरात इतिहास । वि. सं. २०५८ । पृष्ठ ९२ ।

५) मेन्याङबो तुम्याहाङ लक्ष्मण । याक्थुङ मुन्धुम । वि. सं. २०६० ।

६) नेम्बाङ असोकद्वारा संकलित एक ख्याली । तावु–चा विशेषांक – २०६० को पृ. ३ ।

७) लाबुङ मेहरमान । तङसिङ मुन्धुम । वि. सं. २०६४ । पृ. ५१

८) थाकथाकु माबोहाङ लाबुङ वंशावली । वि. सं. २०६७ माघ ५ । पृ. १७८

९) सिन्धोलुङ फागो वनेम वंशावली । वि. सं. २०७० । पृ. ८२८

१०) सिरेङ फेदाङ्मा रणधोज । याक्थुङ मेखिम फुङनावा साम्लो केही इतिहास विकास । वि. सं. २०७५ । पृ. ३२