प्रेस विज्ञप्ति

999

युमा साम्यो महासभा नेपाल

१८ औं शताब्दीको उत्तराद्र्धमा सिरिजङ्गाको जन्म सिङ थेबे लिम्बू परिवारमा वर्तमान ताप्लेजुङ जिल्लाको सिनाम–तेल्लोकमा भएको थियो । स्थानीयका अनुसार सिरिजङ्गाको बाबु पारुजङ्गा र आमा पुःधाहाङ्मा थिए । नेपालबाटै डिजिटाइजेसन गरिएका ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरूमा ताप्लेजुङका फावाखोला र तम्मरखोला क्षेत्रमा सिरिजङ्गाले लेखेका लेखोटहरू प्रशस्तै पाइन थालेका छन् । लेखोटहरूमा याक्थुङ्बाहरू बीच संस्कार तथा लेनदेन कारोबार भएको भेटिन्छ । नेपालस्थित रेजिडेन्ट भएर आएका बृटिश विद्वान् ब्रायन हज्सनले काठमाडौं र दार्जिलिङमा सन् १८२० (वि. सं. १८७७)

देखि १८६८ (वि.सं.१९२५) सम्म रहँदा नेपाल र सिक्किमबाट सिरिजङ्गाले लेखेका लेखोटहरू सङ्कलन गरी भारतको इष्ट इण्डिया लाइब्रेरीमा बुझाएका थिए । बृटिशले भारत छोडेपछि उक्त लेखोटहरूलाई हाल लण्डनस्थित बृटिश लाइब्रेरीमा “हज्सन पाण्डुलिपि” को रूपमा सुरक्षित राखिएको छ । पाण्डुलिपिका खण्ड ८६, ८८ खण्डहरूमा सिरिजङ्गा आफैँले याक्थुङ्बाहरुको बीस व्यञ्जन सहितको भाषा–लिपि बनाएको भेटिन्छ । उति बेलाको याक्थुङ्बाहरूको मुन्धुम (सामाजिक इतिहास), परम्पराको टिपोट गरेको भेटिन्छ । पाण्डुलिपिकै खण्ड ७३ मा सिरिजङ्गाले याक्थुङ्बाहरूको भाषा–लिपि बनाएको देखेर भोटेहरूले उनको प्राण लिएको लेखिएको छ । सन् १९०८ (वि. सं. १९६५) मा सिक्किमका महाराजा थुतोब नामग्याल र महारानी येसे दोल्माले सङ्कलन गरेर प्रकाशनमा ल्याएको पुस्तक “हिस्ट्री अफ सिक्किम” को काजीहरूको वंशावली खण्डको पृष्ठ संख्या २२ अनुसार “सिरिजङ्गालाई टछाङ लामाहरूको विरुद्ध दाउपेज गरेको अभियोग लगाइयो । उनलाई रूखमा बाँधी धनुकाँडले हानेर खोलामा फालियो । यति गर्दा पनि उनको प्राण नगएपछि उनको मुखमा पन्छीको विष्टा कोचियो । उतिबेला नेपालमा प्रतापसिंह शाह राजा थिए ।” प्रतापसिंह शाहको राज्यकाललाई आधार मानेर नै सिरिजङ्गाको जन्म–मृत्युको तिथिमिति तय गर्न पर्ने देखिन्छ । उनै सिरिजङ्गाले बनाएको लिपिलाई याक्थुङ्बा लिम्बूहरूले सिरिजङ्गा लिपिको रुपमा प्रयोग गर्दै आइरहेका छन् । भारतको सिक्किममा लिम्बूहरुले सन् १९६७ (वि. सं. २०२४) देखि पाठ्यक्रमहरूमा सिरिजङ्गा लिपिको रूपमा प्रचलनमा ल्याए । नेपालमा पनि वि. सं. २०४७ यतादेखि सिरिजङ्गा लिपिमा याक्थुङ्बा लिम्बूभाषाको पठनपाठन भइरहेको छ । नेपाल सरकारले शहीद सिरिजङ्गाको ऐतिहासिक योगदानलाई कदर गर्दै वि. सं. २०४९ मा सिरिजङ्गाको तस्बिर–अङ्कित हुलाक टिकट चलाउँदै आएको छ ।

भर्खरै किरात याक्थुङ चुम्लुङ लगायत किरातजन्य संघसंस्थाहरू भनिएकाहरूबाट शहिद सिरिजङ्गाको त्याग र बलिदानले शुरूवात भएको सिरिजङगा लिपिलाई किरात सिरिजङ्गा लिपिका नाममा समायोजना तथा नामाकरण गर्ने भन्ने निर्णयप्रति याक्थुङ–लिम्बूहरूको घोर आपत्ति प्रकट गर्दै उक्त कदमको घोर भत्र्सना गर्दछौं । विभिन्न अभिलेख, लिखत तथा अभ्यासहरूमा सिरिजङ्गाको सम्मान गर्दै उनकै नामबाट लिपिको नाम राख्न उपयुक्त र सर्वस्विकार्य हुनेहुँदा यस नामको अघि–पछि कुनै फुर्का र शब्दावली आवश्यक नरहेको ठहर हुन्छ । लिपिका अन्वेषक, प्रचारक तथा प्रवद्र्धक शहिद सिरिजङ्गाको योगदानलाई उच्च कदर गर्दै उनले चलाएको लिपिलाई सिरिजङ्गा लिपि बाहेक अरू कुनै नामले नामाकरण गर्न अनुचित हुनुका साथै उनको शहादतको अपमान हुन जान्छ । यसका साथै “किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन” मा थपिएका स्वर र व्यञ्जन वर्णहरूप्रति असहमति जाहेर गर्दै उक्त अक्षरहरू लेखन तथा पठनपाठन प्रक्रियामा अनुपयुक्त मात्रै होइन, पूर्ण असान्दर्भिक रहेको ठहर गर्दछौं । यसरी सिरिजङ्गाले दिएको बलिदानीपूर्ण उच्च योगदानको मर्म र भावनाविपरीत राख्न लागिएको किरात सिरिजङ्गा नामाकरण अनुपयुक्त र असान्दर्भिक भएकाले यसलाई अपनत्व नलिन सम्बद्ध सबै पक्ष तथा समुदायलाई आव्हान गर्दछौं ।