धर्मको उत्पत्ति, पितृ/प्रकृति पूजा र लिम्बूको धर्म

752

याक्थुङ सा

आज भन्दा ४० हजार बर्ष अगाडि मध्यपुरा पाषणकालका आदिमानवहरूले मरेको आदिमानवलाई उसले प्रयोग गरेको वा चलाएको ढुङ्गे औजारहरू सहित गाड्ने चलन थियो । यसलाई मृतकको दाहसंस्कार भनिन्छ । प्रारम्भमा सम्पूर्ण मानव जातिमा यही मृतकको नाममा पूजा गर्दथे । कालान्तरमा यही मृतक पूजाबाट नै पितृ पूजा वा पूर्वज पूजाको थालनी भएको हो भन्ने मानवशास्त्रीय धारणा वा मान्यता छ । आत्मावद (animism) लाई जीवात्मावाद/ जीववाद पनि भनिन्छ र पितृ भनेका स्वार्गवासी पुर्खाहरू हुन् । शर्मा (२०३९), अनुसार आजसम्म धर्मका बिषयमा जति पनि वाद देखापरेका छन् तिनमा पूर्वज पूजाको भाव नै पहिले देखिन्छ । कारण हरेक मनुष्य आफ्नो पूर्वजहरूलाई आदारको दृष्टिले हेर्दछन् र तिनको पूजा गर्छन् । यिनै पुर्खाले कालान्तरमा गएर देवदेवीको रूप धारण गर्दछन् । मानवले पूर्वज पूजा गर्न जुन बाटो अपनाउँछ त्यै कुरा पछि गएर विधिबिधान/ कर्मकाण्ड (rituls) रूपमा खडा भएको देखिन्छ (यसलाई संस्कार भन्दा पनि कुनै फरक नहोला)। यै कुरा समस्त मानव जातिको बिषयमा लागु हुन्छ भन्न सकिन्छ । जीववादको अर्थ हो आत्मावादमा विश्वास । जीवित र मृतशरीरलाई देखेर मानवमा आत्माको बिचार उत्पन्न भयो । यस्तामा आत्मा रहेक हुन्छन्, अदृश्य हुन्छन् र तिनलाई हातले स्पर्श गरेर हेर्न सकिँदैन । यस्ता आत्मा पूर्वज, भुत, प्रेत, पिशाच र राक्षस आदि कुनै पनि रूपमा हुन् सक्छन् । हुन् सक्छ उनीहरू रूख- पात, पशुपंक्षी, ढुङ्गो-माटो जेसुकैमा पनि बसेका हुन्छन् र बस्छन् पनि । अत: त्यसैले हामी मानव जातिले यी प्राकृतिक बस्तुहरूलाई पूज्नु पर्ने मान्यता रहेको हो । यस बिषयमा हामी याक्थुङ लिम्बू जाति कुनै पनि हालतमा अछुतो भने छैनौं । त्यसैले हामी स-गर्वकासाथ पितृ तथा प्रकृति पूजक हौं भन्ने गर्दछौं । शर्मा (२०३९), का अनुसार जीववादीहरूका आत्माका सम्बन्धमा यस्तै बिचारहरूबाट नै धर्मको बिचार वा सिद्धान्त आयो । तर यसमा विचारणीय प्रश्न के छ भने उनीहरूका अनुसार धर्म र ईश्वरको बिषयमा अनेक ईश्वर तथा एकईश्वरको बिचार आउनुभन्दा पहिले नै सदात्मा र दुरात्माका बिषयमा पनि भेद् उत्पन्न भईसकेको हुनुपर्छ । जसरी मनुष्य असल र खराब दुवै हुन् सक्तछन् त्यसैगरी नै आत्माहरू पनि असल र खराब दुवै हुन् सक्तछन् । यस्तै गरी असल आत्मा र खराब आत्माको विचारबाट देवता र राक्षस अथवा भूत, प्रेतको विचार उत्पन्न भयो । धर्मको उत्पत्तिको सम्बन्धमा विकासवादीहरू पनि जीववादका समर्थक देखिन्छन् । खासमा यही नै हो धर्ममा जीववाद (आत्मावाद) को सिद्धान्त भनेको । इतिहासकारहरूका अनुसार वैदिककाल भनेको ईशा पूर्व १५०० सय बर्ष वा आजभन्दा ३५०० बर्ष अगाडि मात्र हो, जुन समयमा हिन्दु धर्मको ऋृगवेद्को रचना भएको हो भन्ने मान्यता छ । हो आजभन्दा २०/३० हजार बर्ष अगाडि नै मानव जातिले जीवन र मरणको अन्तर तथा धर्मकोबारेमा ज्ञान प्राप्त गरिसकेको कुरा माथीका तथ्यहरूबाट पुष्टि हुन्छ । त्यसैले मानवले पहिलो पल्ट अनुभव गरेको कुरा शरीर र आत्माको अन्तर नै हुन् सक्छ । यस्ता अनुभवको कुराहरू हिन्दुग्रन्थ ऋृगवेद् लगायत अन्य ग्रन्थहरूमा पनि उल्लेख भएको पाइन्छ । शर्मा (२०३९), का अनुसार आजको मानवले पनि धर्मलाई अनेकौं दृष्टिकोणबाट हेेरेको छ । जीववाद (आत्मावाद) का प्रबल समर्थक आचार्य टायलर भन्छन् ” सपना देखेको समय मानवले आफ्नो शरीर भन्दा बाहिर गएको अनुभव गर्दछ । संभवत: यसै अनुभवबाट मानवले शरीर र आत्मालई अलग अलग मानेको हुनुपर्छ । उसको सोचाई यहीं समाप्त भएन र उसले जसरी आफ्नो शरीर र आत्मालाई अलग देख्यो त्यसै प्रकार अर्काको शरीर र आत्मालाई पनि अन्तर पायो । त्यतिमात्र होइन उसले मृत्युपछि के हुन्छ ? त्यो पनि विचार गर्यो । प्राचिन मानवसमाजको धारणाअनुसार मृत्युपछिको उसको आत्मा जडजगतको कुनै बस्तुमा गएर बस्तछ । यसप्रकार जब शरीर र आत्माको अस्तित्व बेग्ला बेग्लै सोचिन् थाल्यो त्यसै समयदेखि धर्मको प्रादुर्भाव स्वत: भएर आयो । कारण शरीर आत्मालाई भिन्न बस्तु मान्नु नै धर्मको मूल स्रोत हो । मानव आत्मा जडपदार्थमा गएर बस्छ भन्ने विश्वास भएपछि त्यसको पूजा हुनु पनि स्वाभाविक कुरा हो । वास्तवमा भन्ने हो भने मानवले जडपदार्थको पूजा गर्दैन आपितु त्यसमा आरोपित गरिएको वा भएको आत्माको पूजा गर्दछ । यस्तो जडपदार्थमा निवास गर्ने मानवको कुनै पनि पूर्वज / पूर्खाको आत्मा बाहेक अरू कोही हुन् सक्दैन ।” आचार्य टायलरको उल्लेखित दृष्टिकोण वा सिद्धान्त हामी याक्थुङ् लिम्बू समुदायको धार्मिक मान्यताहरूमा अत्यन्तै मेल खान्छ । अझै पनि हामी याक्थुङ लिम्बू समुदायमा सपनाको अत्यन्तै महत्व रहेको छ । तागेरा निङ्वाफुमा (परमात्मा)सँग हरेकले बिभिन्न बर बरदानहरू माग्न जाँदा सपनामा के देखिन्छ सोही मुताबिक क्रियाकलापहरू गर्नु पर्ने हाम्रो मुन्धुमहरूमा बर्णित छ । याक्थुङ् लिम्बू समुदायमा बिभिन्न ब्याबहारिक जीवनमा कुनै पनि कामकाजहरू गर्दा सपना कै आधारमा शुभ अशुभ छुट्टयाउने प्रचलन अझैपनि यथावत छ । यहानिर हामीले बुझ्नुपर्ने गाठी कुरा के छ भने शर्मा (२०३९), का अनुसार जीववाद (आत्मावाद) पूर्वज पूजापितृ पूजाको अर्को रूप हो । यसरी पूर्वज पूजाको थालनी माथी उल्लेख भएअनुसार आज भन्दा ४० हजार बर्ष अगाडि मध्यपुरा पाषणकालदेखि सुरू भएको हो भन्ने उल्लेख गरिसकिएको छ । अत: यस्तै आत्माको पूजाबाट धर्मको उत्पत्ति भएको पाइन्छ । आत्मा एक होइन अनेक हुन सक्दछ । उसको आत्मा र मेरो आत्मा अथवा यहाँको आत्मा र उहाँको आत्मा भन्नु नै अनेक आत्माको विचार हो । मानिस सुतेको समयमा सपना देख्छ । सपनामा शरीरभन्दा बाहिर गएर मानिसको आत्माले अनेक कामहरू गर्दछ । त्यस समय उसको आत्मा शरीरभन्दा बाहिर नगई कुनै काम गर्नै सक्दैन । तर यसरी आत्मा शरीर बाहिर गएको समय उसको शरीर मृतअवस्थामा हुँदैन । किनभने शरीरमा पनि अर्को आत्मा बसेको हुन्छ । यसबाट यो सिद्ध भयो कि शरीरमा एउटा आत्मा बसेको हुन्छ र फेरी अर्को एउटा आत्मा बाहिर गएर स्वप्नलोकमा काम गर्दछ । यसै धारणाले गर्दा दुई आत्माको कल्पना आयो । शर्मा (२०३९), का अनुसार मानिस संसारमा एक होइन अनेक हुन्छन् । अनेक मानिसका अनेक आत्मा हुन्छन् । हाम्रा उत्तरी भेकका जनताहरूमा पनि बहु आत्मा हुने कुरामा विश्वास गर्दछन् । यस्तो भावना औतारीलामाहरूका बिषयमा पाइन्छ । औतारीलामाले अर्को ठाउँमा अवतार नलिएसम्म उसको शरीरलाई यथावत राखिन्छ र अन्तिम संस्कार गरिँदैन । त्यसकारण यहाँ दुई प्रकारको संस्कार पाइन्छ । लामाको मृत्यु हुनासाथ एउटा संस्कार र औतार लिएपछि अर्को संस्कार गरिन्छ । यस्तो अनेक आत्माको भावना अनेक जनजातिहरूमा पाउन सकिन्छ । आचार्य टायलर कै अनुसार पनि दुई प्रकारका आत्माहरू देखिए ।एउटा स्वतन्त्र आत्मा जो शरीर छोडेर जताततै जान सक्दछ र अर्को ‘शरीर आत्मा’ जो शरीर छोडेर बाहिर जान सक्दैन र यसै आत्माको कारणले गर्दा शरीर जीवित हुन्छ । यदी यसले छोडेर गए अथवा गयो भने शरीर मृत हुन्छ । शरीरबाट ‘स्वतन्त्र आत्मा’ मात्र बाहिर गएको हो अथवा ‘शरीर आत्मा’ पनि गएको हो यो कुरा छुट्टयाउन मानवलाई कठिन पर्यो । जसलाई मृत भनियो त्यो निद्राको अवस्था पनि हुन् सक्छ । यस शंकाको निवारणको लागि अनेक समाजमा दुई प्रकारका मृतक संस्कारहरू पाइन्छ । यस्तै धारणाबाट औतारीलामाहरूको दुई संस्कार गरिएको हो । यस्तो दुई प्रकारको संस्कार उत्तरी क्षेत्रका औतारीलामाहरूमा मात्र होइन अन्यत्र पनि पाइन्छ । हाम्रो दक्षिणी छिमेकी राष्ट्रको टोडा’ र ‘हो’ नामक जनजातिमा पनि यस्तै दुई प्रकारको संस्कार गरिन्छ । एक प्रकारको संस्कारलाई आलो संस्कार र अर्को संस्कारलाई शुष्क संस्कार भनिन्छ । आलो संस्कार मृत्यु हुनसाथ गरिन्छ र शुष्क संस्कार पछि गरिन्छ । यिनीहरू आलो संस्कारलाई आफ्नो भाषामा ‘दसपाउ’ र शुष्क संस्कारलाई ‘जंगपोता’ भन्दछन् । यस्तै विश्वासको आधारमा दुई आत्माको विचार उत्पन्न भयो र यस्तै अनेक आत्माको भावनाबाट बहुदेवतावादको सृष्टि भयो । यिनै मध्ये कुनै एकको पूजा गर्ने प्रचलन हुँदा एकदेवतावाद आयो । त्यसरी नै सबैमा एकै प्रकारको भावना राखेर तिनमा एउटाको पूजा गर्ने प्रचलनले अनेकदेवतावादको सृष्टि भयो । त्यसैले विद्धवानहरू बहुदेववादबाट एकदेववादको सृष्टि भएको हाम्रा विद्धवानहरू मान्दछन् ।

**अन्त्यमा: **

माथी उल्लेखित तथ्यहरूको अध्ययनबाट के प्रष्ट हुन्छ भने संस्कार संस्कृतिसँगै धर्मको पनि उत्पत्ति भएको रहेछ । संस्कार, विधिविधान वा कर्मकाण्डबिनाको कुनै पनि धार्मिक संस्कार हुँदैन । संस्कार संस्कृति र धर्म एक सिक्काका दुई पाटा हुन् जस्तो देखिन्छ । त्यसैले याक्थुङ् लिम्बू समुदायले धर्म मान्दैन संस्कार संस्कृति मात्र मान्छ भन्नु अकडो कुरा मात्रै हो । जातीय धर्म भनेकै संस्कार संस्कृति नै मात्र हो । त्यसैले हामी याक्थुङ् लिम्बूले मान्ने धर्म जातीय धर्म हो भनेर जोड दिएको हो । हुन् त याक्थुङ् लिम्बू समुदाय धर्म नै नमान्ने नास्तिक हुन् भनेर जो कसैले पनि नपत्याउने कुरा हो । नास्तिक पनि एक प्रकारको धर्म नै हो । बुद्ध नास्तिक थिए तर पछि गएर बुद्धको मत बुद्ध धर्मको रूपमा स्थापित भयो । त्यसैले संस्कार संस्कृति पहिले उत्पत्ति भयो र धर्म मानिसले पछि मात्र सृजना गरे भन्ने भनाई गलत हो । हुन् सक्छ हालका ठुला धर्म हुन् भनिएका धर्महरूपछि मात्र मानिसहरूले सृजना गरेका हुन् सक्छ जस्तै:- हिन्दु धर्म ३५०० बर्ष अगाडि, बौद्ध धर्म २५०० बर्ष अगाडि, इसाई धर्म २००० बर्ष अगाडि र मुस्लिम धर्म १२००/१३०० बर्ष अगाडि यि धर्महरू उक्त समयमा संस्थागत गरिएका हुन् । यसै तथ्यलाई आधार मानेर हाम्रा विद्धवान मित्रहरूले धर्म त पछि मात्र मानिसहरूले बनाएका हुन् भन्ने तर्क पेश गरेका हुन् । तर यथार्थ त्यो होइन । पहिला नै धर्म थियो र परिपालन पनि गरिन्थ्यो तर धर्मलाई मानिसले संस्थागत रूप दिन सकेका थिएनन् । यि तीन चारओटा संस्थागत गरिएका धार्मिक समूहहरूलाई मात्र धर्म भनेर देख्नु नै गल्ति हो ।

प्राचिनसमयदेखि नै संसारमा बिभिन्न प्रकारका वा बिभिन्न किसिमका धर्महरू अस्तित्व रहेको देखिन्छ जस्तै:- बहुईश्वरवाद, एकईश्वरवाद, अनिश्वरवाद र जातीय धर्म । हिन्दु धर्मलाई बहुईश्वरवादी धर्मको रूपमा लिन सकिन्छ । एकईश्वरवादी धर्महरू इसाई धर्म र मुस्लिम धर्म हुन् । नास्तिक वा अनिईश्वादी धर्मकोरूपमा बौद्ध धर्म र अन्यकेही धर्महरू रहेका छन् । जातीय/आदिवासी (इथिनिक रिलिजन) को रूपमा अझै पनि थुप्रै धर्महरू संसारमा अस्तित्वमा छन् जस्तै:- शिख जातिले मात्र मान्ने धर्म शिख धर्म, यहुदी जातिको धर्म जुडाइजम्, पर्सियन तथा फारसिहरूको धर्म जुराष्टन, खस जातिको धर्म मष्टो, लिम्बू जातिले हाम्रो धर्म युमा धर्म नै हो भन्दैछन्। त्यस्तै चिन जापान लगायतका विश्वभरीका मुलुकहरूमा यस्ता जातीय धर्म (इथिनिक रिलिजन) हरू थुप्रै अस्तित्वमा रहेको पाइन्छ । अर्को कुरा जातीय धर्मको प्रमुख बिशेषता भनेको नै त्यै जातिको संस्कार संस्कृतिमा आधारित धर्म हो । संसारमा जुन जुन जातिको आ- आफ्नै प्रकारको

संस्कार संस्कृति छ भने ति जातीय समुदायको धर्म जातीय धर्म नै हो । जुन संस्कार संस्कृति एक अर्कामा पटक्कै मेल खाँदैन । जातीय धर्मको नामाकरण हुनु बेग्लै बिषय हो तर बिभिन्न प्रकारको संस्कार संस्कृति भएका जातिलाई एक मुष्टमा राखेर किरात धर्म भन्नु पटक्कै मेल नखाने कुरा हो । बिभिन्न धार्मिक मुल्यमान्यता र धार्मिक दर्शन अनुसार गलत काम हो । याक्थुङ लिम्बूको धर्म भनेको याक्थुङ लिम्बूको संस्कार संस्कृतिमा आधारित धर्म हो । याक्थुङ् लिम्बूको संस्कार संस्कृति अन्य जातिसँग पटक्कै मेल खाँदैन । जव कि याक्थुङ् लिम्बूको नजिकको जाति भनेको राई जाति होे । राईसँग याक्थुङ लिम्बू समुदायको कुनै पनि संस्कार संस्कृति मेल खाँदैन भने राई र याक्थुङ् लिम्बूको एउटै धर्म कसरी हुन सक्छ ? जवरजस्ती गरेर यो हुने कुरा होइन…नोगेन…।।।

सन्दर्भ ग्रन्थ

१. शर्मा, जनकलाल, (बि. स.२०३९),