इम्बिरी याङ्थाङ्वा याक्थुङ सभ्यता

594

 याक्थुङ सा

हामी याक्थुङ लिम्बू समुदायमा हामी याक्थुङ लिम्बूहरू किरात हौं र हाम्रो सभ्यता किरात हो भन्ने भ्रम पालेर बसेका छौं । यथार्थमा किरात सभ्यता हो भन्नु नै गलत हो । खासमा सभ्यता भनेको कुनै पनि जाति वा राष्ट्रको सामाजिक, भौतिक वा आध्यात्मिक उन्नती वा प्रगतिको प्रतिबिम्ब नै यथार्थमा सभ्यता हो । याक्थुङ लिम्बू समुदाय भनेको यो भूमिको प्रागऐतिहासिक कालदेखि कै मुल निवासी हो वा यहाँका रैथाने समुदाय हुन् । यहाँनिर हामीले बुझ्नु पर्ने बिषय के छ भने, यदी याक्थुङ लिम्बूलाई किरात जाति भनियो वा याक्थुङ लिम्बू समुदायको सभ्यता किरात सभ्यता भनियो भने यहाँको रैथाने नभएर आगन्तुक वा घुमन्ते फिरन्ते जाति हुन्छ । हामी याक्थुङ लिम्बू समुदायले नवपाषणकाल (नविन ढुङ्गे युग) देखि नै तमोर उपत्यकामा स्थायी बसोबास गरेको प्रमाणहरू अझै पनि रहेका छन् । कृषि युगको आरम्भ यानेकि सावा येत्हाङकालमा हाम्रा याक्थुङ लिम्बू समुदायका आदिम पुर्खाहरूले स्थायी बसोबासको लागि प्रथम वा पहिलो घर निर्माण गरेको स्थल ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका वडा नं. ४ इखाबुको ‘लोक्फादेन् हाङफादेन्’ भन्ने स्थान जहाँ हाम्रा पुर्खाहरूले प्रथम पटक बस्नको लागि ‘चुङ्गुति र आङ्गुतिहरू (मुन्धुमा यि नामहरू अर्कै पनि पुकार्ने गरिन्छ) ले’ घर निर्माण गरेका थिए । यो घर नै इम्बिरी याङथाङवा याक्थुङ सभ्यताको पहिलो घर भएको मान्ने हाम्रो याक्थुङ लिम्बू समुदायको मुन्धुमी मान्यता रहेको पाइन्छ ।

अर्को तर्फ सभ्यता भनेको कुनै पनि जाति तथा राष्ट्रको भाषा, लिपि, साहित्य, इतिहास तथा कलाको विकास हुनु पनि सभ्यता हो । किरात भाष्यकारहरूले कसरी किरात सभ्यता भन्नु पुगे यो कुरा नै अचम्म लाग्दो छ, तथापि समग्र किरात समुदायको कुनै एउटा साझा भाषा नै छैन । यसमा पनि लिम्बूले राईको भाषा बुझ्दैन स्वयंम राईले राईको भाषा नै बुझ्दैन वा किरात समुदाय भित्र एकले अर्काको भाषा नै बुझ्दैन भने कसरी किरात भनिने सभ्यताको निर्माण भयो होला ? त्यसै कल्पनामा बहकिएर किरात सभ्यता भन्दा त्यो भनाई अर्थपूर्ण हुन्छ ? सभ्यताको ठोस तथा पुरातात्विक प्रमाणहरू हुनु पर्दैन ? त्यसरी भन्ने हो भने नेदरल्याण्ड निवासी मानवशास्त्री तथा भाषाविद् डा. जर्ज भ्यानड्रिमका अनुसार याक्थुङ लिम्बू समुदायको भाषाको विकास आजभन्दा ५ हजार बर्ष पुरानो भएको उहाँको अनुसन्धानले प्रमाणित गरिसकेको बिषय हो । त्यसैले यो हाम्रो सभ्यतालाई किरात सभ्यता मान्ने कि इम्बिरी याङथाङ्वा याक्थुङ सभ्यता मान्ने ? यो ५ हजार बर्ष भनेको यलम्बर नेपाल खाल्डोमा प्रवेश गर्नु भन्दा धेरै अगाडिको समय हो । नेपालका इतिहासकारहरूका अनुसार हो भने यलम्बर नेपाल खाल्डोमा प्रवेश गरेको ई. पू. १००० तिर हो भन्ने छ अझै इमानसिं चेम्जोङका अनुसार त ई. पू. ८०० तिर भारत पाटकपताञ्जलीबाट नेपाल खाल्डोमा प्रवेश गरेको किरात इतिहासमा उल्लेख गरेको पाइन्छ । त्यसैले भाषिक हिसाबले पनि हामी याक्थुङ लिम्बूको सभ्यता किरात सभ्यता होइन । हिन्दु आर्य ब्राह्मण फिरिङ्गीहरूले उनीहरूको सभ्यता बिपरितका हामी अनार्यहरूलाई हेपेर घृणा गरेर तथा अवहेलना गरेर हामी किरात असभ्य जङ्गली वनवासी जाति भन्नु हाम्रो सभ्यतालाई किरात सभ्यता भन्नु त्यो बेग्लै बिषय हो । त्यो उसको भाष्य हो । सुँगाले गोपी कृष्ण काउ भन्न सिकाएर गोपी कृष्ण काउ भने जस्तै हामीले पनि किरात सभ्यता भन्नु हुँदैन । हाम्रो आफ्नै विकसित सभ्यता छ । जसलाई इम्बिरी याङ्थाङ्वा याक्थुङ सभ्यता भनिन्छ । यहीबाट हाम्रो सभ्यता विकसित भएको थुप्रै प्रमाणहरू अझै पनि जिवित छन् ।

तमोर उपत्यका इम्बिरी याङ्थाङवा याक्थुङ सभ्यताको केन्द्रविन्दु हो । यही तमोर उपत्यकाबाट नै हामी याक्थुङ लिम्बू समुदायका आदिम पुर्खाहरूले घर बनाएर बस्न सिके, खेतीपाती गर्न सिके, तानबुनेर लुगा लगाउन सिके, विभिन्न देउदेवताको पूजाआजा गर्न सिके, विभिन्न संस्कार संस्कृतिको सुरूआत यही स्थानबाट सुरू गरे । याक्थुङ लिम्बू समुदायको सावा येत्हाङकालदेखि नै विभिन्न संस्कार संस्कृतिहरूको सुरू भएको कुरा हाम्रो याक्थुङ मुन्धुममा पाइन्छ । हाल ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाको इखाबु, लेलेप, हेल्लोक, तापेथोक, खेजेकनिम तथा लिङखिम लगायतका गाउँहरूमा इम्बिरी याङथाङवा याक्थुङ सभ्यताका ठोस पुरातात्विक प्रमाणहरू पाउने गरिन्छ । मुन्धुमीकालका सावा येत्हाङ गाउँ (सावा येत्हाङ पाङ्फे) हरू पनि यिनीहरू नै हुन् । यि स्थानहरू याक्थुङ मुन्धुममा सर्वत्र वर्णनमा आउछ । अतः मानवशास्त्रीय मान्यता वा तथ्यका अनुसार पनि मानव जातिको बस्नको लागि उपयुक्त स्थल उच्च पाहाडी/हिमाली क्षेत्र उपयुक्त भएको हुदाँ हाम्रा आदिम पुर्खा होमो सेम्पियन्सको रोजाईमा परेको हुनुपर्ने अनुमान गर्न सकिन्छ । यही आदिम मानव होमो सेम्पियन्स नै याक्थुङ लिम्बू समुदायको आदिम पुर्खा र याक्थुङ लिम्बू समुदाय उनकै सन्तान हुनेमा कुनै दुईमत छैन …।।।

सेवारो