लेखोट नं १
लिप्यन्तरणः
ओम
१९९७। १०।१७ ।७। श्री ५ त्रीभु वीक्रां…साह
याङक्र ताक्वा वदो
फाल्गुनन्दरे थिबोङ सात्ते सा का
क् नु लाधुङ सेमे ताक्वा मेधुङः
मे पोक्मा देन् मेधुङ : मे : मे :
फे प आङ नाम ङ् सेसिङ तङल
सेवा मेजोगु रो ।।
अनुवादः
ओम
१९९७। १०।१७ ।७। श्री ५ त्रीभु वीक्रां…साह
याङवारकको तावा दोभान
फाल्गुनन्दले दशलिम्बूका सत्येहाङमाहरूसँग
होम येज्ञादी
अग्नीदेव उठाउँदै
सूर्यदेवको भक्तिका लागि
पुकार गरे है ।
माथिका लेखोट ताप्लेजुङ जिल्लाको कावेली/काङ्वाखोला र तावा/ताक्वाखोलाको दोभानमा अवस्थित ओढारमा महागुरु फाल्गुनन्दले आफ्ना चेलाभुलासहित सिरिजङ्गा लिपिमा शिलालेख खोपेका हुन् । लेखोटमा फाल्गुनन्दले आफ्ना हुक्के/चेलाहरूका साथ राजा त्रिभुवनका पालामा संवत १९९७।१०।१७।०७ मा याङ्वारकको तावा दोभानमा लाःधुङ सेमि/होम येज्ञादी गरेको लेखिएको छ । लेखोटको लिप्यन्तरण प्राज्ञ अमर तुम्याङज्युसँग गरिएको हो ।
केही लिङ्कहरूमा फाल्गुनन्दका चेलाहरूले लेखेका पत्र, मुन्धुमहरू डिजिटाइजेसन गरेको भेटिन्छ । यहाँ केही लेखोटहरू प्रस्तुत गरिएको छ ।
लेखोट नं २
लिप्यन्तरणः
………
स्वस्तीश्री इम्बुङका गुरुका साख सिक्चे लाजविगै हुके बद्रिनन्द भक्तिको कोटी कोटी दण्डवत् छ । इ प्रति यहाँका हाल सबै बढिया छ ताहाँरूका दिलमा पनि सदा सर्वदा शान्तै हुनुपर्छ यो आउँदो फाल्गुण २० गतेमा भारि भूकम्प छ । तेसमा सबैले होसियार गर्नु गारो घरमा नबस्नु भन्या आय विवेक हुंदा यो पत्र लेखि तपाईंहरूमा लेखि पठाएका छु । कापि वारमा ति भुकम्प हुन्छ भन्या छिपा आयो भन्छ तापनि हात परेको छैन अर्थात…… ……………………………………….सुनाइदिनु ।
लेखोट नं २.१
लिप्यन्तरणः
होला ज्यादा काहाँतक लेखुं कलीको कंते समाई इति संवत १९९२ साल फाल्गुन १४ गते ४ सुभम ।
तागेरा निङवाभुमामाङ
तागेरा निङनिवाभुमाङे सोमाङ केमाङ सेवारो सिक्कुम निङवा पेगे ना सांगु सक्मा सेदेमा …
ओम तागेरा निङवा……
सुन्दर लिम्बू नेमहाङ
रन्धोज लिम्बू
कन केसाप्पा बद्रीनन्दरो
क?यो केसाप्पा पानथर लाजीरो
सुन्दर सुन्दर
यी माथिका काँचो कागजमा लेखिएका लेखोटहरूमा फाल्गुनन्दका हुक्के/चेलाहरू पाँचथर इम्बुङका रन्धोज लिम्बू नेम्बाङ उनका छोरा सुन्दरलाल र पाँचथर चोक्मागुकै बद्रिनन्द तुम्बापोले तयार गरिएको देखिन्छ । अघिल्लो हरफमा रन्धोज लिम्बूले चोक्मागुका बद्रिनन्द तुम्बापोलाई भुइँचालो जाने भविष्यावाणी गर्दै आफ्ना चेलाभुलाहरूलाई भुइँचालोबाट बच्न आफ्ना चेलाहरूलाई साल, संवत्सहित पत्राचार गरेका छन् ।
पछिल्लो हरफ सिरिजङ्गा लिपिमा लिम्बू भाषामा तागेरा निङ्वाफुमाङको पुकार लेखिएको छ । र, यी लेखोट तयार गर्नेहरू पाँचथर बद्रिनन्द, रन्धोज लिम्बू र सुन्दरलाल लिम्बू नेम्बाङ भनेर लेखिएको छ । लेखोटमा अंग्रजी वाक्यहरू पनि भेटिन्छन् । पाँचथर चोकमागुका बद्रिनन्दको जन्म वि.सं १९६४।०२।०८ मा र मृत्यु २०२७।०१।२७ मा भएको थियो ।
रन्धोज लिम्बूकाे जन्म १९७४।०९।१९ भएको थियो । उनको मृत्यु २०१८।०८।२१ मा भएको थियो । रन्धोज लिम्बूले सत्येहाङ्मा सम्बन्धी प्रशस्तै पुस्तकहरू प्रकाशनमा ल्याएको पाइन्छ । वास्तवमा मुन्धुमलाई हिन्दू शास्त्रमा ढाल्ने रन्धोज नै थिए । सुन्दरलाल लिम्बू नेम्बाङ रन्धोजका छोरा थिए । यिनी अंग्रेजी लेख्न सक्ने देखिन्छन् । उनको मृत्यु करिब २० देखि २२ वर्ष बीचमा भएको अनुमान गरिएको थियो । यी दुई फाल्गुनन्दको सत्येमाङ/हाङ्मा पन्थका मुख्य अभियन्ता थिए ।
सत्येहाङ्मा पन्थका संस्थापक फाल्गुनन्दका बारेमा रेक्स एल जोन्स र सार्लि कुर्जले १९७६ ई. (वि.सं २०३३) मा प्रकाशन गरेको पुस्तक द हिमालयन विमेन– म स्टडी अफ लिम्बू विमेन इन म्यारिज एण्ड डिभोर्स मा यस्तो लेखिएको छ : १९३० ई. .(वि. सं १९८७) मा एकजना भूतपूर्व गुर्खा सैनिकले आफूलाई लिम्बूजातिको मूल देवताको अवतार फाल्गुनन्द नामकरण गरे । उनले पाँचसय जना चेला बनाएर लिम्बू भाषा मात्र बोल्न पर्ने, परम्परागत लिम्बू संस्कार/संस्कृति मान्नु पर्ने र लिम्बुको गुमेका किपटीया अधिकारको पुनः स्थापना हुनुपर्ने भनेर अभियान चलाए । उनले आफ्नो समूहलाई सत्यकी रानी सत्यहाङमा भनेर चिनाए ।
पुस्तकमा फाल्गुनन्दले लिम्बूका वैवाहिक संस्कारहरूमा सोतखाने सुनौली–रुपौली, विधुवा विवाह र सम्बन्ध विच्छेदजस्ता संस्कारहरूलाई सुदृढ गर्नुपर्ने भनेर लेखिएको छ । फाल्गुनन्दले आफ्ना चेलाहरूलाई हिन्दु मूल्य–मान्यता अँगाल्न दबाब नै दिएको भनेर किटानका साथ थप पुस्तकमा चर्चा गरिएको छ । जोन्सद्वयले भन्न खोजेका छन् कि राजनीतिक रूपमा लिम्बूका किपटीया अधिकार गुम्न नदिने र संस्कारमा जाँडपानी, मदमांस त्याग्नुपर्ने, सोत खान छोड्नु पर्ने र हिन्दू मान्यता अँगाल्नपर्नेजस्ता फाल्गुनन्दको अभियानलाई लिम्बू समाजमा परिवर्तनको रूपमा लिइयो । वास्तवमा फाल्गुनन्दले लिम्बूहरूलाई एकातिर किपटका अधिकारका बारेमा वकालत गरेर लिम्बूहरूलाई जुटाएका/उकासेका थिए भने अर्कोतिर संपूर्ण लिम्बूहरूलाई हिन्दू बनाउने अभियानमा जुटेका थिए । परिणाम पनि त्यस्तै भयो किपट पुःन स्थपना हुन सकेन भने धेरै लिम्बूहरूले आफ्ना मुन्धुम संस्कारमा हिन्दू मूल्य–मान्यता घुसाए ।
फाल्गुनन्दका चेलाहरू बद्रिनन्द तुम्बापो र रन्धोज नेम्बाङले ब्रम्हाण्ड उत्पत्तिसम्बन्धी लेखेका मुन्धुमका लेखोटहरू हेरौंँ:
लेखोट नं ३
लिप्यन्तरणः
ओम सत्तेमाङला ग पोक्मा सेवारो । तागेरानिङ्वाफुमाङ माङलाक् निसा पोक्मा सेवारो । ओम साः माङवालिङे थाकथाकुम लिङदेनहाङमा माङ लाक् निसा पोगे पोक्मा माङ सेवारो । सप्मादिङ कुमाङहाङमा माङलाक् निसा पोक्मा माङ सेवारो । खिबुगेन लिङमाङहाङमा माङ निसा पोक्मा माङ सेवारो । थक्लेगेन साम्माङहाङमा निसा पोक्मा माङ सेवारो । नामधुङधाङ नामलाक् निसा पोकमा माङ सेवारो । लाःधुङधाङ लाराकहाङमालाक निसा पोक्मा सेवारो । मिधुङधाङ मिराक माङलाङ निसा पोक्मा माङ सेवा रो । माङधुङधाङ माङलाक निसा पोक्मा माङ सेवारो ।
अनुवादः
यो लेखोटमा परम सत्यदेव, सर्वव्यापी, सर्वशक्तिमान तागेरा निङ्वाफुमाङदेव प्रकट हुनुभएको पुकार गरिएको छ । निङ्वाफुमाङकै अवतारको रूपमा लिङदेनहाङ्मालाई देवतुल्य मानिएको छ । उनलाई प्रणाम गरिएको छ । उनलाई तागेरा निङ्वाफुमाङको सूर्यको किरण, चन्दक्रो ज्योति, अग्निको ज्वाला जस्तै दिव्य स्वरुप भएको मानिएको छ ।
यो लेखोटमा लिम्बूजातिका सर्वशक्तिमान देवता तागेरा निङेवाफुमाङदेखि एकैचोटि लिङदेनहाङमाको नाम लेखिएको छ । फाल्गुनन्द लिङदेन थरीका लिम्बू हुन् । लिम्बूजातिको मुन्धुमअनुसार ब्रम्हाण्ड निर्माणमा मात्र सयौँ देऊदेउताका नाम आउँछन् । तर, सत्येहाङमाहरूले मुन्धुम लेख्दा ती सम्पूर्ण देऊदेउताका नाम छुटाएका छन् । हिजोका देऊ–देउता भनेका पुर्खा हुन् । यसरी सत्येहाङमाहरूले आफ्ना पुर्खा र लिम्बूहरूको सम्बन्ध छुटाउँदै लगेको देखिन्छ ।
लेखोट नं ४
लिप्यन्तरणः
……………………………………………………………………………………………………………………..
थाकथाकुम लिङदेनहाङमा चिलिनाराहाङमा फाल्गुनन्द सत्तेमाङहाङमा आदाङमे सेवारो । ओम माङ आमाङ एमाङ । आमाङ चोतमाङे ..
आचइतमाङ आपेसाप्मामाङे मामाङ पाइगे आफक्तुङ माङे । माइगे आनुवुनमाङे । मुअन्धा थेअन्धा नाराहाङमा मुसुन्ने खेसुन्ने लिक्लुम यो । माइगे ने मामाङ हाङला केयेमसिङआङ…ओम …
अनुवादः
….पुस्तौँ पुस्तामा देखिएका दिव्यज्योतीरूपि अनुहार भएका शाश्वत् सत्यदेव फाल्गुनन्द लिङदेनलाई प्रणाम छ । सृष्टिकर्ता † भाग्यविधाता † पूजनीय/पितृतुल्यदेव † मातृतुल्यदेव † सृष्टि गर्नलाई शून्यतामा प्रकट भएका थियौँ । ……
यो माथिको लेखोटमा फाल्गुनन्द लिङ्देनलाई लिम्बूका देऊदेउताको स्थान दिइएको छ । फाल्गुनन्द पश्चात उनका चेलाहरूले फाल्गुनन्दलाई देवता बनाउनमा हिन्दू धर्मको विस्तार गर्नलाई नै थियो । किनकि, फाल्गुनन्द फलामसिं लिङदेन लिम्बू थिए । लिम्बूलाई देवता बनाउँदा हिन्दू धर्मको विस्तार गर्न सजिलो भयो ।
त्यस्तै अर्को सत्येहाङ्माहरूले लेखेको लेखोट हेरौँ :
लेखोट नं ५
लिप्यन्तरणः
…….योगुकुजङ सिमा किमा होप्लो । पोबुगेन सायोक् इनोगेन तुख्खे होप्मा युक्फुङ कन्निन । सायेमभुहाङ युक्फुङ ग कत्ना आबुसेत्मेन्लाम्मा युक्मु नावा मेन्इि युक्फुङलो लामेन्था नामेन्था खा मेन्तामा यु …
युक्फुङलो । यो सम्भुहाङ । फक्तुङथो लिङफुङ केलिङेरो । नामइन्थे लाइन्थे ताक्तेआङ । कत्ना वजिकेन लाङथोक आगेरेछिरो । वजिकेन लाङथोक थोकिसङेओ । था………..
अनुवादः
मरण चोलापछि डराउनु छैन । दुःख पनि हुन्न । पितृ स्वयम्भूको ठाउँ त जुन, घाम नलाग्ने, उज्यालो छेलिने पवित्र …
ठाउँ हाे । सम्भुहाङको अंगालो/काखमा पुग्यौँ है । यहाँबाट जान आउन….
यो लेखोटमा सत्येहाङमाका देवारी सेवासाबाहरूले सबै लिम्बूका पितृ/थवासाम एउटै मान्ने गरी काठमाडौंका स्वयम्भू देवतालाई लेखेका छन् । लिम्बूका पितृहरू थर र थुम/सेबा पिच्छे फरक हुन्छन् । जस्तो तमोरखोलाको सावादेन लिम्बूहरूले सातो पुर्याउने/सामसामा संस्कार गर्दा पित्मिरि यङसरङ पाङ्भे भन्ने ठाउँमा पुगेर पितृ बोलाउँदा पधुम्बा, ताङभेपा, तेनुबा भनेर बोलाएर सातो जिम्मा लगाउँछन् । सावादेनभित्रको पुङ्लाइङले मात्रै पनि लाभाक र नामभाकलाई बोलाउँछन् । त्यस्तै साङ्लाइङले सुभासङ र महरेसङलाई बोलाउँछन् । सत्येहाङमाहरूले सबै लिम्बूका एउटै पितृ स्वयेम्भुहाङ बनाएर भ्रम छरेका छन् । ताकि लिम्बूले आफ्ना पुर्खा बिर्सिउन् । आदिम थातथलोहरू बिर्सिउन् ।
लिम्बूका देवारी साम्बा/येबा/येमाले लिङ्गो येगेसिङ/पेगेसिङ गाड्छन् । लिङ्गोमा तेर्सो च्याब्रुङ बाँधिन्छ । त्यसमाथि बेतको थुम्से झुण्डाइन्छ । घुङरिङ, काउलो, फच्याङका स्याउलीहरू बाँधिन्छन । कुनै पनि सामग्रीहरू राखिनमा/बन्नमा कुनै न कुनै घटना/मुन्धुम जोडिएको हुन्छ ।
देवारीहरूले लगाउने येसामा, कल्की/असाङ, घण्टी/किरिङ पङ्गे, पटुका/पाङफइ बजाउने थाल/चेत्थ्याको पनि मुन्धुम नै हुन्छ । देवारीहरूले मुन्धुमभन्दा लिङ्गो गाडिएको आँगनदेखि सिकुवा, दैलो, मुलखाँबो, चुल्हो, चुल्होमाथिको सराङ, डाँडाभाटा तेर्स्याइएका तलादेखि धुरी पुगेपछि बलेसीको बाटो भएर औलका रुखपात, पशुपन्छी, कीटपतंग, सीमसार, पोखरी, खोला हुँदै लेकको बाटा फलाक्दै पाहाड चढ्दै चोलुङ/सिद्घिस्थल पुग्छन् र चोलुङ जगाएर फर्कन्छन् ।
फेदाङ्मा/साम्बा/येबा/येमा देवारीहरूले मुन्धुम याक्थुङ्बा लिम्बू भाषामै भन्छन् । आफ्ना पुर्खाका नाम, ठाउँका नाम, पशुपन्छी, रुखपातका नाम मुन्धुम देवारीले मुन्धुम फलाकेसँगै जीवन्त रहिरहेको देखिन्छ । तर, सत्येहाङ्माको वेदी, पाठपूजामा यस्तो पाइन्न । सत्येहाङमाहरू चरु पोल्छन् । होम येज्ञादी गर्छन् । आजकालका सेवासाबाहरूले त पर्शुराम π कामरु कामक्ष भनेर फलाकेको सुनिन्छ । सत्येहाङ्माले सिरिजङ्गा लिपि त लेखे तर मुन्धुम बिगार्ने गरी । हिन्दू धर्मलाई प्रचार प्रसार गर्नेगरी ।
लिम्बूजातिको आदिम ज्ञान भनेको नै मुन्धुम हो । हिजो पुर्खाले बाँच्नका लागि प्रकृतिसँग सामना गरेका घटनाहरूलाई नै पुस्तौँपुस्ता दर सन्तानहरूमा मौखिक रूपमा हस्तान्तरण हुँदै आएका छन् । यस्ता घटना लिम्बूका देवारीहरू फेदाङ्मा, साम्बा, येबा/येमाहरूले आजसम्म फलाक्दै/गाउँदै आएका छन् । पुर्खाहरूको स्तुति/पुकार गरेमा प्राकृतिक विपत्तिबाट बच्न भन्ने लिम्बूजातिमा आजपर्यन्त विश्वास/मान्यता छ ।
लिम्बूको मिङ्स्रा (वंश/पुस्तौली) पहिलो पुर्खादेखि माथिका नाम पाहाड, ओढार, खोला, नदी/पोखरी, पशुपन्छीसँग जोडिन्छन् । शरीर सढेर/गलेर/मरेर गए पनि आत्मा मर्दैन । लिम्बूहरूका पुर्खाहरूको आत्मा पोखरी, नदीखोला, ओढार, पाहाड, हिमाल, रुखपात, पशुपन्छीजन्य वा सिङ्गो प्रकृतिमा बसेको विश्वास गरिन्छ । लिम्बूजातिका लागि प्रकृति पवित्र छ । त्यस्ता पवित्र स्थलहरू बढीजसो पहाड, हिमाल, खोला, नदी, पोखरीसँग सम्बन्धित छन् । यस्ता ठाउँ मुन्धुमी ज्ञानबाट निर्देशित छन् र यस्ता ठाउँहरू नै मुन्धुमीस्थल हुन् ।
हिजोको सावा येहाङ/आदिम आठ पुर्खाकालमा मुन्धुमी सभ्यताको निर्माण भयो । ताप्लेजुङको इखाबु, ताप्पेथोक, लेलेप, लुङधुङ, अथवा तमोर/थाङ्वा पुम्माले सिञ्चिएका क्षेत्रहरू सावा येहाङ मुन्धुमी सभ्यता उमार्ने, हुर्काउने पवित्र स्थल हुन् । मुन्धुमी पहिलो मानव मुजिङ्ना खेयोङना, उनका छोराबुहारीहरू सुसुवेङ लालावेङ, फियामलुङमा, मुक्कुमलुङमा, त्यसपछिका सन्तानहरू छुच्छुरु सुहाम्फेबा, तेत्लारा लाहादङना र त्यसपछिका पुस्ता मिक्नुसो लुम्माहाङ, लालासो पाङबोहाङ, नियारा थोक्चङहाङ, सगिम्सो सङिमहाङ, फुरुप्सो थेजङहाङ, खेच्चुयेत उप्पानहाङ, साउन्दु उन्दुहाङ, सेच्छेरे सेनिहाङ यी आठ याक्थुङ्बा लिम्बुहरू नै सावा येहाङ थिए । सावा येहाङहरूले आफू बाँच्नका लागि प्रकृतिसँग सामना गरेको संघर्षलाई नै सावा येहाङकाल सभ्यता थियो ।
तर, आज यस्ता सेहाङ सभ्यताका मुन्धुमी स्थलहरू, मुन्धुमी ज्ञान नष्ट गर्न सत्येहाङ्माहरू लागि परेका छन् । फाल्गुनन्दले वि.सं १९८६ देखि चारखोला, इभाङमा चुक्चिनाम्बामा कुटी बनाएर होम यज्ञादी गर्न थालेको देखिन्छ । उनले वि.सं १९९५ मा नेम्बाङहरूको थामालुङ/उत्पत्ति थलो पाँचथर, पौवा सारतापको नाम्फुन यकमा शिलौटी कुटी बनाए ।
उनले लिम्बुवानका मुन्धुमी स्थलहरूमा माङहिम/मन्दिर र कुटी बनाएर पुरातात्त्विकता र ऐतिहासिकता भत्काउन थालेका थिए । कहिले लिम्बू कुलदेवीयुमाको अवतारी हुँ भनेर मेख्ला लगाएर, थुम्से बोकेर, कम्मरमा खुर्पी पनि भिरेर हिँड्थे । त कहिले हातमा त्रिशूल बोकेर शिवजीको लीला पनि धारण गर्थे । अदौमा येबा/येमाले मुन्धुमी मन्त्र फलाक्दै/नाच्दै कुर्कुच्चाले हानेर पानीको मूल निकाले जसरी यिनी पनि पानीको मूल निकालेको भन्दै हिँड्थे । उनी यसरी नै लिम्बू जातिमा भ्रम छर्थे ।
फाल्गुनन्दका चेलाहरूले हालसालै मात्र ताप्लेजुङ, लेलेपको तागेरा निङ्वाफु निङ्खुुरी फुक्कु/ओढार छेउमा फाल्गुनन्नदको सालिक राखेका छन् । मुन्धुमअनुसार तागेरा निङ्वाफुमाङले यो ब्रम्हाण्डको सृष्टि बनाएका हुन् । सत्येहाङमाहरूले सृष्टिसँग सम्बन्धित आदिम निङखुरी फुक्कु/ओढारमा रड, सिमेन्टसहितको फाल्गुनन्दको सालिक राखेर निङ्खुरि फुक्कु/ओढारको पूरातात्विकता/मौलिकता नष्ट गर्न सफल भएका छन् ।
सत्येहाङ्माहरूले नै ताप्लेजुङकै मापाङभेको नाहाङमा यकमा माङहिम बनाएका छन् । नाहाङमायक भनेका पुर्खाका प्रतिष्ठासँग जोडिएका आदिम ठाउँ हुन् । कर्मथलोसँग जोडिएका पवित्र स्थल हुन् । मुन्धुमसँग जोडिएका प्राय:जसो सबै थातथलोहरूमा सत्येहाङमाहरूले आफ्ना ध्वजा गाडिसकेका छन् । इखाबुको थोक्चङ तेम्बे जाहाँ मुन्धुमी पहिलो मानव मुजिङ्ना खेयङनाका छोरा सुसुवेङ लालावेङको चिहान रहेको विश्वास गरिएको छ ।
नाङखोलेङको केसापलुङ जाहाँ आमा इप्नासो सरङथङ्ना र छोराहरू नामसामि र केसामिले यायावर जीवन बिताएका थिए । केसापलुङदेखि केही मुनि नाङखोलेङको सुभावामा नामसामि र केसामिको सिकार, तरुल/भ्याकुरलाई लिएर भयङ्कर लडाइँ भएको थियो । पाँचथरको सेहोनाम्लाङ/छाला सुकुवा डाँडोमा नामसामिले केसामिलाई मारेर केसामिको छाला सुकाएको भनेर मुन्धुममा जोडिन्छ । त्यस्तै सत्येहाङमाहरूले ताप्लेजुङ लिङखिमको युमा थाक्सिबोमा, ताङगेलुङ, धनकुटा चौबीस मुर्कुटेको युमा थाक्केलुङ, फेदापको सिम्लेस्थित युमा थाक्चोकेमा पनि ध्वजा गाडिसकेका छन् । यी ठाउँहरू लिम्बूजातिका पितृदेव युमाले आफ्ना सन्तति याक्थुङ्बाहरूलाई बिउ बनाउने, छर्ने, अन्न फलाउने, खुवाउने, तान बुन्ने, कपडा बनाउने, लगाउन सिकाउने मुन्धुमसँग सम्बन्धित छन् ।
त्यस्तै, सत्येहाङमाहरूले ताप्लेजुङको मुक्तिफोमाङ पाहाडलाई मुक्कुमलुङ भनेर भ्रम फैलाइरहेका छन् । मुन्धुममा मुक्कुमलुङमा भनेर त मुन्धुमकी पहिलो मानव मुजिङना खेयङनाकी बुहारी, सुसुवेङ लालावेङकी श्रीमती भनेर चिनिन्छिन् । हाल बाहुन/क्षत्रीहरूले पाथिभरा नाम दिएको उक्त पाहाडलाई सिरिजङ्गाले मुक्तिफोमाङ भनेर २४० वर्ष अगाडि नै सिरिजङ्गा लिपिमा लेखोट लेखेका छन् । सिरिजङ्गाले आफ्नो लेखोटमा कुम्भकर्ण हिमाललाई फक्ताङलुङमाङ, सिदिङ्बा पहाडलाई सिदिङचोक्मामाङ, च्याङथापुलाई चाङधुङबोमाङ र फालेलुङ पाहाडलाई इसाङलुङमाङ भनेर लेखेका छन् ।
सत्येहाङमाहरू के चाहन्छन् भने याक्थुङ्बा लिम्बूहरूमा, उनीहरूका आस्थामा विचलन ल्याएर उनीहरूलाई आफ्नो माटो र इतिहासबाट टाढा बनाउने । लिम्बूहरूले आफ्नो मुन्धुमीस्थलको आदिमता, नश्लीयता र जैविक सौन्दर्यताका बारेमा कसैले पनि नबुझून् । लिम्बूहरूलाई ठाउँठेगान, भाषा, संस्कृति पहिचानबेगरको कसरी बनाउन सकौँ । त्यसो गर्नका लागि ती ठाउँहरूमा फाल्गुनन्दको मूर्ति राखेर जो कसैलाई पनि हिन्दू सत्येहाङमा पन्थप्रति आकर्षित गराउन सकौँ । सत्येहाङमा भएबापत् उनीहरूले हिन्दू धर्मभिरुहरू, इसाई पादरीहरूबाट के पाउँछन् र राज्यबाट के के पाउँछन्, खोजका विषय बनेका छन् । आज सत्येहाङमाहरूले यस्ता मुन्धुमी थातथलाहरू आक्रमण गरिरहँदा थप उस्काएर राज्यका ढुकुटीबाट रकम दिनेमा लिम्बू नेताहरूको पनि भूमिका छ । वास्तवमा सत्येहाङमाहरू एउटा धार्मिक झुण्ड बनेर राजनीतिमा किनिने र बेचिने भोट बैंक बन्दै गएका छन् ।
कानुनमा कानुन मान्ने भन्दा पनि कानुनले ठूला बनाएका मान्छेलाई मान्न पर्ने हुन्छ । अनि ठूला मान्छेले जे बोल्यो, जे गर्यो त्यही गर्न आफूलाई सानो ठान्ने मान्छेलाई गर्न मन पर्छ । उतिबेला बाहुन/क्षेत्री नै सत्ता भएकाले बाहुन/क्षत्रीका संस्कार मान्दा बाहुन/क्षत्रीजस्तै ठूलो मान्छे भइन्छ भनेर बाहुन/क्षत्रीका संस्कार मान्ने/मनाउने अभियन्ता इलामका फलामसिं लिङ्देन थिए । पछि फाल्गुनन्दका नामले चिनिए । वास्तवमा फाल्गुनन्दले सोचेजस्तै पनि भयो । नेपाल सरकारले उनलाई याक्थुङ्बा लिम्बुहरूलाई हिन्दू बनाएबापत सोह्रौँ विभूति घोषणा गर्यो ।
लिम्बूजातिको जातिय संस्था चुम्लुङले पनि आफ्नो केन्द्रीय कार्यालयको प्राङ्गढमा सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङको पूर्णकदको सालिक बनाएर बीचमा भने त्रिशूलसहितको फाल्गुनन्दको सालिक राख्यो । अथवा सिरिजङ्गा र चेमजोङभन्दा फाल्गुनन्दलाई मुख्य बनाइयो । लिम्बूभाषा/लिपिको प्रचार—प्रसार गरेबापत सिक्किममा लामाहरूद्वारा मारिएका शहीद सिरिजङ्गाभन्दा फाल्गुनन्दलाई महान् बनाइयो ।
लिम्बूजातिको इतिहास, भाषा, लिपि, साहित्यलेखन यस्तो हुन्छ भनेर राज्यलाई चिनाउने इमानसिं चेम्जोङलाईभन्दा फाल्गुनन्दलाई बढी महत्त्व दिइयो । जाँडरक्सी, माछामासु त्याग्ने र साधु बनेका लिम्बूहरू कति सप्रेका होलान् त, कति बिग्रिएका होलान् । यसको लेखाजोखा सत्येहाङ्मा लुङाहरूले राखेकै होलान् ।प्रकाशित मिति: शनिबार, चैत २८, २०७७, ०७:११:००