- असार १८, २०७८
- देव सुब्बा
याक्थुङ लिम्बू भाषामा ‘माङ्’ भन्नाले ‘देवी देवता’ र ‘हिम वा खिम’ भन्नाले ‘घर’ भन्ने बुझिन्छ । यो समुदायमा एक भिन्न खालको आदि र मौलिक चिन्तन तथा ज्ञान रहेको छ । याक्थुङ लिम्बूहरूको आध्यात्मिक दर्शनअनुसार जहाँ घर हुन्छ, त्यहाँ देवताहरू रहने मान्यता छ । घर आफैमा एक पवित्रस्थल हो । यो आफैमा देवस्थल हो । सामान्य याक्थुङ लिम्बू भाषामा घरलाई हिम वा खिम भनिन्छ । मुन्धुमी भाषामा ‘लक्फा सिङ्हिम’ भनिन्छ । लक्फा (गोपेबास) र सिङहिम (दाउराको घर) शब्दले याक्थुङ लिम्बूको घर सम्बन्धी आदि मान्यता, अवधारणा, संरचनालाई इङ्गित गर्दछ ।
घरको आजको अवधारणा विकास केही वर्षमा वा केही दिनमा भएको होइन । घर निर्माण प्रयास, परिस्थिति, आग्रह, अनुग्रह, प्रयोग, प्रेरणा, परिणाम, परिघटना, सुरक्षा, मान्यतासम्बन्धी धेरै मुन्धुमहरू रहेका छन् । यसले गर्दा पहिलो घर कसले बनायो ? किन बनायो ? कहाँ बनायो ? भन्ने बारेमा यकिनका साथ भन्न सकिन्न । लक्फादेन हाङ्फादेन, साप्परिमा पेम्बरिमा(खाप्पुरा मेन्लङ्नामा), पाजाइवा तुन्धुन्याङ्बा र वरुप्ली वदङ्नामा, मेन्छायेम युमा पोरोक्मी यम्भामी मुन्धुम आदिमा घरसन्बन्धी मुन्धुमहरू जोडिएर आउँछ ।
याक्थुङ लिम्बूहरूले घर निर्माण गर्दा सबैभन्दा पहिला भौगोलिक अवस्थितिलाई ध्यान दिएको पाइन्छ । खोल्सा–खोल्सी, खोला–नाला, पानीको मूल नजिक तल–माथि घर निर्माण गर्नुहुन्न भन्ने विश्वास छ । सामान्य हेर्दा यो भौगोलिक पक्षलाई ध्यान दिएको देखिए तापनि यसमा आध्यात्मिक पक्षहरूलाई पनि ध्यानमा राखिएको हुन्छ । यस्ता स्थलहरू प्रकृति देवी देवताको हलचल गर्ने स्थानहरूको रूपमा मानिन्छ । उनीहरूसँग दूरी कायम गर्नलाई पनि यस्तो स्थानको छनौट गरिएको हुनुपर्दछ ।
याक्थुङ लिम्बूहरूको परम्परागत घरमा प्रायः दिशाअनुसार दुइटा ढोकाहरू हुन्छन् । एउटा मूल ढोका हुन्छ भने अर्को सहायक ढोका हुन्छ । यी ढोकाहरूको प्रयोजन फरक–फरक हुन्छ । मौलिक परम्परागत वास्तुअनुसार घर निर्माण गरिएको हुन्छ । यसरी निर्माण गरिएको घरमा नदीको अवस्थिति र दिशाहरूलाई ध्यान दिइएको हुन्छ । पूर्व दिशालाई जहिले जीवनको दिशा र शुभ दिशाको रूपमा लिइन्छ । पश्चिम दिशालाई अशुभ दिशा र मृत्युको दिशाको रूपमा लिन्छ ।
उत्तर दिशालाई पूर्व दिशाको नजिकको दिशा र दक्षिण दिशालाई पश्चिम दिशाको नजिक मानिन्छ । घरमा विश्राम गर्दा अथवा सुत्दा आफ्नो टाउको उत्तर दिशामा फर्काएर सुत्न नहुने मान्यता छ । घर र घरभित्रका मान्यता र विश्वासहरूलाई कायम नगरिएको घर घर नभएर मृत्यु घरको रूपमा परिणत हुने विश्वास भएकाले यी सबै कुराहरू ध्यानमा राखी गृह निर्माण गरिएको हुन्छ । यस्ता पक्षहरूमा ध्यान नदिए मृत्युको मुखमा पुगिने विश्वास छ । जसका लागि साम्बा तथा येबा÷येमाहरूले साङ्केतिक घर बनाई ‘खेमा हिम’ भत्काउने अनुष्ठानसमेत गर्दछन् ।
हुन त याक्थुङ लिम्बूहरू आफूलाई देवी देवताका सन्तति ( माङ्जिरी माङ्याक्थुङ सा) को रूपमा आफूलाई मान्दछन् । देवी देवताहरूसँग आफ्नो अकाट्य सम्बन्ध रहेको मान्दछन् । यो कुरा घरमा पनि आकर्षित भएको देखिन्छ । घरको संरचना शुरु गर्दै पूजाआजा गर्नु पर्दछ । घरको मूल खम्बा स्थापित गर्दै यसमा ‘अक्वानामा’ लाई स्थापित गर्नु पर्दछ । अक्वानामालाई घरको मूल खाँबो ( मुरुम् सित्लाङ÷हाङ सित्लाङ) मा बस्ने देवताको रूपमा मानिन्छ । मूल खम्बा पूरै घरको संरचनाको बीच भागमा हुन्छ । यसले घरलाई चार भागमा विभाजन गरेको हुन्छ । यसैमा अक्वानामा रहने विश्वास गरिन्छ । यिनैले घरको संरचनालाई भूकम्प, बाढी पहिरो, हावाहुरी, बतास, झरी, पानी, जङ्गली जीवजन्तु आदि प्राकृतिक विपत्तिबाट बचाउने विश्वास गरिन्छ ।
यसले घरको संरचनालाई बलियो बनाउने र घर घडेरीलाई संरक्षण गरेको हुन्छ । घरको संरचना मूल खाँबोमा अडिएको छ भन्ने अवधारणा विज्ञानसँग पनि धेरै मेल खान्छ । अक्वानामाले यसरी घरमा रहने सबै मानिसको सुरक्षा प्रदान गरिरहेको हुन्छ । यिनको पूजा बर्सेनि गर्नुपर्ने मान्यता छ । मुन्धुमअनुसार यिनलाई ‘सोधुङ्गेन लेप्मुहाङ’ को नाति ‘लापोती लाफुङ्यम्बा नाम्पोती नाम्फुङ्यम्बा÷लाफुङ्यम्बा नाम्फुङ्यम्बा÷इकेराङ ताकेराङ’ लाई मानिन्छ । ‘अक्वानामा’ भन्नाले सामान्य याक्थुङ लिम्बू भाषामा ‘कछुवा’ भन्ने पनि बुझिन्छ । पृथ्वीभित्र कछुवा आकारको विशाल अस्तित्व रहेको र जसको हलचलबाट पृथ्वीमा भूकम्प, बाढी, पहिरो जानेसमेत विश्वास गरिन्छ । मुन्धुम अनुसार पाताल लोकका मुसागेक सेमेल्लाहाङ र सिङ्दुम्सो वयाङ्माकी छोरी वरुप्ली वदङ्नामासँग पाजाईवा तेन्धुम्याङ्वाले बिहे गरी जन्मिएका सोधुङ्गेन लेप्मुहाङका नाति भएको मुन्धुमी विश्वास रहेको छ ।
घरमा रहने साम्माङहरूलाई ‘हिम (घर) साम्माङ’ भनिन्छ । हिम साम्माङहरूमा हिम साम्माङ नामकै देउता मानिसहरूको घरघडेरी, परिवारको रेखदेखका लागि युमासाम्माङले पठाएको मानिन्छ । पछि युमामाङ आफै युमा साम्माङको रूपमा घरमा आएको मानिन्छ । यसैले युमा साम्माङलाई सधैँ पहिलो स्थानमा प्राथमिकता दिइन्छ । यो साम्माङ तागेरा निङ्वाफुमा युमा माङकै सांसारिक रूप हो । युमा साम्माङले परिवार तथा परिवारका सदस्यहरूलाई अनावश्यक दुःख बिराम गराउँदैन । यसले घरेलु अनुशासन तोडेमा, घरमा कसैले अशान्ति मच्चाएमा, युमा साम्माङप्रति गलत व्यवहार गरेमा प्रतिक्रिया स्वरूप पिरोल्ने र सही मार्गमा हिँड्न उत्प्रेरित गर्दछ । यस्तो अवस्था पनि घरका मूली महिलामाथि यसको परिणाम देखिने गर्दछ ।
थक्ले साम्माङ्हरू घर परिसरमै लिम्बुनीसँगै रहेका हुन्छन् । घरमा सधैँ आगोको उपस्थिति हुन्छ । आगोको उपयोग नभएको रातको समयमा पनि अगेनामा अगुल्टो जिउँदै हुन्छ । यस्तो अगेनाको सिधा माथि सराङ्थामा रहने विश्वास गरिन्छ । घरपरिसरमै थक्ले साम्माङ्हरूको पूजा गरिन्छ । कसैलाई आँगनमा, कसैलाई आँगनको कुनामा पूजा गरिन्छ । लिम्बू समुदायमा हरेकको घरमा युमा साम्माङको अनिवार्य पूजा, आराधना गर्नु पर्दछ । परिवारको हरेक उन्नति, प्रगति र उपलब्धिमा युमालाई सम्झनु पर्दछ । हरेक वर्ष पाकेका अन्नबालीहरू आफूले उपभोग गर्नुभन्दा अगाडि हिमसाम्माङ युमालाई चढाउनु पर्दछ । याक्थुङ लिम्बू समुदायमा सर्वव्यापीरूपमा युमाको उपस्थिति छ । युमा सामको चौतर्फी सर्वव्यापकता रहेको छ । मुन्धुमका अधिकांश उपासनाहरू युमाको उपासनामा समर्पित रहेको पाइन्छ । जहाँ जहाँ घरपरिवार छ, त्यहाँ त्यहाँ युमाको उपस्थिति रहेको याक्युङ लिम्बूहरू मान्दछन् ।
युमा साम्माङलाई दैनिक घरको कुनै चोखो कुनामा लासो (कलसमा फूलपाती) ले, फूल नभए पातीले चोखो, शुद्ध भएको अवस्थामा सम्झँदा मात्र पनि पुग्ने विश्वास गरिएको छ । विशेष अनुष्ठानमा फेदाङ्मा, साम्बा, येबा÷येमाहरूमार्फत् नाम्यो (तीतेपातीको धुप), साङ्सिङ (धुप), (घीउको धुप), थी (जाँड), सिजङ्वा (रक्सी), भात, चोखो अन्नबाली चढाएर अस्थायी लासो (वेदी) बनाई पूजाआजा, आराधना, उपासना गर्ने गरिन्छ । यसै समयमा आफ्नो र परिवारको सबै खालको उन्नति, प्रगति र उपलब्धिका लागि धन्यवाद टक्र्याउने कार्य गरिन्छ । आगामी दिनको सुख–शान्ति र प्रगतिका लागि समेत अनुनय विनय गरिन्छ । युमा साम्माङलाई कुनै खालको बलि पूजाको आवश्यकता पर्दैन । युुमाको सर्वव्यापकता युमालाई आराधना, उपासना गर्दा सम्बोधनहरू नै काफी छन् ।
युमासाम्माङसँगै घरमा शक्ति प्रदान गर्ने थेवासाम्माङ रहेको मानिन्छ । थेवासाम्माङको पनि वर्षमा एकपटक भालेले पूजा गरी आवश्यक शक्ति मागिन्छ । थेवासाम्माङ उत्पत्ति मुन्धुमले मागेअनुसार आवश्यक भेषभूषा तथा हातहतियार धारण गरी घरभित्रै पूजा गर्ने चलन छ । घरमा सुस्वास्थ्य, समृद्धि, कला सीपका लागि काप्पोबा साम्माङ रहने विश्वास गरिन्छ । यी सबै अनुष्ठानहरू हेर्दा याक्थुङ लिम्बूहरू देवी देउतासँग बसिरहेको अनुभूति हुन्छ । देवी–देवताहरूले हाङ्वा माङ्मा (शक्ति ) दिइरहेको याक्थुङ लिम्बूहरूले उनीहरूलाई नियमित मानमनितो गरिरहेको आभास हुन्छ । घरमूलीको सौर्यताका लागि सम्पन्न गरिने नाहाङ्मा र घरका सम्पूर्ण परिवारको आत्मसम्मानका लागि गरिने माङ्गेन्ना पनि घरमै गरिन्छ ।
यसबाहेक घरपरिवार आँखीडाही (नाहेन) पनि घरकै आँगनमा अथवा मूलढोकाको अगाडि गर्ने गरिन्छ । याक्थुङ लिम्बू समुदायका पुजारी साम्बा र येबा÷येमाहरूले आफ्नो घरको आँगनमा पेगेसिङ र येगेसिङ रोप्छन् । यसकै थानमा वार्षिक फुङ्सो तेसिङ्मा (गुरुपूजा) गर्ने गर्दछन् । हरेक वर्ष आफूलाई मुन्धुममा दीक्षित गर्दैछन् । आफ्नो मूलगुरु सामेथुङ्मा येप्मेथुङ्मालाई पुकार गर्दछन् । याक्थुङ लिम्बू समुदायको सबैभन्दा ठूलो अनुष्ठान तङ्सिङ घरकै आँगनमा सम्पन्न गरिन्छ । घरमा परिवारका सदस्यहरुले ज्येष्ठताका आधारमा अनुशासन र आत्मसम्मानपूर्वक बाँच्ने आधार निर्माण गरेको हुन्छ । यसले परिवारमा सुख, शान्ति, समृद्धि, प्रगति, स्थायित्व कायम गर्दै अगाडि बढाइरहेको हुन्छ । यस्तो अनुकरणीय वातावरण घरमा नियमित सम्पन्न गरिने धार्मिक अनुष्ठानहरूले निर्माण गरिराखेका हुन्छन् । यस्ता सबै अनुष्ठानहरू सम्पन्न गर्ने घर नै देवी देवताहरूको घर (माङ्हिम) को रूपमा मान्न सकिन्छ ।