किराँत भनेको को हुन् त…???

1012

– याक्थुङ् सा

किराँत भनेको “अथर्व बेद्ले किराँतहरूलाई असभ्य जंगली सिकारी समूहका रूपमा लिएको छ । गोस्वामी तुलसीदाशले किराँतहरूलाई तेली, कुम्हार,चण्डाल, कोल, कलवार आदिको समकक्षी मानेका छन् । किराँतहरूलाई उद्घण्ड, शरीरभरि रौं भएको र रूखका पातहरूले आफ्नो शरीर ढाक्ने जातिको रूपमा चित्रण गरेको पाइन्छ । किराँतहरूलाई जंगली जाति पनि मानिएको छ । जनकलाल शर्माले किरातहरूलाई देवताको नियम ब्यबहार नमान्ने, यज्ञ नगर्ने, स्पष्ट नबुझिने र मिठो बोली नबोल्ने लठेप्रो, नेप्टो नाक भएका भनी ऋृगबेद्लाई उद्धृत गरेका छन् । यिनीहरू खस जस्तै नास्तिक भएको कुरा मनुस्मृतिमा उल्लेख छ । फोहोरमैलामा रहने भएकाले कीरो र किराँत भनिएको समेत पाइन्छ । प्राचीनकालमा किराँतहरूलाई समुन्द्र र नदीको किनारमा झुपडी बनाएर बसेका असभ्य जातिको रूपमा बाबुराम आचार्यले उल्लेख गरेका छन् ।विश्व प्रख्यात संस्कृत भाषाको शब्दकोष अमरकोषमा किराँतहरूलाई म्लेच्छ वा निषाद भनिएको छ । यर्जुबेदमा गुफा, ओडार तथा कन्दरामा बसेर सिकार गरेर खाने जाति भनिएको छ । तैतरीय ब्राह्मणमा पनि किराँतहरू भनेका असभ्य, जंगली, पर्वततिर बस्ने र सिकारबाट जीवन निर्बाह गर्ने भनिएको छ। कालीदाशले आफ्नो कृति कुमार सम्भवमा किराँतीहरू पाहाड, पर्वत र जंगलमा बसोबास गर्ने म्लेच्छ भनि उल्लेख गरेका छन् । पन्द्रौं शताब्दीमा काश्मीरको वल्लभदेवको शुभसीतावलीमा पनि किराँतलाई निम्न स्तरको पर्वते आदिवासी र फलामको प्रयोग गर्न नजान्ने हुन् भनिएको छ । वाल्मीकि रामायणको किष्किन्धाकाण्डमा किराँतहरूलाई भारतको पूर्वी टापुमा बस्ने, काँचो माछा र मान्छेको मासु खाने नरभक्षी भनिएको छ । रामायणको उद्धृत गर्दै ल्यासेनले जेएफकेडीएम नामक कृतिमा किराँतलाई नरभक्षी भनेका छन् । महाभारत सभापर्वमा किराँतहरू छालाले शरीर ढाक्ने, जंगली फलफुल खाने, तिखो र धारिलो हतियार चलाउने जाति हुन् भनिएको छ । जी. पी. सिंहले हेरोडोटसको कृति युनिभर्सल हिस्ट्रीको कुरा उद्धृत गर्दै बंगालको पाहाडी देशहरूमा बसोबास गर्ने किराँतहरू नरभक्षी थिए र किराँतहरू सिमसारमा उम्रिने घाँस काटेर गुन्द्री बुनी ‘कवच’ झै शरीरमा लगाउँथे र समूहका बुढापाकालाई मारेर मासु खान्थे भनिएको छ । उनको अनुसार किराँत भनेको भोटबर्मेली भाषा बोल्ने भन्दा पनि भारतीय आदिवासी नै किराँत हुन् भन्नेमा जोड् दिएका छन् । पाली ग्रन्थहरूमा किराँतीहरू जंगलमा बस्ने जाति भनि उल्लेख गरिएको छ । कौटिल्यको अर्थशास्त्रमा किराँतहरूलाई कूँजो, पुड्के र लठेब्रो भनिएको छ । हेसिया कनिडियनले आफ्नो कृति इन्डिका (Indica) मा किराँतीहरू ओडारमा बस्ने, पशुको मासु खाने, काँचो माछा खाने, रूखको बोक्रा र पशुको छालाले शरीर ढाक्ने भनिएको छ । हेरोडोटसले आफ्नो कृति ‘काल्काटिमाई’ मा किराँतीहरू दलदले ठाउँमा बस्ने, नरकटको नाउँमा चढी माछा मारी काँचै खाने, होचा बामपुड्के (आर्यभन्दा होचा?) र नरभक्षी पनि थिए भनी उल्लेख गरेका छन् । हिरोडोटसले नागा किराँतहरू बृद्ध मानिसलाई मारेर मासु खान्छन् भनी उल्लेख गरेका छन् । लास्सेनले किराँतीहरू मानिसका मासु खान्छन् भनेका छन् ।वैदिक सम्मपत्तिमा पनि मनुस्मृतिलाई नै उद्धृत गर्दै किराँत भनेका पतित क्षत्रिय हुन् भनिएको छ । महाकवी भारवीको कृति किरातार्जुनीय महाकाब्यमा महादेव वा शिवजीलाई किराँत भनेर उल्लेख गरेका छन् । योगिनी तन्त्रका अनुसार कुश द्धीपबाट आएकी कङ्गती नाउँ गरेकी सुन्दरी र शिवजीको सन्तानलाई किराँत भनिएको छ । किरकाण्ड पर्वताख्यानमा जंगली ब्राह्मणहरूलाई किरात भनिएको छ । ऋृगबेदमा शम्बर भनेर उल्लेख गरिएको छ । जुन शम्बरलाई नै किरात मानिएकोे छ । शम्बरलाई राक्षस पनि भन्ने गरिन्छ त्यसैले ऋृगबेदका अनुसार किराँत भनेको राक्षस पनि हो । ऐतरेय ब्राह्मण ग्रन्थका अनुसार विश्वमित्र ऋृषिका श्रापित सन्तानहरू मध्ये किराँत पनि हो भनिएको छ । प्रसिद्ध ग्रन्थ सोस्थानी ब्रतकथाका प्रमुख पात्र राजा दक्षप्रजापतिका छोरी दिति तथा कश्यप ऋृषिका पत्नी दितिपट्टिका सन्तान राक्षस किराँत हुन् भन्ने उल्लेख छ । डा. स्वामी प्रपन्नाचार्यको बेदमा के छ? नामक कृतिमा किराँत भनेको हिन्दु आर्य नै हुन् भन्ने उल्लेख गरेका छन् । त्यसरी नै प्रसिद्ध किराँत इतिहासकार स्व. इमानसिं चेम्जोङले पुरानो करार बाइबलका प्रमुख पात्र अब्राहमका सन्तान (भाई) करेटीका शाखा सन्तान सौमरहरू नै किराँत हुन् भनेर किराँत इतिहासमा उल्लेख गरेको पाइन्छ ।

अन्त्यमा:-

माथीको तथ्यहरूलाई अध्ययन गर्दा हामी याक्थुङ् लिम्बू जाति किराँतमा पर्दैनौं भन्ने सहजै अनुमान गर्न सकिन्छ । अर्को तर्फ हाम्रो मुन्धुममा किराँत भनेर कहि कतै पनि बर्णन गरिएको छैन । माथी उल्लेखित तथ्यमा मुन्धुम कुरा कहि कतै पनि छैन । त्यसैले मुन्धुमले निर्देशित नगरेको बिषय किराँत भएको हुँदा हामी किराँत होइन । हुन् सक्छ, माथी उल्लेखित कुनै कुनै बिशेषताहरू हामी याक्थुङ् लिम्बूहरूसँग मिल्नु संयोगको बिषय मात्र हो ….सेवारो…।।।

सन्दर्भ सामग्री:-बिभिन्न हिन्दु ग्रन्थहरू