— अर्जुनबाबु माबोहाङ
लिम्बू जातिको उत्पत्ति:लिम्बूहरू लाशागोत्रे र काशीगोत्रे होइनन्: लिम्बू जातिको उत्पत्तिका बारेमा बताउने पहिला स्वदेशी तथा बिदेशी बिद्धवान एच. एच. रिस्ले हुन् । उनले आफ्नो पुस्तकमा लाशा र काशीबाट आएका भनेर लिम्बूहरूलाई लाशागोत्रे र काशीगोत्रे गोत्र भिराई दिएका छन् (रिस्ले, सन १९७२, पृष्ड ३६ र ३७) । इमानसिं चेमजोङले पनि रिस्लेलाई नै पछ्याएका छन् । उनले पनि लिम्बूहरू तिब्बत लाशा र काशी बनारसबाट आएका बताएका छन् (चेमजोङ, सन १९४८, पृष्ठ ५ र ९) । लिम्बू जातिको उत्पत्तिका बारेमा कुनै पनि इतिहासकारहरूले मुन्धुमलाई आधार बनाएका छैनन् । मुन्धुमअनुसार लिम्बू जातिको उत्पत्तिथलो वर्तमान ताप्लेजुङ जिल्लाका तमोर नदी (इम्बिरी याङथाङ्वा) को किनार लेलेप, इखाबु गाबिसहरूदेखि फक्ताङलुङ (कुम्भकर्ण) को फेदी घुन्साखोला (मुधिङ्गुम् लेक्वा) हेल्लोक, ताप्पेथोक आदि गाउँहरू हुन् । यसदेखि बाहेक ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्लाका थुप्रै गाउँहरूको मुन्धुममा चर्चा हुन्छ । मुन्धुममा चर्चा भएको ठाउँहरू आजसम्म पनि जस्ताको तस्तै गाउँघरमा बोलिनुले लिम्बू जातिको उत्पत्तिस्थल खोज्न टाढा जान आवश्यक छैन । किनभने, मुन्धुममा याक्थुङ् (लिम्बू) जातिको उत्पत्ति र समाजबिकासको चर्चा बढी ब्यबहारिक ढङ्गले चर्चा गरिएको छ । मुन्धुममा “सेन्दाङ ए । लाःसा लाङ्फे यद? लरे ।। मिवा ए । नामलाङ्फे पिदि? लरे ।। ” जस्ता वाक्यहरू मुन्धुम गाउँदा पहिलोचोटि नै उच्चारित शब्दहरू हुन् । यसको अर्थ ‘ आकाशमा जुन उदायो । घाम अस्तायो भनिएको हो ।। ‘ अर्थात ‘ सेन्दाङ हलाःसा ‘ जुनलाई भनिएको हो । केही फेदाङ्मा, साम्बा, येबा र येमाहरूले ‘ लाःसा ‘ शब्दहरू उच्चारण गरी मुन्धुम गाएकोलाई लिएर आफुहरू लाशागोत्रे भनेर सम्बोधित भएको तर्क उठाउने कोसिस गर्छन् ।लिम्बूहरूको लुङधुङ माङ्गेना यकले गोत्रकै अर्थ लाग्छ । लिम्बूहरूको उत्पत्तिथलोलाई ‘थामालुङ्’ भन्छन् । मिङ्स्रा भन्नाले पहिलो पुर्खा हो । उत्पत्तिथलो छोडेर कर्मथलोलाई ‘ नाहाङमा यक’ भनिन्छ । कसै लिम्बूहरूको उत्पत्तिथलो र कर्मथलो एकै पनि हुनसक्छ । पुर्खाहरू छुट्टिएपछिकालाई ‘ पासिङ् पादाङ’ भनिन्छ । पुर्खाहरू छुट्टिएर निर्माण भएको कर्मथलोलाई ‘फेच्चुवा यक’ भनिन्छ । कसै लिम्बूहरूको नाहाङमा यक र फेच्चुवा यक एउटै हुन्छ । अनि पितृ (थवासाम) लाई सातो पुर्याउने ठाउँ ‘साम सामातेन्’ गर्भवती स्त्रीहरूको सातो ल्याउने ठाउँ ‘साम् लामातेन् ‘ र पुर्खौली स्थल जगाउने ठाउँ ‘चो?लुङ्’ को पनि लुङधुङ माङ्गेना यकमा नै चर्चा गरिन्छ । माङ्गेना मुन्धुममा लिम्बूहरूले भस्मेखोरिया फाँडेर वस्ती बसाएकोदेखि सन्तानहरूको बृद्धि भएर छुटिँदै गएको चर्चा हुन्छ । लिम्बूहरूको माङ्गेना मुन्धुमलाई अलिखित इतिहास भने पनि हुन्छ । मुन्धुममा बिशेष गरी वर्णित पात्र, ठाउँ र घटनाले प्रायः जसो लिम्बूका माङ्गेना यकहरू ताप्लेजुङ, तेह्रथुम र पाँचथरका ठाउँहरू पर्न जान्छन् । मुन्धुममा कतिपय घटनाहरू काल्पनिक लाग्न गए पनि वंशज र मुलथलोहरू आजसम्म पनि जस्ताको तस्तै पुकारिन्छन् । जस्तो, खेजेनिमका अन्छङ्बो (नुम्लेक) हरूको वंशज मिङ्स्रा थाक्निया हुन् । उनीहरूको नाहाङमा यक ताप्लेजुङ जिल्लाको खेजेनिम गाबिसको खाम्बुचङ्ग हाङभरू हो । फेच्चुवा यक खेजेनिम गाबिसकै नियारा यक्चेयक हो । उनीहरूको पितृ (थवासाम्) पोक्नुहाङ लिङ्नुहाङ हुन् । थवासाम् चेली/ फुपु पनि हुन् सक्छ । पितसलाई सातो बुझाउँदा निश्चित ठाउँमा पुगेर मात्र मृतकको आत्मा बुझाइन्छ । अन्छङ्बोहरूले अम्रिकरे फुच्छाङ्वा (आरूको फुल सेताम्मे), लामेन्दा इङ्लेप्पे, नाममेन्दा इङ्लेप्पे पाङ्भे (जुनघाम नआइपुग्ने) भन्ने ठाउँमा पुगेर पुर्खालाई सातो दिन्छन् । उक्त ठाउँहरू ताप्लेजुङ जिल्लाको ताप्पेथोक गाबिसमा पर्छ । उनीहरूको सामलामा तेन वा गर्भवती आइमाईहरूको सातो ल्याउने ठाउँ चाहिँ सेगेक सुरूङमा हो । पुर्खौली स्थल जगाउने ठाउँ चाहिँ लुङथाक्केथाक्के येइङबाचङ हो ।केही लिम्बू वंशवलीहरूमा आफ्ना पुर्खाहरू लाशाबाट आएका भनेर चर्चा गरिएको छ । त्यसमा थोरबहुत इमानसिं चेमजोङको मतलाई आधार मानिएको छ । तिब्बती इतिहासहरूमा चेमजोङले भने जसरी मुनाफेनहाङले मध्यतिब्बतको उपाजोङमा चढाइ गरेको पाइँदैन ।
कुनै कुरा लिखित हुँदैमा त्यो इतिहास हुँदैन ।
टाढाबाट, ठुल्ठुला ठाउँबाट बसाइँ सर्दै आएको र ठूला नश्ल जातिका हौं भनेर आफूलाई प्रस्तुत गर्दैमा सभ्य भइँदैन । आफ्नो परिचय खोज्न पहिले आफुले टेकेको धर्ती खन्नु पर्छ । लोकले मानेको मौखिक कुराहरूभन्दा भरपर्दो इतिहास केही छैन । बरू लेखकहरूले केही लोकका कुराहरू र केही अरूको इतिहास र मिथ्या कुरा थपेर आफूलाई भरपर्दो बनाउन खोज्छन् जुन दुधमा बिष घोलेसरह सावित हुन पुगेको छ । मुन्धुममा लिम्बू समाजको सावा येत्हाङ लिएर आदिम समाजको सामाजिक चरण पहिल्याउन सकिन्छ । सावा येत्हाङ भनिने आठ लिम्बू दाजुभाईहरू: मिक्नुसो लुम्वाहाङ, मुधिङ्गे साङ्लेक्हाङ्, नियारा थोक्चङहाङ, लालासो पाङबोहाङ, फुरूप्सो थेजङहाङ, सगिम्सो सङ्मीहाङ, खेत्चुवेत् उप्पानहाङ, सेच्छेरे सेनिहाङ र पेगिफाङसाम् भनिने पूजारीहरू: सुदुक्युखेदुक्यु फेदाङमा, फुङ्जिरीफुङ्गाप्पो फेदाङमा, थिरि वसोफुङवा फेदाङमा, सिङसारा थेयाप्मि फेदाङमा, मुगाप्लुङ खागप्लुङ साम्बा, नेन्जिरि नेम्पत्थाङ् साम्बा, साजुवेत् मुदाङ्वेत् साम्बा, सिङदुमइङ् फेत्लाइङ साम्बा र नाङगेत्छो फु?लुम् साम्बाहरूको जीवनचर्या लेलेप र इखाबु गाबिसको शिर मुरिङला खारिङला/ थेरिङला पहाडको शिर र फेदी साँगो कपिरक्मा (लेलेप) मा केन्द्रित भएको पाइन्छ । यिनै सावा येत्हाङहरूले निर्माण गरेको संस्कार, सभ्यता नै आजका लिम्बूहरूको मुन्धुम र इतिहास पनि हो …।।।
साभार:
लिम्बू जातिको मुन्धुम र इतिहासबाट
प्रस्तुति:- याक्थुङ सा