– याक्थुङ सा
याङवरका राजा गलिजङ्गा हाङका नाति सिरिजङ्गा हाङ (इ. स. ८८०-९१५) तिर यो याक्थुङ लाजे (लिम्बूवान) मा राज्य गरेका रहेका थिए । उनी धेरै धार्मिक राजा थिए । उनी शक्तिशाली ईश्वरको भरमा थिए, ईश्वर बुद्धि र ज्ञानका स्रोत हुन् भन्ने विश्वास गर्दथे । याक्थुङ मुन्धुम अनुसार एकपटक विद्याकी देवी (निसाम्माङ) ले उनलाई उनीसँगै फक्ताङलुङ (कुम्भकर्ण) को फेदमा लगेर ठुलो ओडारमा पस्ने प्रेरणा दिइन । उनले भनेजस्तो गरी विद्याकी देवीलाई त्यो गुफाभित्रको अन्तिम कोठासम्म पछ्याए । जहाँ विद्याकी देवी (निसाम्माङ) ले केही कुरा लेखिएको पातलो ढुङ्गाको टुक्रा दिइन । विद्याकी देवी (निसाम्माङ) ले त्यो अक्षर कसरी पढ्ने, लेख्ने भनेर सिकाइन र त्यो आफ्नो देशमा लगेर आफ्ना मानिसहरूलाई सिकाउनु भनिन् । जब सिरिजङ्गा शिलालेख पढ्न जान्ने भए विद्याकी देवीको साथमा त्यो गुफाबाट उनी आफ्नो दरवारमा फर्के याक्थुङ मुन्धुम अनुसार सिरिजङ्गालाई त्यो लिपि अध्ययन गर्न तीन महिना लाग्यो भनिन्छ । उनले आफ्ना देशका मन्त्री र भलादमीहरूको भेला गराएर याक्थुङ संस्कृति विज्ञान उनले कसरी सफलतापूर्वक प्राप्त गरे, विद्याकी देवीको आशीषद्धारा प्रत्येक मानिसलाई शिक्षा प्राप्त गर्न कसले मद्धत गर्छ, शक्तिशाली निङ्वाफुमा जो यो पृथ्वीमा ‘युमासाम्’ नामले अवतरित छन्, उनीप्रति मानिस किन निर्भर रहनु पर्छ, भन्ने ब्याख्या गरी बताए । उनका प्रजाहरूलाई भाषा लिपि सिक्ने प्रेरणा दिए, अनुशासनमा जिउन सिकाए । उनले धेरै धेरै किताब लेखे जसमा ‘सिरिजङ्गा मुन्धुम साप्ला’ तथा ‘याक्थुङ साम्लो साप्ला’ प्रख्यात छ, भने अर्को तर्फ सिरिजङ्गा हाङलाई तिब्बतमा गई लामा गुरूसँग तीन महिनासम्म बसी विद्या सिकेर आफ्नो देशमा फर्की बुद्ध धर्म पनि प्रचार गरे अनि उनलाई गुरू पदमःसभव पनि भनिन्छ भनेर कुनै कुनै इतिहासकारहरूले उल्लेख गरेको पाइन्छ । यी बिषयहरू कुन कुरा सत्य हो भन्ने बारेमा अध्ययन अनुसन्धान हुन् नितान्त जरूरी छ ।
राजा सिरिजङ्गा हाङले आफ्नो प्रजाहरूलाई ” सिरिजङ्गा लिपि” यसरी पढ्न सिकाए:-का. पा. अा. मा. ता. या. था. ना. सा. ङा. शा. वा. हा. ला. चा. फा. खा. रा. छा.ग. अादिगरी २० अक्षर ठुलो अक्षर र १० सानो अक्षर गरी जम्मा ३० अक्षर र ओकार र एकार गरी २-२ थरिका छन् । सिरिजङ्गा लिपिमा क. ले. ग र क. को काम गर्छ । ख. ले ख. र घ. को काम गर्छ । च. ले ज. र च. को काम गर्छ । थ. ले थ. र ध. को काम गर्दछ । प. ले प. र ब. को काम गर्दछ । फ. ले फ. र भ. को काम गर्दछ । ट. ठ. ड. ढ. ण छैन ।
यस लिपिलाई पश्चिमी लिपि विद्धवानहरूले बेबिलोन, सिरियाको सभ्यताको लिपि भन्दा धेरै विकसित मानेका छन् । यस लिपिलाई याक्थुङ लाजे (लिम्बूवान) को समयमा राष्ट्रिय लिपि मानिएको थियो ।त्यसरी सिरिजङ्गा हाङको समय पछि यो याक्थुङ लाजे (लिम्बूवान) मा तिब्बती प्रभाव रहयो । त्यस समयमा बुद्ध धर्म र तिब्बती लामा भाषा लिपिको प्रभाव रहयो । तापनि यो याक्थुङ भाषा र सिरिजङ्गा लिपि याक्थुङ लिम्बूहरूले गोप्यरूपले बचाई राखे ।सन १७०४ मा यो याक्थुङ लाजे (लिम्बूवान) को सिनाम तेल्लक गाउँको कुथीन टारमा ईश्वरभक्त सिं थेबेको जन्म भयो । उनको नाम बाल्यकालमा ईश्वरभक्त सिं थेबे भएको इतिहासकारहरूले बताउने गरेको पाइन्छ । पछि प्रथम सिरिजङ्गाको शिक्षा लिई प्रचार गरी हिड्न थालेपछि याक्थुङ लिम्बूहरूले उनलाई दोस्रो सिरिजङ्गा नामले बोलाउन थाले । प्रथम सिरिजङ्गा हाङको महावाणी, उपदेश र गुण इत्यादि शक्तिहरू देखाउन थालेपछि सिरिजङ्गालाई (देवांसी,त्येअंशी) पदले विभूषित गरे । उनी प्रथम सिरिजङ्गा हाङको झै हिमालको गुफाहुँदी ध्यान बस्न पुगे । यसरी पहाडको गुफाहरूमा बसी शिक्षा प्राप्त गरी प्रचार प्रसार गरेकोलाई उनले सिरिजङ्गा लिपि हो भनि सबै याक्थुङ लिम्बूहरूलाई परिचय दिए । याक्थुङ लाजे (लिम्बूवान) घुमि घुमि भाषा-लिपि र धर्मको प्रचार गरे । यस समयमा पश्चिममा गोरखा भाषाको प्रचार थियो । यही पर्वतीय खस गोरखा भाषाको विरोधमा लागेका भनेर त्येअंशी सिरिजङ्गा सिं थेबेलाई शाहबंशी शासकहरूले देश निकाला गरे ।त्येअंसी सिरिजङ्गा सिं थेबेले आफ्ना श्रीमति सिमाङ्ग र छोरा श्रीझुमलाई छाडी छोरा श्री गुम र ८ जना चेलाहरूलाई लिई सिक्किम पुगे । त्यहाँ त्यसबेला बौद्ध धर्मको प्रचार थियो । सिरिजङ्गाले सिक्किममा पुरै सिरिजङ्गा लिपिको प्रचार गर्न थाल्यो । ठाउँ ठाउँमा स्कुल खोली पढाई हुन थाल्यो । त्यहाँका ठाछाङ्ग भोटेहरूले याक्थुङ लिम्बूहरू बढेको पढेको देखी नसही सिरिजङ्गाको उजुरी टामडिङ्ग ग्याल्मोको पाउँमा पुर्याए । बिभिन्न षडयन्त्रका भूमिका बाँधी सिरिजङ्गालाई ठाछाङ्ग भोटेहरूले पक्री बाँधेर मार्तम रेशी खोलाको दोभानमा ठुलो रूखमा बाँधी तिरै तिरले हानेर मारे । यसरी त्येअंसी सिरिजङ्गाको हत्यापछि सारा याक्थुङ लिम्बूहरू उठी रापदेम्ची दरवारमा घेरी ठाछाङ्ग भोटेहरूलाई पनि मारे । राजा टामडिङ्ग ग्यालमो भागी तिब्बत गई उतै उनको मृत्यू भयो । त्येअंसी सिरिजङ्गा सिं थेबेको बारेमा हज्सनले ‘ संवत् १९०३ साल मिति मार्ग शीर शुदि १ रोज ३ मा लेखिएको लिम्बूहरूको पह्रनयाक्रम अषर सुखिमको कहि ( या) को पुस्तक बमोजिम लेख्याको’ भनेर बर्णमाला लेखाईएको अभ्यास पुस्तिका झै तयार गरिएको (जसमा ब्यञ्जन १९ र स्वर बर्ण १ छन्) पाण्डुलिपि अन्य पाण्डुलिपिहरू उनले लण्डनको ब्रिटिस इन्डिया लाइबेरीमा सुरक्षित गराए । उनले सुरक्षित गराएका पाण्डुलिपिहरू मध्ये “मुन्धुम साप्ला” चाहिँ सिरिजङ्गा सिं थेबे ( सन १७०४-१७४१) आफैले लेखेको भन्ने अनुमान गर्न सकिन्छ ।यसरी याक्थुङ लिम्बू भाषा, सिरिजङ्गा लिपि र साहित्यको बिकासमा अतुलनीय योगदान गर्ने यी दुई माहात्माहरूलाई हामी याक्थुङ लिम्बू जातिले सधै श्रदाले सम्मान गर्ने गर्छौ तथापि उहाँहरूको ऐतिहासिकताको बारेमा कुनै बिद्ववानहरूले सिरिजङ्गा दुई जना होइन एक जना मात्र हो । पहिलो सिरिजङ्गाको कुनै निसा प्रमाण नभएकोले खास सिरिजङ्गा पछाडिको सिरिजङ्गा सिं थेबे मात्र हुन् भन्ने टिप्पणी गर्दै आएको पाइन्छ । यस बिषयमा अझै पनि गम्भिर रूपले खोज अध्ययन अनुसन्धान गर्न जरूरी रहेको देखिन्छ ।यो याक्थुङ लिम्बू भाषा र सिरिजङ्गा लिपिको बिकासको योगदानमा लालसोर सेन्दाङको नाम उल्लेख नगरी सधै इतिहास अधुरो रहन्छ । लालसोर सेन्दाङ (सन १८४०-१९२६) को पिता हंसवीर सेन्दाङ आठराई थुम छेन्ताङ (फुलवारी) का थिए । उनी ७५-७६ बर्षको उमेरमा सन १९१४ तिर थाम्बोङ् र दराम्देन, पश्चिम सिक्किम पुगेका थिए । त्यहाँको एक तुम्याङ (बुढौली) सँग भेट गरी दराम्देन, थाम्बोङ, तिक्पुर, लुङ्चोक् र थर्पु गाउँमा लिम्बू भाषा, लिपि, सांस्कृति, युमा धर्म, खाऊन र मुन्धुम सिकाएका थिए । राजा सिरिजङ्गा, त्येअंसी सिरिजङ्गा र युमा धर्मबारे नेपाल सरकार तथा सिक्किमको दमनकारी नीतिले लिम्बूहरूले बिर्सिसकेको भाषा लिपि र मुन्धुमबारे उत्थान गर्न तन मनले लागि परेका थिए । सन १९२४ तिर सिक्किमबाट कालिम्बोङ्, पश्चिम बंगाल गई त्यहाँका लिम्बूहरूको अनुरोधमा लिम्बू भाषा एवं युमा धर्म सिकाएका थिए । जुलाई १९२५ तिर त्यहाँका लिम्बू साथै इतिहासकार इमानसिं चेम्जोङ लगायतका समेतलाई सिरिजङ्गा लिपि सिकाएका थिए । सन १९२६ मा डुङ्ग्रा बस्ती कालिम्बोङ्को मैतसिं थेगिमको नेतृत्वमा प्रथम ” याक्थुङ हाङ चुम्लुङ” सभा गरेको थियो । त्यसपछि सन १९२६ सालमा नै कालिम्बोङ्बाट अासामतिर लागे । त्यसै समय अासामको जोगीखोप भन्ने ठाउँमा उहाँको देहान्त भयो ।सिरिजङ्गा लिपिकोको बिकासमा पञ्जाबसिंको योगदान पनि रहेको छ । उहाँले प्रचार प्रसार गरेको लिपिमा अक्षर पुरा नहुँदा देवनागरी मिश्रित र तिब्बती गरी एक प्रकारको लिपि बनाई पुस्तकहरू लेखेको इतिहास पाइन्छ । त्यसरी नै लिम्बू भाषा लिपि र साहित्यको बिकासमा योगदान गर्नेमा बिर्सन नसकिने ब्याक्तित्व जोभानसिं फागो पनि हुन् । उहाँले गोर्खा- खम्बु-लिम्बू युद्धमा आफ्ना पुर्खाको नेतृत्वमा लिम्बूहरूले गोर्खा विरूद्ध लडेको, फेरी गोर्खालीसँग मिलेको र अन्त्यमा गोर्खालीले लिम्बूलाई धोका दिएको मिहिन ढङ्गले सिरिजङ्गा लिपि र लिम्बू भाषामा लेखेर हज्सनलाई बुझाएको पाइन्छ । इतिहासकार चेम्जोङका अनुसार उनी लिम्बू जातिको पहिलो इतिहासकार थिए । अर्को तर्फ जसमुनि गुरू फल्गुनन्द लिङदेनले पनि यही याक्थुङ लिम्बू समुदायका परम्परागत धार्मिक पुजारी फेदाङमा साम्बा येबाहरूबाट परम्परागत मौखिक मुन्धुमलाई लिम्बू भाषा र सिरिजङ्गा लिपिमा लिपिबद्ध गरे । उनैले लिम्बू समाजमा रहेका केही परम्परागत मौलिक संस्कारहरूलाई खराव संस्कार भनी हिन्दु जसमनी धार्मिक पन्थको प्रभावमा परी बि. स. १९ ८८ सालमा सत्य धर्म सभा गरी सत्यधर्म मुचुल्का गरी हिन्दु जसमनी संस्कार याक्थुङ लिम्बू समुदायमा लागु गरे । जसलाई हाल सत्यहाङमा भनिन्छ । जुन सत्यहाङमा धार्मिक प्रचलन २०३६ सालदेखि किरात धर्म भनेर प्रचलनमा छ ।लिम्बू भाषा लिपि र साहित्य जगतमा इमानसिं चेम्जोङ र बाजबीर थलङले सन १९२६ तिर प्रवेश गर्नु भयो । उहाँहरूले ‘तुम् याक्थुङ निङ्वाफु साप्ला’ प्रकाशन गरे । पछिबाट मनबहादुर खाम्दाक्, पदमबहादुर नुगुले पनि केही पुस्तक प्रकाशन गरे । आर. के. स्प्रीङ्गले लण्डनबाट ल्याएका पुराना पाण्डुलिपि संयुक्त गरी १९७० मा ‘ तुम् याक्थुङ निङवाफु साप्ला’ प्रकाशन गरी प्रचार गरे । पाठ्यपुस्तकहरू सन १९३० मा इकेबहादुर सुब्बाले दोस्रो प्रकाशन गरी प्रचार गरे । लेफ्टिनेण्ट शेरबहादुर नेयोङहाङ, मोहन लाहाङ, कालुसिं पापो, नरवीर इजमले सन १९३० मा पाठ्यपुस्तक बनाई पाठशालामा पढाउन लगाए । हर्कजङ्ग माखिमले सन १९३१ मा शब्दकोष प्रकाशन गरे । बुद्धिराज फागो, तिलोकसिं नुगोले संगीत पुस्तक र मुन्धुम लेखि प्रचार गरे । लिम्बू साहित्यको क्षेत्रमा सिरिजङ्गा लिपि आरम्भ भएकोदेखि लिम्बू साहित्यको बिकास धेरै सुध्रिएको अनुमान गरिएको छ । भाषा लिपि र साहित्यको बिकासमा प्रतिभा लेखक, कवि तथा साहित्यकारहरूको ठुलो योगदान रहन्छ । इमानसिं चेमजोङ पछाडि काजीमान कन्दङ्वा, प्रेमबहादुर माबोहाङ, बी. बी. मुरिङ्ला, जसहाङ मादेन, पदमसिं सुब्बा, सञ्चयमान सुब्बा, अमिर चेम्जोङ, बैरागी काइँला, नवल फाईबेली, येहाङ लावती, धनप्रसाद लावती, कृष्णप्रसाद लावती, एस. अार. खजुम, बल मुरिङला, बीर नेम्बाङ, आसमान सुब्बा, चन्द्रप्रसाद यङ्या, ज्ञानोदय लावती, गुञ्जमान आङबोहाङ, भरतराज सुब्बा, लक्ष्मण लावती, खगेन्द्रसिं आङ्बोहाङ आदि (बि. स. २०५०) सम्मको अभिलेखको आधारमा मात्र ।हालमा आएर यसको अलावा याक्थुङ लिम्बू भाषा, सिरिजङ्गा लिपि र साहित्यको बिकासमा ठुला ठुला कार्यहरू भई सकेको छ । लिम्बू महाकाब्य रचना भएका छ । धेरै धेरै मुन्धुमहरू प्रकाशन भएको छ । धेरै धेरै साहित्यकार तथा मुन्धुमविद्हरूको उदय भई सकेको छ । सिक्किममा मात्र मुन्धुम बिधामा स्नातककोत्तर तहसम्मको पढाई भईरहेको अवस्था छ । पंचायतकालमा बीर नेम्बाङले विद्यालय स्थापना गरेर लिम्बू भाषा पठन पाठन गर्दा जेलचलान भएको हो । अहिले आएर लिम्बूवानमा पनि लिम्बू भाषाको पठन पाठन भईरहेको पाइन्छ ।तसर्थ कुनै कुनै विद्धवानहरूले याक्थुङ लिम्बू भाषा, सिरिजङ्गा लिपि र साहित्यको बिकासमा सत्तेहाङहरूको सारै ठुलो योगदान रहेको बताई रहेको हकमा यो भनाईको प्रतिउत्तर माथीको तथ्यहरूबाट नै प्रष्ट हुन्छ । त्यसैले याक्थुङ लिम्बू भाषा, सिरिजङ्गा लिपि र साहित्यको विकासमा सत्यहाङहाङमाको मात्र योगदान देखिनु न्याय संगत तर्क होइन । सिरिजङ्गा लिपि भनेर स्थापित भईसकेको नामलाई किरात लिपि भनेर पुन: नामाकरण गर्नु भाषिक साँस्कृतिक अतिक्रमण हो । एउटा मानिसलाई हत्या गर्दा एउटा ब्याक्तिको मात्र विनास हुन्छ भने कुनै जातिको भाषा लिपिको नष्ट गरियो भने त्यो सम्पूर्ण जातिको जातिय अस्तित्व समाप्त हुन्छ वा जातिय अस्तित्व समाप्त पार्नु हो । हाम्रो लिम्बू जातिको सामाजिक संगठन कियाचु यो अभियानमा लागेको पाइन्छ । कुनै पनि भाषा लिपि सिक्नु अध्ययन गर्नु स्वातन्त्रता हुन्छ । तर त्यो भाषा लिपिको को इतिहास नामेट गर्न खोज्नु कुनै पनि हालतमा सहि कार्य होइन । किनभने कियाचुले सिरिजङ्गा लिम्बू लिपिलाई किरात लिपि भन्दै पटक पटक संस्थागत निर्णय गरेको छ । यो कार्यले कियाचुले याक्थुङ लिम्बूको उत्थान होइन याक्थुङ लिम्बूको जातियअस्तित्व नै समाप्त पार्न खोजेको देखिन्छ । यस कार्यमा कियाचु लाग्नुको मुल कारण किरात सत्तेहाङ धार्मिक सम्प्रदायको घुषपैठ नै प्रमुख कारक तत्व हो । तसर्थ लिम्बू भाषा, लिपि र साहित्यको विकासले नेपाली साहित्यको विकासमा थप ईटा थप्ने काम गरेको छ भन्दा कुनै फरक नहोला । कतिपय नवोदित प्रतिभाहरूको थप नयाँ नयाँ साहित्यहरू साहित्य क्षेत्रमा उपलब्ध हुने क्रम निरन्तर छ …नोगेन …।।।
सन्दर्भ ग्रन्थहरू:-
१. यङहाङ्ग, मुस्कान, (बि. स. २०५०), किरात सभ्यता र साहित्यको इतिहास; सहारमुखी यङयाङ्ग परिवार गजुरमुखी-३, नाङरूङ्ग, इलाम ।२. माबुहाङ, अर्जुनबाबु र तुङघङ, भरत, (बि. स.२०७), हज्सन पाण्डुलिपिमा गोर्खा-खम्बुवान- लिम्बूवान युद्ध; विश्व याक्थुङ मुन्धुम समाज, धरान सुनसरी ।३.कुरूम्बाङ, हर्कजङ्ग, (सन २०१३), आनी पान; किरात याक्थुङ चुम्लुङ युके ।४.ईङ्नाम पापो, सेरबहादुर ,(बि. स. २०६३), किरात इतिहास र संस्कृति; डिल्लीबहादुर लिवाङ लिम्बू, लिवाङ गा. बि. स.- ३, ताप्लेजुङ ।५. सुब्बा, धनहाङ, (बि.स.२०७४), लिम्बु लोकवार्ता; श्रीमति हाङमा लाबुङ/श्रीमति अनु गुरूङ (सुब्बा) ।