याक्थुङ लिम्बू जातिमा चेली माइती बिच किन फुल आदान गर्न हुदैन

756

याक्थुङ मुन्धुममा उल्लेख भएअनुसार खाम्जिरी खाम्बोङबासा लुङजिरी लुम्बोङबासा (धर्ती पुत्री) मुजिङनामा खेयोङनामाको हावा संग संसर्ग भइ एकजना मानबको जन्म हुन्छ उसको नाम सुसुवेन लालावेन राखिन्छ। जवान भएपछी सुसुवेन लालावेनको नाम सावा युक्फुङ केम्बा राखिन्छ। सावा युक्फुङ केम्बाले जवान भएपछि चारजना खाम्बोङबासा लुम्बोङबासा (धर्ती पुत्री हरु)हरुसंग बिबाह गर्छन। ती मध्ये जेठी श्रीमती थोसुलुङमा फियालुङमा संग हिमाली जंगल हरुमा सिकार खेल्ने क्रममा भेट हुन्छ र एकाअर्काबिच मन परापर भइ बिहे हुन्छ। तिनै थोसुलुङमा फियालुङमाको कोखबाट सुत्छुरु सुहाम्फेवाको जन्म हुन्छ। थोसुलुङमा फियालुङमा गर्भिणी भएको बेला उनको सुसारे सिसारी फान्दारी संग सावा युक्फुङ केम्बाको सम्बन्ध रहि एकजना सन्तान साङदाङखेवाको जन्म हुन्छ। सिसारी फान्दारी लाई सावा युक्फुङ केम्बाको दोस्रो श्रीमती मानिन्छ।

एकदिन सावा युक्फुङ केम्बा मधेस तिर सिकार खेल्न जान्छन त्यहा पनि उसको एकजना सुन्दर केटि संग भेट हुन्छ र एक आपसमा आकर्षित हुँदै उनिहरुबिच शारीरिक सम्बन्ध कायम हुन्छ र तिनै तेस्रो श्रीमती योसु मुक्कुमलुङमा बाट तेत्लारा लाहादोङनाको जन्म हुन्छ। योसुमुक्कुमलुङमा गर्भिणी भएको बेला सावा युक्फुङ केम्बाको सादिल्ली दिल्लिहाङमा भन्ने योसुमुक्कुमलुङमाको सुसारे संग सारिरिक सम्पर्क रहन गइ एकजना छोरा लुङदाङखेवाको जन्म हुन्छ। सादिल्ली दिल्लिहाङमा लाई सावा युक्फुङ केम्बाको चौथो श्रीमतीको रुपमा मुन्धुममा उल्लेख भएको पाइन्छ।

-सुत्छुरु सुहाम्फेवा र तेत्लारा लाहादोङना (चेली माइती) को भेट कसरी हुन्छ?

जवान हुँदै गएपछी एकदिन सिकार खेल्ने क्रममा सावा युक्फुङ केम्बाको दोस्री श्रीमती सिसारी फान्दारिको छोरा साङदाङखेवा र चौथो श्रीमती सादिल्ली दिल्लिहाङमा पटिको छोरा लुङदाङखेवाको पनि भेट हुन्छ। उनी हरुमा एकाआपसमा चिनाजान हुन्छ र एकै बाबुको सन्तान भन्ने थाहा हुन्छ। आफू हरु सानो हुदा आफ्नो आमा हरु नोकरनी भएका कारण दाजु सुत्छुरु सुहाम्फेवा र दिदी तेत्लारा लागादोङना बाट सारै हेपिएको र दुर्व्यवहार गरेको कुरा हरु एक आपसमा गर्छन। त्यो रिस फेर्न अब यी दुई दाजुभाइले आफ्नै दाजु र दिदी बिच बिहे गराइ दिने योजना बनाउछन।

उनी हरुले सिमिक्ला (मालिङगो) को पातको थैलो र कोम (बिनायो) र काँगियो बनाए अनि सुम्दाङखेवाले आफ्नो दाइ सुत्छुरु सुहाम्फेवा लाई थैलो र काँगियो लगेर दिदै मैले एउटा सुन्दर केटि भेटेर आएको छु, यो चिज त्येहि सुन्दरी केटि लाई दिनु भनेर भन्छ। उता लुङदाङ खेवाले पनि बिनायो लगेर दिदी तेत्लारा लाहादोङनाको हातमा दिदै एक सुन्दर युबा मैले सिकार खेल्न जाँदा भेटेको थिएँ उसलाइ यो दिएर फकाउनु भनेर भन्छ। केहिदिन पछि साङदाङखेका र लुङदाङखेवाले एकान्त ठाउँमा ती दुइजना सुत्छुरु सुहाम्फेवा र तेत्लारा लाहादोङनाको भेट गराए। एक आपसमा चिनजान गराए। ती दुइजनाले कांगियो थैली र बिनायो साटासाट गरे। तिनी हरु मन परापर भए तर हिमाल र मधेसमा जन्मिएको कारण एकै बाबुको सन्तान भनेर थाहा पाएनन। साङदाङखेवा र लुङदाङखेवाले उनिहरुको बिबाह गरिदिए र साङदाङखेवा डाँफेको रुपधारण गरि हिमाल तिर गएर उतै बिलाए भने लुङदाङ खेवा मधेस तिर मुनालको रुप धारण गरि उतै बेगिएर हराए।

-सुत्छुरु सुहाम्फेवा र तेत्लारा लाहादोङनाको बिछोड कसरी भयो?

सुत्छुरु सुहाङफेवा र तेत्लारा लाहादोङनाको दिनचर्या चलिरहेको थियो। उनी हरु बाट सत्र सन्तानको जन्म भयो। उनी हरु संग एक माउ कुकुरनी पनि थियो। एकदिन तेत्लारा लाहादोङनाले दैलोको छेउमा रहेको कुकुरनी लाई कुच्चोले हिर्काइन। त्यो कुकुर भागेर सिकुवामा गयो। त्यहा बाट पनि खेदाइन आगनमा गयो त्यहा बाट पनि खेदाएपछी त्यो कुकुरले तागेरा निङ्वाफुमा फुमामाङ कहाँ गइन र आफुले भोगेको दुख उजुर गरिन। तागेरा निङ्वाफुमा माङले पोरोक्मिभा याम्फामिभा माङ लाई त्यो घटना बुझ्ने सल्लाह दिए। पोरोकमिभा याम्फामिभा माङ आएर बुझ्दा उनिहरु सावा युक्फुङ केम्बाका छोरा र छोरी रहेछन। यिनी हरु हाडनाता भित्रका रहेछन अब छुटाउनु पर्छ भन्ने निर्णयमा पुगेछन।

उनी हरु अनबिग्य छन र अब छुटानाम गराउनु पर्छ भनेर पोरोक्मियाम्फामी माङले निर्णय गरेपछी। अठार १८ जना सन्तान हरु भाग लगाउने परे। जसको लागि सुनको चाल्नी प्रयोग गरियो। चाल्नीमा रहेको बाबुको र छिरेको आमाको भागमा रहने निर्णय भयो। चाल्निमा नछिर्ने ९ जना पेगि फाङसाम भए भने छिर्ने आठ ८ जना सावा येतहाङ भए। एकजना बिचैमा अड्किएको छोरी नै सामुधुङ्मा येप्माधुङमा फेदाङमा हरुको प्रमुख आमाहरु मध्ये महान गुरु कहलिए।

यसरी सन्तान बिभाजन पश्चात् सुत्छुरु सुहाम्फेवा र तेत्लारा लाहादोङना कहिले नभेट्ने कसम खाएर छुटे र यहि बिभाजन पश्चात् सुत्छुरु सुहामफेवाले आफ्नो नाम सोधुगेन लेप्मुहाङ राखे भने तेत्लारा लाहादोङनाले पनि आफ्नो नाम थिल्लिलुङ थाम्देनलुङमा राखिन। उनी हरुले धरतिमा मानव जातिका रक्षाको लागि विभिन्न राम्रो भुमिका खेले भनेर मुन्धुममा उल्लेख भएको पाइन्छ।

-लिम्बू जातिमा चेली माइती बिच फुल आदान प्रदान गर्न किन हुदैन?

यसरी सुत्छुरु सुहाम्फेवा (सोधुगेन लेप्मुहाङ) को तेत्लारा लाहादोङना संग छुटानाम भइ सके पछि लाओती फुङफाहाङमा संग दोश्रो बिबाह हुन्छ। उनिहरुको पनि जुम्ल्याहा छोरा र छोरि पाइजाबा र इरेरे इधुक्नामा जन्म हुन्छन। जो गर्भ मानै हाडनाता सम्बन्ध रहेको भन्ने उल्लेख छ। यसबारेमा पाजाइबा, लुप्लिना वदङनामा र इरेरे इधुक्नामा बीचको एउटा मुन्धुम यस्तो छ कि, पाजाइबा र इरेरे इधुक्नामा चेली माइति हुन् । शुरुमा उनीहरु बीच हाडनाता विहे भएको हुन्छ तर समाजले उनीहरुलाई नरुचाएपछि माइती पाजाइबाले अर्कै केटी खोजिहिँड्छ । दुई वा तीन जना चाहिँ चेलीको आँखीडाही बुझेर फर्किन्छन् । अन्तिम्मा पातलकी सुन्दरी लुप्लिना वदङनामा संग भेट हुन्छ र ति लुप्लिना वदङनामा चाहिँ घरजम गरि बस्छन् ।

उनीहरुको एउटा बच्चा जन्मन्छ । बच्चा कोक्रोमा हल्लाउँदै बस्दा चेली इरेरे इधुक्नामाले हाडनाता बाट जन्मिएको अलच्छिना भन्दै सराप्दै गीति लय (लोरी) मा कोक्रो हल्लाउँदै बस्दा उनको भाउजु अथवा लुप्लिना वदङनामा रिसाउँछिन् । यो कुरा पाइजाबा लाई सुनाउछिन। पाइजाबाले तुरुन्तै तरवार प्रहार गरि चेली लाई मार्न खोज्छन। तर लुप्लिनाले रोक्छन। तेसपछि भाउजु अथवा लुप्लिनामाले पाजाइबालाई विभिन्न प्रकारका फूलहरु लिन पठाउँछन् । गाउँका अन्य युवतीहरु समेतको भेला गराइ चेली इरेरे इधुक्नामालाई पनि एउटा फूल दिन लगाउँछन् । युवतीहरुलाई बाँडिएका फूलहरु मध्ये चेली इरेरे इधुक्नामालाई दिइने फूलमा मन्त्र जडिएको बिसालु फुल हुन्छ र त्यस फूलले चेलीको दूधको फाँचोमा माइती पाजाइबाले हान्छन् ।

बिस्तारै चेली बिरामी हुन्छन् र दूध कुहिएर मर्छन् ।पाजाइबा, इरेरे इधुक्नामाका बुबा सोधुङगेन लेप्मुहाङले थाहा पाउँछन् । पाजाइबा, लुप्लिनामा र उनीहरुको बच्चालाई मृत्युदण्ड दिइन्छ । उनीहरुको बच्चालाई मूलखाम्बामा पछारेर मारिन्छ । लेप्मुहाङले वरदान दिएअनुसार त्यही नै मूलखाम्बाका देवता अक्वामा माङका रुपमा पुजनीय बन्छन् ।

यसै कारणले गर्दा खेरी हामी लिम्बू जातिमा चेली माइती बिच फुल माला आदानप्रदान गर्न हुदैन भन्ने मान्यता रहि आएको छ। बलिहाङ तङनाम मुन्धुममा कहि पनि उल्लेख भएको पाइदैन। बरु यो इतिहासमा कतै लोककथा (मिथक) भएर हाम्रो समाजमा छाप भएर बसेको अनुमान सहजै गर्न सकिन्छ। अझैपनी याक्थुङ जातिको घना बस्ती भएको ठाउँ हरुमा भाइटिका मान्ने प्रचलन छैन। यो त केवल छिमेकी र अर्को समुदाय बाट परेको प्रभाब मात्रै हो। यसो भन्दा मैले तिहार र भाइटिकाको बिरोध गरेको होइन। पक्का याक्थुङ मुन्धुम लाई अनुशरण गर्ने हरुले यो नियम पालना गर्न सजिलो होस भनेर मुन्धुम सिलासाङलो गरेर यहाँ राख्न खोजेको मात्रै हो |

याक्थुङ लिम्बू जातिमा हाङसिलाङ ओवानामा मुन्धुम, फुल जगाउने मुन्धुम, मर्दा खेरी माटो किन्ने मुन्धुम पनि यहि मुन्धुम संग जोडिएको छ। यहाँ छोटकरीमा मात्रै लेख्ने कोसिस गरेको हो । यो मुन्धुम लेख्ने क्रममा कहिकतै त्रुटि र कमजोरी हुन गएमा आदरणीय मुन्धुमसाबा तुम्याहाङ ज्यु हरु बाट औंल्याइ दिनुहुन सादर अनुरोध छ |

सेवारो।-