मिराकहाङ याक्थुङ





याक्थुङ लिम्बू समुदायमा हाल अनौपचारिक रूपमा क्रियाशील र राज्यमा कतै दर्ता नगरिएको एक संस्था याक्थुङ (लिम्बू) सयङ सहजिकरण समूह का अधिकांश पदाधिकारीहरू किरात याक्थुङ चुम्लुङका वर्तमान र निवर्तमान पदाधिकारीहरू रहेको देखिएकोले र छकलिटार भेलामा जाऔँ भन्दै कियाचुका केन्द्रीय पदाधिकारीहरूले फोन सम्पर्क गर्दै विभिन्न संघसंस्थासम्बद्ध व्यक्तिहरूलाई बोलाउने, फकाउने गरेकोले पनि उक्त सहजिकरण समूह किरात याक्थुङ चुम्लुङको रणनीतिक योजना अनुसार गठन गरिएको एक समिति हो भन्ने प्रष्ट हुन्छ ।
देखाउने दाँतका रूपमा थरगत सहजिकरण समूह र चपाउने दाँत वा सारमा चाहिँ कियाचु रहेको जगजाहेर छ । कियाचुले तेसो किन गरेको होला ? कियाचु नामबाटै भेला बोलाउँदा मानिसहरू नआउने हुन् कि भन्ने डरले ग्रसित भई त्यसो गरेको हुन सक्ने अनुमान गरिएको छ ।
याक्थुङ लिम्बूहरूको मौलिक पहिचान चरम संकटमा परिरहेको बेला त्यसलाई उचित संरक्षण गर्नको सट्टा याक्थुङ जनसमुदायलाई अलमल्याउँदै मौलिक पहिचानविहिन बनाउने कुचेष्टा किरात याक्थुङ चुम्लुङ (कियाचु)द्वारा विगतदेखि भइरहेको देखिन्छ ।
त्यसो हुनाले पनि कियाचुद्वारा आयोजित छकलिटार भेलाले आमजनमानसमा केही कौतुहलहरू उत्पन्न गराएका छन् । यस लिखतमा प्रस्तुत गरिएका केही आलोचनात्मक टिकाटिप्पणी र सुझावहरूले कियाचुको नेतृत्वलाई सही मार्गनिर्देशका लागि केही मद्दत पुग्नसक्ने अपेक्षा गरिएको छ ।
गैरकिपटिया लिम्बूहरूको भूमिका के हुने ?
सातरेनुहाङ तुम्बाहाङफे बंशावली र फेदाप लिम्बुवान, २०६३, पेज ३१० मा प्रकाशित एक सामग्री अनुसार तेह्रथुम जिल्ला, मियङलुङ नगरपालिकाको छकलीटारमा मिति २०२५/८/१६ गते शम्शेरबहादुर तुम्बाहाङ्फेको सभापतित्वमा १० लिम्बू सत्र थुमको प्रतिनिधि मण्डलद्वारा थुमगत प्रतिनिधित्व हुनेगरी आयोजना गरिएको थियो । किपट प्रणाली माटो माथिको समस्या हो र भुगोल अनुसार वा थुमगत प्रतिनिधित्व विगतको आयोजकले गराएको थियो ।
यसपालि छलफल गर्नुपर्ने पनि थुमगत अथवा भूगोल अनुरूप नै हो । तर याक्थुङ लिम्बू थरहरूको समग्र ईतिहास, संस्कृति र मौलिक पहिचानमाथि समस्या आए जस्तो ‘थरगत भेला’ भन्नु किपट भूमिसँग असङ्गतिपूर्ण हुन्छ । किपटको समस्या थरहरूको समस्या होइन, स्वामित्ववालाहरू अथवा करिब १० प्रतिशत किपटिया लिम्बूहरूको समस्या हो । तसर्थ किपटभूमि संरक्षणार्थ भन्दै हाल कियाचुले सोही स्थानमा थुमगत नगरेर थरगत प्रतिनिधित्व हुनेगरी भेला किन ग¥यो ? बुझ्न गाह्रो छ । करिब ९० प्रतिशत गैर किपटिया याक्थुङ लिम्बूका सन्तानहरू त्यस भेलामा गएर के गर्ने ? सुब्बा सुभाङ्गी प्रथा (माक्र्सवादी भाषामा भन्नुपर्दा सामन्ती प्रथा) अनुसार चल्ने किपटिया जमिन्दारहरूका लागि किपट भूमि पुनःस्थापना किन गर्ने ? उत्तर पाउन मुस्किल छ ।
अल्पमतको भेला र वैधानिकताको सवाल
एक अध्ययन अनुसार याक्थुङ लिम्बू जातिका ३८० वटा थर–उपथरहरू छन् भन्ने देखिन्छ । तर खोज–संकलन गर्ने हो भने करिब ५०० भन्दा बढी थर–उपथरहरू पाउन सकिने सम्भावना रहेको बताइन्छ । सबै थरहरूको थरगत संघसंस्थाहरू छैनन् । किरात याक्थुङ चुम्लुङले थरगत प्रतिनिधित्व हुनेगरी आयोजना गरेको तेह्रथुम जिल्लाको छकलिटार भेलामा २७ नवेम्बर (मंसिर ११ गते) सम्ममा १०८ हाराहारीको संख्यामा मात्रै थर–उपथरहरूको प्रतिनिधिमुलक भेला हुने बताइएको छ ।
अर्को स्मरणीय के छ भने, किरात पक्षधर व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरूको मात्रै भेला हुने देखिन्छ । केही तटस्थ व्यक्तिहरू र किरात विपक्षी याक्थुङहरूको उपस्थिति कम मात्रै रहने बुझिएको छ । के किरात पक्षधरहरूको अल्पमतको भेलाले कुनै महत्वपूर्ण विषयहरूमा गर्ने–गरिने निर्णयहरूको वैधानिकता र याक्थुङहरूको चो?लुङ उठेको मान्न सकिएला ? पर्खेर हेरौँ ।
जाति, भाषा र धर्म बारे कियाचुको दुविधा
डा–चन्द्रकुमार सेर्मा र वर्तमान किरात धर्मगुरू आत्मानन्द लिङदेन सेइङको पहलमा वि. संं. २०३६ सालमा किरात धर्म तथा साहित्य उत्थान संघ स्थापना भयो । यसको अर्थ हो– किरात धर्म भनी नामकरण गरी सर्वप्रथम राज्यमा दर्ता गराइ प्रचार गर्ने, राज्यलाई किरात धर्म चिनाउने कार्यको जस तिनीहरूलाई नै जान्छ । वि. सं. २०४६ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङको आफ्नो २०४९ को महाधिवेसन मार्फत किरात धर्म लाई नै समर्थन गर्दै याक्थुङ जातिको धर्मको नाम संस्कृत भाषामा किन राख्यो ? याक्थुङ भाषामा आफ्नो धर्मको नाम राख्न किन चाहेन ? किनभने धर्मको नाम किरात राखेर कियाचुले सत्यहाङ्मापन्थलाई नै पछ्याउन र पूर्ण समर्थन जनाउन पुग्यो । त्यसैगरि आफ्नो छुट्टै मौलिक पहिचान याक्थुङ छँदाछँदै कियाचुले किरात धर्म लेखाउने राई, सुनुवार, थामी, जिरेल आदि केही किरातजन्य संघसंस्थाहरूको पिछलग्गु किन बन्न पुग्यो ?
मिति २०७५/११/२९–३० गते धनकुटा जिल्लाको पावरक–मावरक (राजारानी)मा सम्पन्न कियाचुको २२औं राष्ट्रिय चुम्लुङद्वारा २०७५/१२/०१ मा जारी गरिएको पे्रस विज्ञप्तिको बुँदा नं. ४ अनुसार “किरात धर्मको मूल मर्म र मुन्धुमको सारतत्व नै तागेरा निङवाभू माङ हो । किरात धर्मको दर्शन नै मुन्धुम हो जहाँ जीवन र जगत व्याख्या हुन्छ । किरात धर्मको दर्शन मुन्धुम भएकोले मुन्धुममा वर्णित मुन्धुमीय आधारमा कर्मकाण्डीय अनुष्ठानहरूका साथ फेदाङमा, साम्बा, येवा, युमा, सेवासावा आदिले गर्दै–गराउँदै आएका कार्य नै किरात याक्थुङ चुम्लुङले अवलम्बन गरेको ‘किरात धर्म’ हो…” भनी लिपिबद्ध गरिएकोले प्रश्न उठ्छ, १६औं राष्ट्रिय विभूति तथा महागुरू फाल्गुनन्दद्वारा प्रतिपादित धर्म हाल किरात धर्म भनिने सत्यहाङमा पन्थमा अभ्यास गरिने चरूहवन (होमहोमादि), देबे्र परिक्रमा, शङ्ख, डम्मरू, त्रिशुल, एकतारे, कमण्डलु, नागपञ्चमी आदि याक्थुङ लिम्बू जातिका कुन–कुन माङ, साम्माङहरूका लागि प्रयोग गरिएका हुन् ? ती होमहोमादि, नागपञ्चमी जस्ता कर्मकाण्डीय अनुष्ठानहरूको मुन्धुमीय आधार के छ ? तुत्तु तुम्याहाङ, फेदाङमा, साम्बा, येबाहरूको उत्पतिकथा सावायेहाङ याक्थुङ मुन्धुममा वर्णन भएको पाइन्छ तर सेवासाबाको उत्पतिकथा मुन्धुममा कहाँनेर पाइन्छ ?
तथाकथित किरात एकताले मौलिकता जोगाएको खोई ?
किरात धर्म लेखेर संख्या ठूलो देखाउँदैमा र तथाकथित खोक्रो किरात एकता हुँदैमा उपलब्धी के भयो ? हामीले के पायौँ ? कथित खोक्रो किरात एकताले हाम्रो धार्मिक साँस्कृतिक मौलिकताको संरक्षण हुन सक्यो कि सकेन ? मुन्धुम र धर्म–संस्कारहरूको क्षेत्रमा के कति कार्यहरू गर्न सक्यौं ? तुतु तुम्याहाङ, फेदाङमा, साम्बा, येबा, येमा आदि जस्ता परम्परागत याक्थुङ पुजारीपुरोहितहरूको मर्म, भावना र चाहना के छ ? हामीले किन सोधेनौँ ? संस्कृत शब्द किरात को प्रयोग याक्थुङ जाति र सिरिजङगा लिपिको अगाडि किन गर्ने ?
जतिसुकै ठूलो संख्याले किरात धर्म लेखाए तापनि त्यसको फाइदा किरात धर्मगुरू आत्मानन्दलाई नै पुग्छ । विगत २०४८ देखि २०६८ सम्मका राष्ट्रिय जनगणनाहरूमा किरात धर्म लेखाइयो । किरात राईहरू र किरात धर्मगुरु आत्मानन्दसँगको त्यो खोक्रो किरात एकता टुट्छ कि भन्ने भयले कियाचुले याक्थुङ जातिको मौलिक मुन्धुम, धर्म, संस्कार, सँस्कृतिहरूको क्षेत्रमा जनसमुदाय माझ खुला छलफल, गोष्ठी र अन्तरक्रियाहरू आयोजना गर्न हिम्मत गरेन । समुदायलाई किरातमा जबर्जस्ती अड्याउन बल गरिरह्यो । यसको अर्थ हो– कियाचुले तथाकथित किरात एकताको नाममा याक्थुङ समुदायलाई मौलिक पहिचानविहिन बनाउँदै करिब ३२ वर्षसम्म भ्रम र गुमराहमा राखिरह्यो ।
के हिन्दू राज्यसत्ताको दास संस्था हो कियाचु ?
याक्थुङ लिम्बूहरूले आफूलाई आफ्नो मातृभाषा याक्थुङ पाःनमा याक्थुङ भन्दछन् । आफ्नो पुख्र्यौली तथा मातृभाषालाई याक्थुङ पाःन भन्दछन् । मातृभाषा याक्थुङ पाःनमा हामीले आफू र आफ्नो मातृभाषालाई लिम्बू भन्दैनौँ । तर कियाचुले वि. सं. २०४८ को राष्ट्रिय जनगणनामा पर्चा मार्फत अपिल गरेजस्तै वि. सं. २०७८ को १२औं राष्ट्रिय जनगणनामा पनि आम याक्थुङ जनसमुदायलाई, जातिमा लिम्बू, पुख्र्यौली र मातृभाषा लिम्बू लेख्न–लेखाउन उर्दी जारी ग¥यो । तर्क के गरियो भने लिम्बू नलेखे राज्यले चिन्दैन, राज्यले दिने अवसर र सुविधाहरू गुमाइन्छ आदि भनियो ।
एक सुवर्ण अवसर रहेको राष्ट्रिय जनगणनामा मौलिक पहिचान स्थापित गर्ने हिम्मत नगरेर हिन्दुवादी राज्यसत्ताले याक्थुङ जातिलाई जसरी चिन्छ त्यसरी नै रहिरहन कियाचुले उर्दी जारी किन गर्यो ? हिन्दू बाहुन मालिक (राज्य)ले जसरी बोलाउँछ, जसरी चिन्छ त्यसैगरी आफूलाई चिनाउन पर्ने, शरण पर्नु पर्ने जस्तो निर्देशनात्मक उर्दी कियाचुले जारी किन ग¥यो ? के कियाचु हिन्दुवादी राज्यसत्ताको निरीह दास संस्था हो ?
याक्थुङ र लिम्बू शब्दको जालझेल
२०७८ सालको राष्ट्रिय जनगणनामा जाति र भाषामा लिम्बू लेख्न आमसमुदायलाई उर्दी जारी गर्ने अनि जनगणना सकिएको सातौं दिनपछि मंसिर १६ र १७ गते आयोजना गरिएको छकलिटार भेलामा बोलाउँदा चाहिँ याक्थुङ (लिम्बू)हरू भेला होऔँ है भन्दै कियाचुले किन झुक्याएको ? अझ याक्थुङहरूको चो?लुङ उठाउने जस्ता शब्दको प्रयोग गर्दै याक्थुङ लिम्बू जनसमुदायलाई ढाँटढुट, जालझेल गर्दैै हिँड्नु पर्ने बाध्यता कियाचुलाई किन आइप¥यो ?
विजयपुर दरबार उत्खनन काण्डमा कियाचुको अगुवाई
२०७४ चैत्रतिर सुनसरी जिल्ला, धरान उमनपाको ऐतिहासिक पुरातात्विक महत्वको विजयपुर दरबार क्षेत्रमा पानीट्याङ्की निर्माण गर्ने उद्देश्यले डोजर प्रयोग गरी उत्खनन् गर्ने कार्य भएको थियो । व्यापक जनविरोध भएपछि उत्खनन कार्य रोकियो । उक्त उत्खनन कार्यका लागि कियाचुको अगुवाईमा १८ बुँदै सहमतिपत्र तयार पारिएको थियो । ताल परे आफ्नै ऐतिहासिक थातथलोहरू मास्ने, बेच्ने संस्थाका रूपमा बदनाम कियाचुले किपट पुनःस्थापना, भूमि अधिकार र याक्थुङ चो?लुङ उठाउने जस्ता शब्दहरू प्रयोग गरिरहँदा किन र कसरी पत्याउने ?
मुन्धुमी थातथलोहरूमा अतिक्रमण हुँदा मुकदर्शक
याक्थुङ जातिको मुन्धुमी महत्वका ऐतिहासिक, पुरातात्विक स्थलहरूमा अतिक्रमण भई याक्थुङ जातिको चो?लुङ ढल्दा समेत कियाचु मुकदर्शक बनेको देखियो । याक्थुङ समुदायलाई हिन्दूधर्मी बनाइरहेका किरातधर्मीहरूले मेन्छ्यायेम थेगु, तागेरा निङखुरी फुक्कु र नाहाङमा यक आदि जस्ता पवित्र मुन्धुमी आस्थाका थातथलोहरूमा अनाधिकृत रूपमा मूर्ति तथा माङहिम (मन्दिर)हरू निर्माण गरी ती ठाउँहरूको प्राकृतिक सौन्दर्य र परम्परागत याक्थुङ धार्मिक–मौलिक पहिचान नष्ट गरिरहँदा कियाचुले कुनै ठोस प्रतिक्रिया दिन सकेन । चुच्चे हिन्दूले अतिक्रमण गर्दा मात्रै विरोध गर्ने तर नेप्टे हिन्दूले अतिक्रमण गर्दा मुकदर्शक बन्ने कियाचुको प्रवृत्ति अनौठो देखिन्छ । जोसुकैले अतिक्रमण गरे तापनि त्यसको विरोध गर्न सक्नु पर्दछ । सहीलाई सही र गलतलाई गलत हाकाहाकी भन्न सक्ने दम र क्षमता कियाचुमा किन नभएको ?
निरङ्कुश, अहंकारी र अलोकतान्त्रिक नेतृत्व
कियाचुको नेतृत्व अलोकतान्त्रिक, अहंकारी, निरंकुश र बेइमान रहँदै आएको देखिन्छ । यसको नेतृत्वले याक्थुङ मुन्धुम अध्ययन नगरेको र मुन्धुम अध्येता एवं विज्ञहरूको रायसल्लाह पनि ग्रहण गर्न नसकेको देखियो । छकलिटार भेला आयोजक देखिएको थरगत सहजिकरण समूहको नेतृत्वमा मुन्धुम अध्ययन गरेका मुन्धुमविज्ञहरू खै को छन् त ?
मुन्धुममा युमा र याक्थुङ जस्ता शब्दहरू पाइने हुनाले सहजता र इमान्दारपूर्वक स्विकार्न पर्नेमा उल्टै विरोध र अपव्याख्या गर्ने अहंकारी, पाखण्डी प्रवृत्ति कियाचुको नेतृत्व पङ्क्तिमा देखियो । केहीले मुन्धुम अध्ययन गरेको भएता पनि मुन्धुमको मर्म, भावना र महत्व विपरित गई किरातमा जोडेर व्याख्या गर्ने गर्दछन् ।
युमा धर्मको अनुयायी बनेकोमा आफ्ना केही पदाधिकारीहरूलाई कारबाही गरेको, संस्थादेखि बाहिरिन धम्क्याएको र अनावश्यक केरकार गर्दै निरुत्साहित गर्ने गरेका दृष्टान्तहरूले कियाचुको नेतृत्व अलोकतान्त्रिक र निरङ्कुश बनेको छ । कियाचुको केन्द्रीय तथा जिल्ला कार्यालयहरूमा युमा शब्द उच्चारण गर्न अघोषित रूपमा प्रतिबन्ध लगाइएको आतङ्कपूर्ण वातावरण छ । कियाचुमा आबद्ध युमाधर्मीहरूलाई प्रायः शङ्का र हेयको दृष्टिले हेर्ने गरिन्छ ।
एउटा सिङ्गो जातीय समुदायमा अनेक धार्मिक आस्था राख्ने समूहहरू भए जस्तै याक्थुङ जातिमा पनि अनेक धार्मिक आस्था राख्ने परिवार तथा समूहहरू हुनु आधुनिक युगमा स्वाभाविकै मान्न पर्दछ । अनेक मतमतावलम्बी याक्थुङ लिम्बूहरूलाई फराकिलो हृदयले समेट्न पर्नेमा केवल किरात धर्मीहरूलाई मात्रै काखी च्याप्ने कियाचुको सौतेनी व्यवहारले बेफाइदा उसैलाई भएको छ ।
कियाचु गाउँदेखि कलेज पढ्न सहर छिरेका केही सहरिया लिम्बूहरूले सेजीगुजी बटुलिन खान खडा गरेको एउटा क्लब जस्तो मात्रै बन्न पुगेको छ । कियाचुका शिर्ष केन्द्रीय नेताहरू फेरबदल भइरहेका हुन्छन् तर नेतृत्वको प्रवृत्ति उही उस्तै रहने गरेको छ– अहंकारी, निरङ्कुश, अदूरदर्शी र अलोकतान्त्रिक ।
चो?लुङ हराएको र माङ्गेन्ना ढलेको संस्था
बहुसङ्ख्यक याक्थुङ जनसमुदाय कियाचुको पहुँच र सम्पर्कदेखि बाहिर छन् । ग्रामिण इलाकाहरूमा कियाचुको जनाधार लगभग शून्य छ । मुस्किलले पुग–नपुग १५–२० प्रतिशत भन्दा कम जनाधार भएको संस्था कियाचुले ग्रामिण क्षेत्रमा कस्ता कार्यक्रमहरू लिएर जाने त ? केही देखिँदैन । हुन पनि के भइदियो भने मौलिक पहिचानका लागि मुन्धुम, युमा र याक्थुङ जति युमा साम्यो अभियन्ताहरूले बोकेर लगे । किरात पहिचानको अभियान किरातधर्मीहरूले बोकेर लगे । अब कियाचुले चाहिँ के बोकेर हिँड्ने ? समुदायमा कसरी आफ्नो स्थान सुरक्षित गर्ने ?
कियाचुले केवल प्रयोग मात्रै गरिरहेको देखिन्छ– यो पो बोक्ने कि त्यो पो बोक्ने कि ? यसो पो गर्ने कि त्यसो पो गर्ने कि ? कियाचुको अवस्था एउटा चमेराको जस्तो बन्न पुगेको छ । चराहरूसँग भेट्दा पखेटा देखाउँदै म पनि चरा नै हुँ भन्छ । पशुहरुसँग भेट्दा ङिच्च दाँत देखाउँदै म पनि पशु नै हुँ भन्छ । भाले भनुँ भने सिउर छैन, पोथी भनुँ भने अण्डा पार्दैन । युमाधर्मीसँग भेट्दा युमाधर्मी हुँ भन्ने किरातधर्मीसँग भेट्दा किरातधर्मी हुँ भन्ने कियाचुले आफ्नो मानसिक सन्तुलन गुमाइरहेको अवस्था देखिन्छ ।
विगतमा विजयपुर दरबारक्षेत्र उत्खननको अगुवाइ गरेको जस्ता केही अनपेक्षित गतिविधिहरूका कारण याक्थुङ जनसमुदायमा कियाचु बदनाम बनेको थियो । आम जनसमुदायमा ईज्जत–प्रतिष्ठा गुमेर त्यस संस्थाको नाधामा (शिर ढल्नु) भएको थियो । जुन संस्थाको चो?लुङ नै छैन, माङगेन्ना ढलेको छ, त्यस्तो संस्थाले सम्पूर्ण याक्थुङ जातिको चो?लुङ उठाउँछु भन्दा कसरी पत्याउने ? कियाचुले पहिले आफ्नो नाहाङ्मा अनुष्ठान आयोजना गर्न जरूरी छ ।
आफ्नो हराएको चो?लुङ खोज्न तथा ढलेको माङ्गेन्ना उठाइदिनका लागि थरगत याक्थुङहरूलाई गुहार्दै कियाचुले तेह्रथुम जिल्लाको छकलिटारमा भेला बोलाएको अनुमान गरिएको छ । कुनै चटकेले क्यान्सर निको पारिदिन्छु भन्दै नक्कली दबाइ बेच्न बोलाएको भेला जस्तो अथवा पैसा उठाएर वनभोज खाए जस्तो मात्रै पो हुने हो कि छकलिटार भेला ? कतिपयले त्यस्तै अनुमान गरेका छन् ।
आशा गरौँ, कियाचुले निरंकुश, अहङ्कारी प्रवृत्ति र अलोकतान्त्रिक स्वभाव त्यागेर विगतका भूलहरू उपर गम्भीर समिक्षा गर्दै आफूलाई सच्याएर हिम्मतका साथ अघि बढ्न सकोस् । खासगरि अति विवादित किरात संस्कृत शब्द परित्याग गर्दै सघन मुन्धुमी मौलिक पहिचानका आधारस्तम्भहरू “युमा र याक्थुङ’का पक्षमा हार्दिक स्विकृति जनाउन सक्नु पर्दछ । आम जनसमुदायको चाहना, मर्म र भावनाको बेवास्ता गर्दै, युमा तथा याक्थुङको विपक्षमा रही याक्थुङ जातिको मौलिक पहिचान विपरित घमण्डपूर्वक हिँडिरहे कियाचुको भविष्य के होला ? यसै भन्न सकिन्न ।
कियाचुले आगामी दिनमा धर्मनिरपेक्ष वा धर्मतटस्थ रहन पर्ने हो कि भन्ने गजबको परिस्थिति पनि सिर्जना हुन पुगेको छ । कियाचुले याक्थुङ जनसमुदायलाई यो धर्म लेख र त्यो धर्म नलेख खबरदार भनी धम्याउँदै उर्दी जारी गर्ने हैसियत गुमाइसकेको छ ।
हालै सम्पन्न १२औ राष्ट्रिय जनगणनामा जाति र भाषामा लिम्बू तथा धर्ममा किरात लेख भन्ने कियाचुको पटकपटक गरिएको उर्दीको घोर असहमतिका साथ अवज्ञा गर्दै मौलिक पहिचान स्थापित गर्न याक्थुङ र युमा धर्म लेख्ने–लेखाउने पक्षमा व्यापक जनलहर प्रकट भएको छ । यसबाट पनि अनुमान लाउन सकिन्छ कि जनसमुदायमा कियाचुको स्थान कहाँ छ, प्रभाव र प्रतिष्ठा कति छ त ?
यस्तो किन भयो ?
कियाचुको अहङ्कारी नेतृत्वले ठण्डा दिमागले सोच्न सके उसैलाई राम्रो हुनेछ । धर्मसँगसँगै याक्थुङ लिम्बू समुदायको आदिमूलवासीय हकहित प्राप्ति, समृद्धि तथा विकासका लागि काम गर्नपर्ने महत्वपूर्ण क्षेत्रहरू धेरै छन् । अहंकारी, दम्भी र सङ्कीर्ण सोचका केही लिम्बूहरूको मात्रै होइन, कियाचुले फराकिलो अनि हदैसम्मको लचिलो दायरा अपनाउँदै युगानुकुल मार्गनिर्देश गर्नसक्ने सम्पूर्ण याक्थुङ लिम्बूहरूको साझा र महान् संस्था बन्न सक्नु पर्दछ ।
…..
मिति २०७८ मंसिर १० गते ।