नेपालमा जोसमनी सन्त परम्परा र सत्यहाङमा पन्थ

795

याक्थुङ् सा

१. पृष्टभूमी:-
उत्तर बैदि्ककालमा हिन्दु धर्म उत्कर्षमा पुगेको बेला यसमा हिंसा र जाति कुलको भेदभाव अति कठोर रूपले बडेर गएको हुनाले यसको बिरूद्धमा इशापूर्व छैटौं शताब्दीमा जैन धर्मको उदय वा प्रादुर्भाव भएको थियो । यो धर्म हिंसाको अति उग्र बिरोधी भएकोले स्वतः मध्यमार्गीको रूपमा इशापूर्व पाचौं शताब्दीमा बौद्ध धर्मको उदय भयो । यस बौद्ध धर्ममा फेरी पनि ब्राम्हणबादको हाली मुहाली बढ्न गएकाले इशाको छैटौं शताब्दीमा यसै बौद्ध धर्म भित्रबाट महायान पन्थको जन्म भएको भनिन्छ । फेरी यसपछि इशाको सातौं शताब्दीमा अझ खुल्ला धार्मिक आचार संहिता भएको सहजयानको प्रादुर्भाव यसै धर्मबाट भयो
। यस पन्थले इशाको चौधौ शताब्दी सम्म आफ्नो प्रभुत्व कायम राख्यो । यसको प्रभाव नेपालमा पनि पर्न गयो ।
नेपालको सन्त परम्परामा चौरासी सिद्धहरूको नाम अग्रणी स्थानमा आउछ । उनीहरू सहजयानका प्रचारक तथा शिवमार्गी थिए भनिन्छ । यस परम्पराको पहिलो मठ भारतको पन्जाव गडवालको क्यो कालेश्वर मठलाई भनिन्छ । यसपछि यस मतको प्रसिद्ध मठ स्वार्गदारी पनि हो । यसै सन्त परम्परा मध्येको एक जोसमनी सन्त परम्परा पनि हो । नेपालमा यो जोसमनी सम्प्रदायका आदीम प्रवर्तक जोसमनी नै थिए । उनैको नामबाट यस धार्मिक पन्थको नाम जोसमनी रहन गएको हो । शुरूमा यो जोसमनी मतको प्रचार पश्चिम नेपालमा भएको थियो । अठारौं शताब्दीमा पृथ्वीनारायण शाह नेपालका राजा भएपछि पूर्व नेपालमा पनि यस जोसमनी सन्त परम्पराले फैलिने राम्रो मौका पायो । राजा पृथ्वीनारायण शाहका थुप्रै भारदारहरू यस जोसमनी मतमा लागेको पाइन्छ । राजा पृथ्वीनारायण शाहको
शेखपछि राजा रणबहादुर शाहको पालामा राजा रणबहादुर शाह स्वयम् यस मतमा दिक्षित भएर ” स्वामी निर्वाणनन्द” बनेका थिए । यस परम्पराका प्रख्यात नेपाली सन्त शशीधर स्वामी ( १८०४-१९०६) हुन् । शशीधरको जन्म पश्चिम नेपालको त्रिसुल गंगाको आसपासमा बिष्णु उपाध्याय बाहुनको पुत्रको रूपमा भएको थियो । शशीधर स्वामी भारत उडिंसाको जग्गनाथ धाममा गएर त्यहाँका चौरासी सिद्धहरूसँग बज्रयान र हठयोगी सन्त दरियाँसँग बैशणव मतको अध्ययन र सत्सँग गरेका थिए भनेर भनिन्छ । र उनी बिक्रम संम्बत १८२७ तिर काठमण्डौ आएर यस मतको प्रचार प्रसारमा लागेका हुन् । यस ५ बर्षको अवधिमा उनले पृथ्वीनारायण शाहका धेरै जस्तो भरदारहरूलाई आफ्नो चेला बनाएका थिए । खासमा शशीधर स्वामी र राजा पृथ्वी नारायण शाहको सल्लाह बमोजिम खम्बुवानमा नेपाल एकिकरणको युद्धबाट त्रसित रैतीहरूलाई युद्धको त्रासदीपूर्ण अवस्थाको बिसमृतिको लागि यो धार्मिक मत प्रचार प्रसार गरिएको थियो । प्राज्ञ बैरागी काइँलाका अनुसार प्रारम्भमा जोसमनी मतमा लाग्ने सन्तहरू ब्राम्हण कुलका देखिएता पनि निरषदिलले अडेषदिललाई दिक्षित गराए पछि राई जाति भित्र यो मत लोक प्रिय हुनपुग्यो ।उहाँले यसै लेखमा वल्लो किरात र माझ किरातमा नेपाल एकिकरण युद्धको कारण विजित मानिसको पराजित मनस्थितिबाट पलायन तथा मुक्तिका लागि उत्तमा मार्ग जोसमनी धार्मिक मार्ग हुन सक्ने उल्लेख गरेका छन् । यसरी शशीधरले बनाएका मगर चेला मोक्षदिल, गुरूङ चेला शेषधर, सुनुवार चेला माया मण्डल, ब्रहम्ण चेला प्रेमदिल, शशीधरले प्रेमदिललाई जोसमनी मतको प्रचार गर्न पूर्वतिर खटाई पठाए । लिम्बूवान पाँचथर नाङ्गिनका एक उपाध्याय बाहुनले जोसमनी मत ग्रहण गरी श्यामदिलदाश भएर वा बनेर लिम्बूवान र अोखलढुङ्गा खार्पाका एकजना पोख्रेल बाहुन निरषदिल दाश बनेर माझ किरात भोजपुर क्षेत्रमा यो जोसमनी मतको प्रचार प्रसार गरे । यसबाट स्पष्ट हुन्छ कि लिम्बूवान र खम्बुवानमा यस जोसमनी मतको प्रचार १८३० को अन्ततिर सुरू भएको थियो । तसर्थ याक्थुङ / लिम्बू समुदायमा जोसमनी परम्परा र यसको पृष्टभूमि भएको फाल्गुनन्दको धर्मको प्रभाव पनि छ । त्यसकारण यसको बारेमा चर्चा गर्नु आवश्यकता महसुस गरिएको हो । तसर्थ यसलाई फाल्गुनन्द वा जोसमनी सम्प्रदाय / पन्थ वा सत्यहाङमा वा किरात धर्म भन्न कति उचित होला ?
२. जोसमनी सन्त परम्पराका मुख्य बिश्वासहरू: –
क. हिन्दु धर्मको शाखा मध्येको यो शैव पन्थ हो । मुख्य अराध्य देव शिव हुन् ,
ख. यज्ञ/ जग्गे नगरिकन पवित्रता प्राप्त हुन सक्दैना भन्ने मुख्य धारणा रहेको ,
ग. गुरूबाट मात्र ज्ञान पाउन सकिने भन्ने धारणा ,
घ. शास्त्र पढाउने सत्य तारक ,
ङ. सत्य असत्य छुट्टयाउने बुद्धि ,
च. सतमार्ग देखाउने सतसँग ,
छ. ब्रम्ह चिनाउने ज्ञान ,
ज. महाबैराग्य ( हठयोग) ।
यस मतका अन्य आचरणहरू:-

क. मूर्तिपूजा नगर्ने निर्गुणोपासक,
ख. जातपातको भेदभाव नमान्ने,
ग. कर्म काण्डको बिरोधी,
घ. मङ्स मदिरा नखाने,
ङ. गम्यागम्यको भेद नराख्ने,
च. जीवको बध बलीपूजा नगर्ने,
छ. ब्यापार नगर्ने, खेती किसानी नगर्ने,
ज. स्वर्ग, नर्क र मर्त्यमा बिश्वास नगर्ने,
झ. परमात्मा निराकार छन् भन्नेमा बिश्वास,
ञ. मुक्ति र भुक्ती प्राप्त गर्नको लागि दिक्षा लिनु पर्ने वा दिक्षित हुनु पर्ने,
ट. निधारमा खरानी ( भस्म र बिगुती र घाटीमा तुलसीको कण्ठ घाटीमा माला लगाउने) ,
ठ. नामको अन्तमा दिल वा दाश जोड्ने परम्परा रहेको तर राजा श्री ५ रणबहादुर शाह यस मतमा दिक्षित हुँदा दाश शब्द निच अर्थ बोधक भएकोले त्यसपछि नामको अन्तमा नन्द जोड्ने प्रथा चालु भएको,
ड. मृत्यू भएपछि अशौच बार्न नपर्ने र अन्तेष्टी कृया गर्न नपर्ने, एक मुठ्ठी माटो मात्र दिए पुग्ने, तीन दिन पछि केवल भण्डरा मात्र दिने ।
यिनै नियम आचरणको अधिनमा रहेर महाबैराग्य ( हठयोग) को बलले संसारिक बाधा बन्धनबाट मुक्ति प्राप्त गरी निर्वाण प्राप्त हुन् सक्छ भन्ने नै यस जोसमनी मतको आदर्श हो । यस सम्प्रदायमा सन्तहरूको श्रेणीगत हैसियत समेत हुन्छ ।
१. शब्दी:- मुख्य गुरूबाट गायत्री मन्त्र प्राप्त गरेर आस्था मात्र राख्ने शब्दी चेला हुन्छन् ।
२. गुरूमुखी:- गुरूको साथमा रहेर योगाभ्यास गर्दै ज्ञान नियम सिक्न बढी चासो भएको चेला ।
३. गुरूपन्जा:- योगाभ्यास र ज्ञान नियममा पाराङ्गत भएको भन्ने गुरूलाई बिश्वास लागेमा गुरू गुरूमुखी चेलालाई गुरूपन्जा दिइन्छ । यसमा पाच बस्तुहरू पर्दछन्: – वाँणा, झोली, तुम्बी, चिम्टा र एकतारे ।
यसरी गुरू पन्जा पाएपछि जोसमनी सन्त बनिन्छ । यसरी जोसमनी सन्त बनेपछि जटाधारी साधु बनेर भिक्षाटन गर्दै जीवन गुजारा गर्नुपर्छ । यो गुरूपन्जा फकिर हुनको लागि योग्य भएको चेलालाई दिने लाल मोहर हो । यति प्राप्त गरेपछि उ सिद्धयोगी हुन्छ । यसरी
माझ किरातमा यस जोसमनी सन्त परम्पराको प्रचार प्रसार जोडतोडका साथ भएको थियो । यहाँका प्रथम राई सन्त भोजपुर छिनमखुका अशेषदिल राई हुन् । त्यसपछिका नामी राई सन्तहरूको क्रम निम्न अनुसार रहेको छ: – अगमदिलदाश ( १८५०) , शतब्रम्ह दिल दाश, मंगलदाश, कमलदाश, अषढदिल दाश, ( १८६८), कृष्णदाश, ( १८७२) , सिताराम दाश ( १८७५) , शतब्रम्हदिल दाश ( १९३५) हुन् । यहाँ जोसमनीको राम्रो प्रभाव परेको थियो । आज पनि माझ किरातको धेरै ठाउँहरूमा एकतारे बजाउने, जोसमनी भजन गाउने, साझ बिहान धुप बत्ति गर्दा शंख फुक्ने, समय समयमा संगती गर्ने, भक्तले सेतो कमेज र धोती पहिरिने, निधारमा खरानी बिघुत लगाउने चलन छ । तुलसीको मठ र पुराण पढ्दा बाहुन /पुरेत
बस्ने ब्यास सम्म समेत बनाएर राखिएको पाइन्छ ।

३. फाल्गुनन्द र सत्तेहाङ पन्थ ( १९४२ /२००५- १२-२२) को उदय:-
लिम्बूवानमा जोसमनी परम्पराको थालनी १८३० को दशकमा भएको हो । तर यसको प्रभाव न्यून मात्र रहयो । यहाँ फाल्गुनन्दको उदयपछि मात्र यसको ब्यापक प्रचार भयो । फलामसिं लिम्बू गोरखा फौजमा हुँदा बर्मामा रहेको बेला जोसमनी साधु ज्ञानदिलदाशका पनि चेला मधुनन्दसँग सत्सँग गरी जोसमनी मतमा दिक्षित भएर गुरूपञ्जा पाई फलामसिं बाट साधु फाल्गुनन्द भएर बि.स. १९७५ मा नेपालमा फर्कि आए । उनले याक्थुङ/ लिम्बू जातिको परम्परागत युमासाम् धर्मको बिरोध गरी परम्परागत रीतिथिति र संस्कारलाई रूढीबादी र कुलतको संज्ञा दिएर यस्तो संस्कारलाई छोडेर नयाँ थिती बसाउनु पर्छ भनेर गाउँ गाउँ थुमथुम घुमेर जोसमनी परम्पराको जोडतोडका साथ प्रचार गरे ।
क. महागुरू फाल्गुनन्द जोसमनी सन्त नै थिए:-
पाँचथरको दक्षिणी क्षेत्र रविमा पहिलो पटक नारायण दाशले जोसमनी धर्म ( सम्प्रदाय) को प्रचार गरेका थिए पाँथरको इमसावाका नरविर राई नारायणदाश बनेर रविको हिकुनाम्बा स्थित चिहानघारीमा आएर बसेपछि यो जोसमनी पन्थको प्रचार गरेको हो । खास गरि राई समाजमा जोसमनी सन्त परम्परा अगाल्नेमा अगाडि देखिन्छ । जाँड रक्सि र
मासु मंसबिना कुलपितृ नचल्ने भनिएको अवस्थामा राई समाजमा धेरै ब्याक्तिहरूले जोसमनी पन्थमा लागेर सात्विक बाटो अंगालेका छन् । नारायण दाश पछि पाँचथरको रवि हुँदै इलामको पश्चिमी भेक बाँझो इभाङ साकफारा लगायतका क्षेत्रमा विस्तार भएको पाइन्छ । यसरी जोसमनी धार्मिक सम्प्रादायको ऐतिहासिकतालाई अध्ययन गर्दै जाँदा यो धार्मिक सम्प्रदाय पनि हिन्दु शासकबाट लादिएको धार्मिक समूह हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । डा. स्वामी प्रपन्नचार्यका अनुसार किरात धर्मका महागुरू भनिएका फाल्गुनन्द समेत जोसमनी भएका तर्क गरेका छन् । महागुरू बर्मामा पल्टनमा रहँदा फलामसि ध्यानी नामले चिनिएका त्यही काशी वनारसका मधिसे जोसमनी गुरू मधुनन्दबाट दिक्षित भएको उहाँले आफ्ना कृतिहरूमा उल्लेख गरेका छन् । यसरी यस जोसमनी धार्मिक सम्प्रदायलाई धार्मिक दृष्टिले हेर्दा समाज सकरात्मक बाटोमा रहेता पनि यहाँका धर्मावलम्बीहरूमा अझै छुवाछुतको अवस्था रहनु नकरात्मक पक्ष हो । दुर्भाग्यपूर्ण विषय हो । यसको आलोचना गर्दा यस सम्प्रदायसँग सम्बन्धित जानकार ब्याक्तिहरू भाते मुद्धाको प्रसंग उप्काएर टार्ने गर्छन् । भाते मुद्धाको कारणले भएको हो भनेर । सन्त ज्ञान दिलदाश पछि चलेको खाकी र त्यागी बिचको भाते मुद्धाका कारण महागुरू फाल्गुनन्द जोसमनी सम्प्रदायबाट सत्यहाङमा भएर अलग भएको स्वामी प्रपनन्नचार्यले दावी गरेका छन् । त्यहीबाट यो धार्मिक सम्प्रदायमा चुला बार्ने परम्परा बसेको यस क्षेत्रका जानकारहरू बताउने गरेको पाइन्छ। खास गरि जोसमनी धर्मवलम्बीहरूले अन्यले पकाएको नचलाउने गरेका छन् । भोज भतेर लगायतका सार्वजानिक समारोहहरूमा पनि अन्य धर्मवलम्बीहरूले पनि चुला बार्ने गरेपनि उनीहरू जोसमनी जत्ति कट्टर देखिन्दैना । साथै प्राज्ञ बैरागी काइँलाका अनुसार नै सत्यहाङमा पन्थीहरूले पनि जोसमनी साधुहरूले झै एकतारे बोक्ने, झोली तुम्बी भिर्ने, चिम्टा बोक्ने, शब्दी लिने दिने तथा माला र वस्त्र पहिरिने गर्छन् । जोसमनी पन्थी र सत्यहाङमामा अर्को समानता के हो भने सत्यहाङमा पन्थीहरू पनि निर्गुणबादीहरू हुन् । तर यो निर्गुणबाद लिम्बूजातिको धार्मिक परम्पराबाट आएको हो भनि उल्लेख गरेको पाइन्छ । त्यसो त उनकै शब्दमा फाल्गुनन्दको उदयपछि जोसमनीमा लागेका लिम्बूहरू पनि सत्यहाङमा भए । महागुरू फाल्गुनन्दसँगैका जोसमनीहरू जस्तै: गंगादिल दाश, माङदेवा माइला नरदिल दाश, पशुपति दिल दाश,बद्रीनन्द दिल दाश आदी थुप्रै लाई महागुरू फाल्गुनन्दले जोसमनी नाम दिएको पाइन्छ । यो योगनाम महागुरूले दिएको आधारमा उनको आफ्नो नाम पनि फाल्गुनन्द दिल भन्थे । परन्तु दाशान्त योगनाम प्राय: सबै बैष्णवहरूको परम्परामा छ , भने उदासिन समुदायमा पनि दाशान्त योगनाम हुन्छ तर नामको अन्तमा दिल जोड्नेपरम्परा चाही स्वामी शशीधरले नेपाल पसेर जोसमनी सम्प्रदाय स्थापना गरेपछि स्वतन्त्ररूपले चलाएको देखिन्छ अन्यत्र कतै पनि दिल शब्द नामको अन्तमा जोडिएको पाइन्दैना । यो दिल नामबाट योगपट आफ्नै शिस्य दिलमयको नामबाट अरू शिस्यको नाममा जोडेको देखिन्छ । महागुरू फाल्गुनन्द सरस्वती सत्यहाङमा जोसमनी त छदै थिए, महर्षी दयानन्दको आर्य समाजबाट पनि प्रभावित थिए । त्यसैले त महागुरू फाल्गुनन्दले पहिलो बेग प्रथम चेला शिस्यहरूलाई महागुरूले “सन्ध्यावन्दन” सिकाएका थिए ।

ख. भाते मुद्धा र सत्यहाङमा पन्थको उदय:-
महागुरू फाल्गुनन्दले पाँचथर रविको भाते मुद्धा पछि जोसमनी शब्दलाई छोडेर सत्यहाङमा शब्दलाई जोडदिएका थिए । चन्द्र कुमार सेर्माको वाङ्गमय रोमाञ्चक अन्तर्वाताका अनुसार भाते मुद्धा इलाम गौडामा चलेको थियो एक दिन बादीप्रतिबादी तारिकमा अगाडि जादाँ रहेछन् । जोसमनीहरूले अगाडि भात पकाई रहेको चुलामा सत्तेहाङहरूले स्वाट्ट आगो तानिदिएछ । किन मेरो चुल्हा छोईदिइस् भन्दा राईले राईको चुल्हा छुदाँ के हुन्छ? भन्दै मुक्कामुक्की पर्दा सत्यहाङमा पन्थकाले गोजीमा भएको पैसाको डल्ला भएको रूमालले ड्याम कि ड्याम कुटेछ । अनि फेरी पैसाले पिट्यो भनि उजुर गरेछन् । खै हजुर म सँग खर्च बर्च नै छैन के पैसाले कुट्नु भने पछि झुट्टा पोल सावित भएछ । भाते मुद्धा र बिबाद मुहिगुम अंसीमाङ्गले निकाल्नु भएको होइना । जसमनी र सत्यहाङमा यी पन्थका चेलाहरू बीच आफैमा ब्याक्तिगत मुद्धा चलेको थियो । तपस्वीले कसैलाई केही भन्न वा आदेश दिनुभएको थिएना । वहाँ निस्कलंक र निर्विवाद रहनु भयो । मुद्धा चल्नु अगाडि जोसमनी र सत्यहाङमा एउटै चुल्हामा खाना खान्थे ।यसरी नै डा. स्वामी प्रपन्नचार्यको मतलाई हेर्ने हो भने हालका किरात धर्म गुरू आत्मानन्द लिङदेन सचितानन्द लगायतका गुरूहरू जोसमनी पन्थबाट प्रभावित छन् । यसो भन्नु – सरासर उनीहरू हिन्दु धर्मका प्रचारक जस्तै हुन् किनकि जोसमनी हिन्दु सनातन धर्म अन्तर्गतको हो । महागुरू फाल्गुनन्दले सत्यहाङमा पन्थको स्थापना गरेको हो भन्ने प्रसंग त माथी नै आई सक्यो । यसरी महागुरू फाल्गुनन्दले भनेको कुराले परम्परागत चलन थितिरीति तोड्ने भएकाले समाजले यसलाई स्वीकार गरेन । यो मत याक्थुङ/ लिम्बू भाषामा प्रचार गरेकाले केही मातृ भाषीहरूमा यसको केही प्रभावहरू अवस्य पर्यो ।

ग. १९८८ सालको सत्यधर्म मुचुल्का:-
मौखिक प्रचारले मात्र समाजमा यो मतको प्रभाव समाजमा राम्ररी पर्न सकेना । त्यसकारण उनले बि. स. १९८८ सालमा पान्थरको सिलौटी डाँडाको लोब्रे कुटिमा दश लिम्बू सत्र थुमका शुभा अमाली मझियाहरूलाई बोलाएर धर्म सभाबसाए । यस धर्म सभामा प्रस्ताब गरी पारित गरिएका उनका उपदेशहरूका दशवटा बुदाहरूलाई सत्यधर्म मुचुल्का भनि चिनिन्छ । मुचुल्काका मुख्य अंशहरू निम्न अनुसार रहेका छन्: –
१. पाठशाला र माङहिम बनाएर गुरूबाट शिक्षा लिने गुरूलाई चन्दा उठाएर तलब दिने चलन गर्ने,
२. उठाएको रकमलाई चुम्लुङ बसेर सबैको सल्लाह बमोजिम मात्र राम्रो कामको लागि खर्च गर्ने,
३. पूजा आजा बिबाह र सुधाई गर्दा जीवात नमार्ने, नैबेध धुप र फुलपातीले मात्र गर्ने,
४. छोरीचेली कुटुम्बलाई दिदाँ सोतरित नखाने, बागदत्त बोलेर जुठो सारी दिने,
५. मृत्यु सुतक पर्दा दशै दिनमा सुद्धाई कार्जे गर्ने,
६. जन्म सुतक पर्दा दश दिन बार्ने, सुत्तकेरीलाई चाही बाइस दिन बार्ने,
७. जुठो बार्दा कृयापुत्रिले पितृलाई पिण्ड दिदाँ मासु नचलाउने, बर्खी गर्दा जीवात मारेर मासु नखुवाउने,
८. याक्थुङ/ लिम्बु जातिले सुँगुर र कुखुराको मासु आज उप्रान्त नखाने,
९. याक्थुङ/ लिम्बू जातिले मद नखाने मदको सट्टा गोरस खाने,
१०. बिबाह कर्म गर्दा लगन गर्दा पुरोहितद्धारा गायत्री मन्त्र पढाएर गर्ने ।
यो सत्य धर्म मुचुल्कामा भनिएका कुराहरू प्राचीनकाल देखी चलिआएको युमा साम् (धर्म) परम्परा भन्दा धेरै फरक भएकाले याक्थुङ/ लिम्बूहरूले यस परम्परालाई ग्रहण गर्न सकेन । यस सत्यधर्म मुचुल्कामा सहि गरेपनि अमालीहरूले थुम थुममा यो नयाँ थिती लागु गरेनन् गराएनन् । पुरानै थितीको चलन भई नै रहयो । आज प्रयन्त चलनमै रहेको छ । बरू पुरानो थिती मान्नेहरूले यो सत्यधर्म मुचुल्का अनुसारको नयाँ थिती मान्ने फाल्गुनन्दका अनुयायीहरूलाई यहि मुचुल्काकै नाम अनुसार सत्यहाङ भनि नयाँ सम्प्रदायको नाम लाईदिए ।
घ. सत्यहाङ सम्प्रदाय पद्धतिको मुख्य नितिगत मान्यताहरू जोसमनी सन्त परम्परा नै हुन् । अन्य चलनहरू निम्न अनुसार रहेका छन्: –
१. शिवलाई अराध्य देव मान्ने, शिव मार्गी, शिवको प्रतिक त्रिसुल चलाउने,

२. यज्ञकुण्डमा होम नगरी पवित्र होइदैन भन्नेमा बिश्वास, चरू पोल्ने, शंख फुक्ने,
३. मुर्ती पूजा नगर्ने, निर्गुणोपासक,
४. अचुक्त चुला, खानपिनमा जातपात र कुलको भेद नराख्ने,
५. कर्म संस्कार नियम नगर्ने,
६. छोरीचेली कुटुम्बलाई दिँदा रित नलिईकन बागदत्त बोलेर गोडा धोएर जुठो सारिदिने,
७. मंस मदिरा बर्जित हुनुपर्ने,
८. अनन्त शाखा: सान्सारिक कर्म गर्न छेकथुन नभएको,
९. पूजा गर्दा जीवको बध बली नगर्ने, जीवको हिंसा नगर्ने,
१०. ब्यापार नगर्ने, खेती किसान नगर्ने,
११. सैज्य मुक्ती: हठयोगको साधना नगरिकन साधारण योग कर्म गरेपनि सिद्धि प्राप्त हुन् सक्छ भन्ने धारणा,
१२. स्वार्ग नर्क र मर्त्यमा बिश्वास नगर्ने,
१३. परमात्मा निराकार छन् भन्नेमा बिश्वास,
१४. नामको अन्तमा ” नन्द” जोड्ने चलन,
१५. माङलाङ वा जग्गेमा घुम्दा घडीको सुईको देब्रेबाट दाहिने तिर घुम्ने चलन,
१६. मृत्यू संस्कारमा केस काट्न नपर्ने र एक मुठ्ठी माटो मात्र दिए पुग्ने, दशै दिनमा सुद्धाई कार्जे गर्ने, केवल भण्डारा मात्र दिए हुने,

१७. घरमा एउटा सेतो झण्डा फरहराउने प्रथा । यो सेतो झण्डा जङ्गबहादुर राणाले नेपालमा जोसमनी मतको खुल्ला रूपमा प्रचार गर्नको लागि जोसमनी साधुहरूलाई दिइएको लाईसेन्स थियो । तर हिज आज कट्टर सत्यहाङ वा फाल्गुनन्द गुटहरूले एउटा झण्डा र नयाँ सत्यहाङ वा आत्मानन्द गुटहरूले तीनवटा झण्डा फहराउने प्रथा रहेको छ,
१८. शब्दीमन्त्र बाचन लिएर यस मतको समाजमा प्रवेश गर्नुपर्ने नियम, गुरू पन्जा र गुरूमुखीको पनि नियम भएको,
१९. सेतो बस्त्र पहिरिने, घाटीमा खागको माला र निधारमा खरानी रङ्ग लगाउने

४. सत्यहाङको मुन्धुम:-
परम्परागत युमासाम् धर्मको मुन्धुममा भएको फेदाङमा, साम्बा र येबा/ येमाको मुन्धुम यस पन्थको शास्त्रमा पाइन्दैना । सुम्येम्बा येग्राङसिङ्ग मुन्धुम यसमा पाइन्दैना । मुख्य गायत्री मन्त्र हिन्दु शास्त्रबाट लिइएको जस्तै:- ॐ, ओत, फत् फत्, सो:हुम, हुँम, हुँम,ॐ स्वाहा: आदी । मुन्धुममा शक्तिको स्रोत थाकथाकुम् माबोहाङलाई नपुकारेर थाकथाकुम् लिङदेनहाङ भनि पुकार्ने गरेको पाइन्छ । सन्त परम्परा भनेकै गुरूबाट ज्ञान सिकेर मात्र
ज्ञान पाउन सकिन्छ भन्ने यसको हिन्दु झै गुरूकुल परम्परा हो ।

        यस अनुसार नेपालमा जोसमनी सन्तहरूको क्रममा प्रेमदिलउनका चेला श्यामदिल हुन्,  उनका पनि चेला ज्ञानदिल दाश हुन्, उनका चेला गोबिन्द दाश हुन्, उनका चेला दयानन्द हुन्,  उनका चेला मधुनन्द हुन्, उनका चेला फाल्गुनन्द हुन् त्यस पछिको धर्म गुरूको ठाउँमा आत्मानन्दको नाम आउछ । हाल हाम्रो देशमा भएको आधिकारिक किराँत धर्म भनेको हिन्दु जोसमनी सम्प्रदायबाट मुद्धा गरी अलग भएको सत्तेहाङ धर्मलाई नै आधिकारिक रूपमा किराँत धर्म भनिन्छ । यो धर्म महागुरू फाल्गुनन्दले सुरूआत गरेका हुन् । सत्तेहाङ धर्म दर्शन भने कै महागुरू फाल्गुनन्दको बिचार एवम् धारणा हो । जुन धर्म बि. स. १९८८ सालदेखी यो लिम्बूवानमा केही याक्थुङ लिम्बू जातिहरूले मान्दै आएको हो ।  तर महागुरू फाल्गुनन्दको मृत्यू पश्चात यो सत्तेहाङ पन्थको प्रचार प्रसारमा कमि आएको हो । गुरूका चेलाहरू पनि कतिपयले गुरूले अवलम्बन गरेका धार्मिक आचरणहरू समेत त्यागीसकेका अवस्था पनि थियो । तर बर्तमान गुरू आत्मानन्दले उक्त मतलाई बाल्यकालदेखी नै पालना गर्दै ल्याए यसै क्रममा गुरू आत्मानन्द त्यस समयका धार्मिक संस्थाका अध्यक्ष चन्द्रकुमार सेर्मा र त्यसै समयका माननीय पद्मसुन्दर लावती लगायतको पहलकदमीमा बि.स. २०३४ सालमा पाँचथरको  यासोकमा प्रथम सम्मेलन भयो र दोस्रो साल पाँचथरकै रविबजारमा दोस्रो सम्मेलन भयो तेस्रो संमेलन दमकमा  २०३६ मा भयो । यहीसालबाट यो सत्तेहाङ धार्मिक संस्थालाई किराँत धर्म तथा साहित्य उत्थान सँघ भनेर सरकारी निकायमा दर्ता गर्ने काम भयो यसै समयदेखी  यस सत्तेहाङ भनिने धार्मिक सम्प्रदाय किराँत धर्म भएको हो । 
 ५. जोसमनी/ सत्यहाङ धर्म हो कि पन्थ हो ।
 समाजशास्त्रीहरूको भनाईमा धर्म भन्नाले ब्याक्तिगत आस्थालाई मात्र मानिन्दैना । यसमा एउटै प्रकारको बिश्वास र आस्था भएको मानिसहरूको ठुलो समुह हुन् आवश्यक छ यस्तो ठुलो समुहबाट छुट्टिएर फरक नीति र नियम खडा गरी अलग भएको सानो समुहलाई सेक्ट, पन्थ वा सम्प्रदाय भनिन्छ । सिद्धान्त अनुसार र धार्मिक ब्यबहारको तरिकामा देखिएको फरकपनलाई केलाएर हेर्दा किरात धर्म भनिन्दै गरिएको जोसमनी परम्परा वा फाल्गुनन्दको धर्म वा सत्यहाङ मत संगोल हिन्दु धर्मको एउटा शाखा शिव सम्प्रदाय हो र अझै यहि शिव सम्प्राय मध्येको पनि एउटा सानो हागा जोसमनी वा सत्यहाङ पन्थ हो भन्ने बुझिन्छ । सम्भवत: जोसमनी भित्रको पनि एउटा शाखा फाल्गुनन्द वा सत्यहाङ हुन् सक्छ । सैद्धान्तिक दृष्टिमा यस मतले अझै सम्म मूल धर्मको स्थिति प्राप्त गरिसकेको अवस्था भने छैन । याक्थुङ/ लिम्बू समुदायको सानो अंशले मात्र यस मतलाई अनुसरण गरेको छ,  अधिकांश याक्थुङ/ लिम्बूहरूको धार्मिक ब्यबहारिक पद्धति परम्परागत सामनबादी ( आत्माबाद) मुन्धुमी चरित्र मै आधारित रहेको छ । यस्तो किसिमको ब्याख्या प्रस्तुत गर्दा बिभेदको कुरा उठ्यो गर्यो भन्ने बिचार ब्याक्त गर्न सान्दर्भिक हुँदैन किन भने धार्मिक बिश्वास र पद्धति नै फरक भएको हुनाले त्यही फरकपनलाई यथार्थमा यहाँ प्रस्तुत गरिएको मात्र हो । युमा साम् धर्म र सत्यहाङ परम्परा धेरै फरक रहेको कारण युमा साम् परम्पराको माहात्माहरूको क्रममा फाल्गुनन्दको क्रम जोडिनु सान्दर्भिक ठहरिन्दैन । उनको क्रम माथी उल्लेख गरिए अनुसारको जोसमनी सन्तहरूको क्रममा जोडिनु बढी उपयुक्त हुन्छ । 
 ६. किरात समुदाय र किरात धर्मको प्रसंग:-
किरात समुदाय प्राचीन कालमा तागाधारी आर्यहरूले आफुभन्दा भिन्न नस्ल भएका आफु भन्दा भिन्न संस्कार संस्कृति अंगालेका जातीय समुदायलाई किरात भनेर एक तुच्छ र घृणित शब्दले संबोध गरेका कुरा बिभिन्न हिन्दु ग्रन्थ तथा संस्कृत वाङ्गमयहरूले प्रष्ट गरेको पाइन्छ । पछिल्लो समयमा के को आधारमा राई ,लिम्बू, याक्खा र सुनुवारलाई मात्र किरात भनियो ? यो एउटा अनुसन्धानात्मक बिषय रहेको छ । चेमजोङका अनुसार मगर, गुरूङ ,तामाङ, थारू, लेप्चा , थकाली, मेच, कोच र अन्य मधेसी समुदाय समेतलाई किरात समुदाय हुन भनेर उल्लेख गरेको पाइन्छ । किरात बारेमा प्राज्ञीक परम्परा अनुसार किरातले राई जातिलाई मात्र बुझाउछ । बिभिन्न बिदेशी विद्धवानहरूका लेख रचना अनुसार किरात भनेको राई जाति मात्र हो भन्ने प्रष्ट छ । नेपालकै प्राचीन इतिहासमा पनि किरात राजबंशले किरात नै धर्म मान्थे भनेर उल्लेख गरेको छैन यदी इतिहासलाई नै आधार मान्ने हो भने  किरात राजबंशले शैव धर्म मान्थे, पाली प्राकृत  भाषा बोल्थे र ब्राम्ही लिपि चलाउथे भनेर उल्लेख गरेको छ । किरात भाषा बोल्थे, किरात लिपि चलाउथे,  किरात धर्म मान्थे भनेर प्राचीन इतिहासमा उल्लेख गरेको पाइन्दैन । साथै  सबै किराँत भनिएका जातिहरूले किरात धर्म मान्दैना । किराँत धर्म धेरै जातिले मान्ने,  ठुलो धर्म हुने उदे्श्यका साथ स्थापना भएको धर्म हो भनिन्छ । यसले धेरै जातिलाई समेट्छ अरे । यो कदापि पनि हुनै नसक्ने कुरा हो । धर्मको नामकरण चाही किरात अरे यस भित्रका कर्म सँस्कार चाही जातै पिछेका फरक फरक हुने अरे ! के इसाई धर्ममा जातै पिछेका इसाईहरूको भिन्न भिन्न किसिमको कर्म सँस्कार हुन्छ ? कथित किराँत साम्जिक मुन्धुमले अन्य किराँत जातिको कर्म सँस्कारलाई समेट्छ ? कहिल्यै समेट्न सक्दैना । त्यस मुन्धुम  भित्र ब्याख्या गरिएका मिथक तथा आख्यानहरू सिर्फ याक्थुङ लिम्बू जातिका मात्र हुन् । हामीले भनेको किराँत जातिको आ- आफ्नै प्रकारको मौलिक धर्म रहेको हुन्छ । धार्मिक बिधि बिधानहरू फरक फरक किसिमको छ । यस्ता खाले धार्मिक बिधि बिधानहरूलाई कुनै पनि हालतमा एक मुष्ट गराउन सक्ने अवस्था छैना ।  जसरी किराँत राई जातिलाई लिउँ : लेखक प्रा. डा. गोपाल सिवाकोटीका अनुसार " किराँत राई जातिहरूमा प्राचीन धर्म सम्बन्धी बिबाद रहेको छ । एक पक्षले आफुलाई हिन्दु आर्य हुँ भनि जनै लगाउने गर्दछन् , अर्को थरीले आफुलाई हिन्दु आर्य नभएर आफु मुन्दुम धर्म किराँत हुँ भन्ने मानेकाले यो बिबाद भएको हो ।" खास गरी किराँत राई जातिको प्राचीन समयदेखीको प्रमुख तीन चुल्हामा आफ्नो कुलपितृ पुज्ने प्रचलन नै मुन्दुम धर्म हो । यसै धर्मलाई हालमा किराँत राई जातिहरू किराँत धर्म भन्ने गरेको पाइन्छ । त्यसै गरी किराँत राई जाति जातिको मौलिक धर्मको बारेमा लेखक जयसिवाहाङका अनुसार किराँत राई जातिको मुन्दुम धर्मको आफ्नै नीति, नियम, आचारसंहिता र अनुशासन रहेको पाइन्छ । तिनीहरूलाई कार्यान्वयन गर्ने गराउने किराँत राईहरूको मुन्दुम धर्मका पुरहितहरू निम्न अनुसार रहेका छन् जस्तै:  माङदोवा, नाक्छौङ, सारिमाङपा, माङपा र बुङ्वा माङपा हुन् । फेरी उहाँ उल्लेख गर्नुहुन्छ कि किराँत कालिन न्याय प्रणाली अलिखित भए तापनि  यसको स्रोत मुन्दुम नै हो । मुन्दुम धर्मबाट प्राप्त सँस्कार,  परम्परा, ब्यबहार, नजिर, रीतिरिवाज र अभ्यास न‌ै कानुन मानिन्थ्यो ।  त्यसरी नै एक अर्को किराँत जाति भनिएको सुनुवार जातिको लेखक डिकमान बिरही सुनुवार जातिको धर्म सँस्कृतिको बारेमा यसरी उल्लेख गर्नुहुन्छ कि सुनुवार जाति सरहका लिम्बू, राई, तामाङ, मगर मध्येका पहाडी भेकका अन्य जनजातिहरू मध्ये लिम्बू र राई जातिले आफ्नो सँस्कारको परिधि नाघेको पाइएको छैना भने छरिएर रहेका अन्य जनजाति र खास गरी सुनुवार जातिहरू भने दोहोरो सँस्कारको खर्चालु पिडाले दिन प्रतिदिन जीवनस्तरबाट गिर्दै आएको पाइएको छ । बाहुन समाजको सँस्कार र गतिबिधिसँग सम्मानपूर्वक भिजेर पनि आफ्नो जातीय गौरव र अस्तित्व बचाउन सक्ने क्षमता राई लिम्बू जातिमा यथावत छ भने अन्य जातिहरू आफ्नो अस्तित्व  र पहिचान मेटाएर बाहुन सँस्कारमै बिलय हुनु खोज्नुले आर्थिक गिरावटबाट पिडित हुनु परेको छ । कोइच सुनुवार जातिको धार्मिक पुजारीलाई नासो अथवा पोइँब  भनिन्छ । यसरी सुनुवार जातिको पुजारी पोइँबको गुरू लामा हुन्छ । र यस जातिको मौलिक धर्म बौद्ध धर्म भएको प्रमाण फेला परेता पनि हिन्दु परम्पराका समाज भित्र उठाएर बसोबास गर्ने यो जातका सिमित ब्याक्तिहरू आफ्नो सँस्कारको बिधि अनुसार न्वारन गरेपनि ९ देखी ११ दिन भित्रमा बाहुन पुरोहित लगाई स्थानीय समाजको लोककृति अनुकुल पुन: न्वारन गर्ने गर्दछन् । यसरी एक प्रमुख किराँत कहलिएको जाति सुनुवार जातिले बौद्ध र हिन्दुमत धारण गरेको पाइन्छ । अर्को किराँत जाति भनेर चिनिने जाति जिरेलको धर्म सँस्कृतिको बारेमा बिश्लेषण गर्दा जिरेल जातिहरू बौद्ध धर्म र हिन्दु धर्म प्रति समान दृष्टिकोण राखी आफ्नो जीवन पद्धति चलाउने यो जातिको पहिलाको धर्म फोम्बोद्वारा पुज्ने तान्त्रिक प्राकृतिक धर्म जिरेल जातिको मौलिक धर्म थियो । आज भन्दा ३/४ पुस्ता अघिबाट मात्र जिरेल जातिकै १/ २ जना ब्याक्तिले लामा शिक्षा हासिल गरेपछि धार्मिक सँस्कारमा फोम्बोको अलवा लामालाई पनि स्थान दिन थालेका हुन् । यसरी जिरेल जातिहरू बौद्धमार्गी भएका हुन् । अत: किरात भनिएका  सबै समुदायले किरात धर्म मान्दैन । 
 निस्कर्ष:-
 १. सबै किरात  समुदायले किरात धर्म मान्दैन ।
 २. याक्थुङ/ लिम्बू जातिको मौलिक धर्म युमा धर्म हो ।
 ३. जोसमनी/ सत्तेहाङ हिन्दु शैव सम्प्रदायको एउटा सानो पन्थ मात्र हो ।
 ४. जोसमनी / सत्तेहाङ पन्थको अराध्यदेव शिव हो  युमा होइन ।
 ५. जोसमनी/ सत्तेहाङले स्रुति र स्मृति परम्पराको मुन्धुमलाई मान्दैन ।
 ६. युमा साम् परम्पराका माहात्माहरूको क्रममा फाल्गुनन्दलाई जोड्न हुँदैन ।
 ७. सत्तेहाङ पन्थ जोसमनी पन्थबाट मत नमिलेर नयाँ पन्थको रूपमा उदय भएको हो ।
सन्दर्भ ग्रन्थ:-
 १. सिरिजंगा बिबिध , पत्रिका, बि. स. २०५४,
 २. शिवाकोटी, प्रा. डा. गोपाल,  किराँत जाति, पैरवी प्रकाशन, काठमण्डौ, बि.स. २०७४,
 ३. अन्तुडाँडा द्धैमासिक पत्रिका,  २०६८,
 ४. जोसमनी स्मारिका, २०५९ ,
 ५. शर्मा,  जनकलाल, जोसमनी सन्त परम्परा र साहित्य, २०२०,
 ६. चेमजोङ, इमानसिं,  किरात जातिको इतिहास र संस्कृति, २०२४,
 ७. थेबे, प्रसाद, ( गुगल) , 2011,