मुन्धुम अध्ययन केन्द्र नेपालको सङक्षिप्त परिचय

551

बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधर्मी देश नेपालको प्राचीन आदिमूलवासी मध्येको एक याक्थुङ जातिको जीवन दर्शन मुन्धुमको क्षेत्रमा खोजपूर्ण अध्ययन, अनुसन्धान, सङ्कलन, सम्पादन, प्रकाशन गर्न तथा भाषिक, सांस्कृतिक तथा मौलिक याक्थुङ साँस्कृतिक पहिचानको क्षेत्रमा रचनात्मक कार्यहरू गर्नको लागि मुन्धुमविज्ञ, तुत्तुतुम्याहाङ, याक्लासुहाङमा, पेगिफाङसाम, युमासाम, नालिङगेन थाङबेन, सिसागेन मेन्छिनहरूको मार्गनिर्देशन, नेतृत्व एवं सकृय कृयाशिलतामा सञ्चालन हुने एक गैर राजनैतिक तथा गैरव्यवसायिक संस्था हो ।

संस्थाको प्रतिबद्धताः स्थाको कुनै क्रियाकलापले नेपाल, नेपाली तथा विदेशी राष्ट्र र अन्तराष्ट्रिय संघसंगठनको सम्बन्धमा कुनै प्रतिकूल असर पार्ने वा परराष्ट्र नीतिको बर्खिलाप हुन जाने वा नेपालको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता तथा शान्तिसुरक्षामा खलल पुग्ने कुनै काम नगर्ने प्रतिबद्धता प्रकट गर्दछ ।

संस्थाको उद्देश्यः

  • मुन्धुमको खोज, सङ्कलन, अध्ययन, अनुसन्धान गर्ने र याक्थुङ जातिमा मुन्धुम निर्देशित चेतना अभिवृद्धि हुने कार्यहरू गर्ने ।
  • मुन्धुममा वर्णित र याक्थुङ जातिका संस्कार–संस्कृतिहरूसँग सम्बन्धित थाकथलोहरूको संरक्षण, सम्बद्र्धन तथा पर्यटकीय प्रवद्र्धनको लागि चेतनामूलक कार्यहरू गर्ने ।
  • मुन्धुमसँग सम्बन्धित सामग्रीहरू खोज, सङ्कलन, अध्ययन, सम्पादन गरी प्रकाशन गर्ने ।
  • मुन्धुमको खोज, सङ्कलन, अध्ययन, सम्पादन, आवश्यक परिमार्जन सहित प्रकाशनको लागि कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • मुन्धुम, याक्थुङ संस्कार, संस्कृति, परम्परागत लोककला र सीपहरूको दस्तावेजिकरणका साथै शिक्षण तथा प्रशिक्षणमूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • मुन्धुम, इतिहास, संस्कार र संस्कृति विषयका पुस्तकहरू सङ्कलन गरी पुस्तकालयहरू स्थापना गर्ने ।
  • सिरिजङ्गा लिपि र याक्थुङ संस्कार, संस्कृतिको उत्थान हुने कार्यहरू गर्ने ।
  • मुन्धुमसँग सम्बन्धित विषयहरूमा अन्तरवार्ता, अन्तरक्रिया, छलफल, गोष्ठी, सभा, सम्मेलन, शिक्षण–प्रशिक्षण कार्यक्रमहरू निःशुल्क रूपमा सञ्चालन गर्ने ।
  • अपर्झट, भैपरिआउने सेवा–सहयोगको खाँचो परेका अति विपन्न एवम् असहाय अवस्थाका फेदाङमा, साम्बा, येबा–येमा (बिजुवा–बिजुवानी) हरूलाई राहत र कल्याण हुने कार्य गर्ने ।
  • मुन्धुम, संस्कार र संस्कृति सम्बन्धी परम्परागत शीप, पेशा तथा कलाको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनको लागि पुरस्कार, प्रशंसा, प्रोत्साहन तथा सहयोग पुग्ने कार्यहरू गर्ने ।

मिति २०७९ माघ २८ गते आयोजित संस्थाको केन्द्रीय कार्यालय उद्घाटनको अवसरमा वितरित ।