धर्मको विषयमा चुम्लुङले उचित निर्णय नगरे लिम्बूहरु संस्थागत रुपमै विभाजित हुनेछन्

1598

सार्वजनिक संवाददाता -September 21, 2020

लेखक तथा विश्लेषक बालकृष्ण माबुहाङ

आउँदो राष्ट्रिय जनगणना २०७८ मा लिम्बूहरुले धर्मको महलमा के लेख्ने ? भन्ने विषयमा किरात याक्थुङ चुम्लुङले महत्वपूर्ण निर्णय लिनुपर्ने बताएका छन् ।

लिम्बु समुदाय धर्मको महलमा ‘किरात’ र ‘युमा’ लेख्नुपर्ने भन्दै विभाजित भइरहेको बेला चुम्लुङले महत्वपूर्ण निर्णय लिनुपर्ने अन्यथा लिम्बूहरु संस्थागत रुपमै विभाजन हुने माबुहाङको चेतावनी छ ।

फेसबुकमा लामो स्टाटस राख्दै माबुहाङले भने, ‘लिम्बू समुदायमा धर्मको नाम किरात लेख्ने तर सत्यहाङ्मा परम्पराले न्वरान गरेको धर्म र संस्कारले बिछिप्त बनेका लिम्बू र जो परम्परादेखि नै लिम्बूको धर्म युमा हुनुपर्छ भनेर जिकिर गर्नेहरुको प्रभाव आउँदो २०७८ को जनगणनामा उल्लेखनीय रुपमा पर्ने अवस्थालाई विचार गरेर धर्मको विषयमा चुम्लुङले महत्वपूर्ण निर्णय लिन आवश्यक छ । नत्र धार्मिक रुपमा मात्र होइन संस्थागत रुपमा नै लिम्बू समुदाय विभाजित हुने अवस्था छ ।’

उनले लिम्बूहरु धार्मिक जनजाति नभएको जिकिर गर्दै आउँदो जनगणनामा धर्मको महलमा आआफ्नाे व्यक्तिगत रुचि अनुसार लेख्न दिइनुपर्ने समेत बताएका छन् ।

जनगणनामा जाति लिम्बू, मातृभाषा लिम्बू, पुख्यौली भाषा याक्थुङ र धर्म व्यक्तिगत हिसाबले आआफ्नाे लेख्दा कसो होला ? भन्दै उनले प्रस्ताव समेत राखेका छन् ।

उनले आफू धर्मनिरपेक्ष व्यक्ति भएको भन्दै आफ्नाे प्रस्ताव निजी भएको प्रष्ट पारेका छन् ।

‘वास्तवमा म धर्मनिरपेक्ष पनि हुँ । म धार्मिक व्यक्ति होइन । मेरो घर, परिवार दुवै अधार्मिक र धार्मिक स्वतन्त्रता पक्षीय संस्कृतिको छ,’ उनले लेखेका छन्, ‘मैले व्यक्त गरेका विचार सबैले त्यसरी लिन हुन अनुरोध छ । त्यसैले कसैको पक्ष र विपक्षमा लिनु वा राख्नु अनावश्यक कुरा मात्र हो ।’

लिम्बू समुदाय धार्मिक रुपमा विभाजित भए पनि धार्मिक द्वन्द्वमा भने नफस्ने माबुहाङको स्पष्टोक्ति छ ।

उनले सत्यहाङ्मा समुदायले हिन्दु संस्कार, संस्कृति बोकेर किरात धर्मको अवलम्बन गरेको भन्दै लेखेका छन्, ‘जुन लिम्बू लगायत मौलिक आदिवासीय संस्कृतिकाले तत्काल अर्को उपाय नहुँदा मात्र किरात नाम राखेको हो ।